२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पर्वतको दुर्लुङमा पहिरो : ३ जनाको मृत्यु, ६ बेपत्ता

अगन्धर तिवारी

पर्वत — शनिबार राति करिब साढे नौ बजे कुश्मा नगरपालिका–३ दुर्लुङमा मुसलधारे वर्षासँगै पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ ।  मुसलधारे वर्षापछि गएको पहिरोमा परी दुर्लुङस्थित काफलचौरका ६२ वर्षीय तुलबहादुर थापा, उनकी ५२ वर्षीया श्रीमती र १० वर्षीया नातिनीको शव बाहिर निकालिएको हो । तुलबहादुरकै परिवारका अरु तीन जना बेपत्ता छन् ।

त्यस्तै कमला विकसहित उनका १३ र ९ वर्षीय छोराछोरी बेपत्ता भएको वडाध्यक्ष तेज प्रसाद पाध्यायले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले राति करिब २ बजेसम्म कुटो, कोदालो र फरुवाले खोस्रिए पनि अरु व्यक्तिहरुको पत्तो लाग्न सकेको थिएन । रातभर वर्षा नरोकिएपछि सुरक्षाकर्मीले बिहान खोजी गर्ने भन्दै छोडेको थियो । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बिहान सुरक्षाकर्मी घटनास्थलतर्फ गएको छ ।

दुई घरका ६ जना बेपत्ता भएका छन् । घटनास्थलबाट राति १ बजे ३ जनाको शव शुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् ।

घटनास्थल पुगेका वडाध्यक्ष पाध्यायका अनुसार नजिकैका भुवन गिरीको घर पनि पहिरोले पुरेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीका साथै स्थानीयबासी समेत उद्धारमा संलग्न छन् । ‘राति १ बजेसम्म ३ जनाको लास भेटिएको थियो,’ वडाध्यक्ष पाध्यायले अहिले बिहान खोजी गर्ने भनेर घटनास्थल जाँदैछौं ।’

साँझ करिब साढे ६ देखि निरन्तर परेको मुसलधारे वर्षा राति २ बजेसम्म पनि नरोकिएपछि घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयलाई उद्यारमा समेत कठिनाइ भएको थियो । ‘एक जना स्थानीयले भनेअनुसार बस्तीको एक किलोमिटर पर मोटरबाटो रहेछ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही बाटोका कारण पहिरो गएको वा के हो बुझ्न बाँकी छ ।’ वडाध्यक्ष पाध्यायका अनुसार दुर्लुङमा अरु थुप्रै क्षती भएको छ ।

घटनाको सबै विवरण बुझ्न बाँकी भए पनि अझै केही घर पुरिएको हुनसक्ने वडाध्यक्ष पाध्यायले बताए । धेरै ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण उद्धारका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा जान पनि कठिन भएको थियो ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?