कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सशस्त्रको हतियार खोसेपछि फायरिङ, एक भारतीयको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नारायणपुर नाकामा भारतबाट जबर्जस्ती पसी हतियार थुत्न आक्रमणमा उत्रिएको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते छन् । ती सबै भारतीय नागरिक हुन् ।

सशस्त्रको हतियार खोसेपछि फायरिङ, एक भारतीयको मृत्यु

सशस्त्र प्रहरीले शुक्रबार बिहान चलाएको गोली लागेर भारत, विहारको सीतामढी जिल्ला पिपरा पञ्चायत जानकीनगरका विकेश कुमारको मृत्यु भएको हो । छातीमा गोली लागेका उनको उपचारका क्रममा ज्यान गएको भारतीय अधिकारीले जनाएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए । भारतीय नागरिक उमेश रामको हात तथा उदय ठाकुरको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरेर हतियार पनि खोसेपछि गोली चलाउनुपरेको बताए ।

श्रेष्ठका अनुसार भारतीय नागरिकसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाको सहयोगकै कारण आफूहरूको ज्यान जोगिएको घाइते प्रहरीहरूले बताएका छन् । उनीहरूका अनुसार भारतीयले आक्रमण गरेपछि स्थानीय बासिन्दा लाठी बोकेर प्रतिकारमा उत्रिएका थिए । प्रहरीले पाँच राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीको हतियार खोस्ने भारतीय नागरिक ललन भनिने नवलकिशोर राय पक्राउ परेका छन् ।

घटनालगत्तै सशस्त्र प्रहरीका उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगेका थिए । दुवैतर्फका प्रहरीसहित स्थानीय पनि सीमामा दिनभर बसेका थिए । त्यहाँको अवस्था साम्य छ । हतियार खोस्ने व्यक्तिलाई छाड्न भारतीय प्रहरीले दबाब दिइरहेका छन् । तर स्थानीय प्रशासनले मानेको छैन । सीमामा खटिएका प्रहरीको हतियार खोस्ने र आक्रमण गर्ने छुट कसैलाई पनि नरहेको जनाउँदै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले कानुनी कारबाही हुने बताए । ‘उनीहरूले हतियार खोसेर सुरक्षाकर्मीलाई कुटपिट गरेका छन्,’ उनले भने, ‘प्रहरीले ज्यानको बाजी लगाएर नसमातेको भए अवस्था जे पनि हुन सक्थ्यो ।’

यसरी भयो घटना

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरको दशगजा छेउमा सशस्त्र प्रहरी हवल्दार सञ्जय रायसहित ७ जना पहरा दिइरहेका थिए । शुक्रबार बिहान ९ बजे भारततिरबाट आएका केही व्यक्ति नेपाल पस्न खोजे । प्रहरीले लकडाउनका कारण आउजाउ गर्न नमिल्ने बताएपछि उनीहरू वादविवादमा उत्रिए । विवाद गर्दै उनीहरू नाकातिर लम्किन थाले । अस्थायी प्रहरी पोस्टअगाडि छरिएर बसेका सातै जना सुरक्षाकर्मी पनि एकै ठाउँ जम्मा भए । प्रहरी हवल्दारले लकडाउन उल्लंघन नगर्न आग्रह गर्दैगर्दा झन्डै ७० जना हाराहारी आएका भारतीयले हातपात गर्न थाले । सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिए । त्रिपाल लुटेर लगे । उनीहरूले हातपात गरे ।

सुरक्षाकर्मी हवाई फायर गर्दै पछाडि सरिरहेका बेला एक भारतीयले प्रहरी जवान भूपेन्द्र पौडेलको हतियार खोसेको थियो । १० राउन्ड हवाई फायर गरे पनि भारतीयको भीडले सुरक्षाकर्मीलाई पेल्न छाडेन । सीमापारि रहेका भारतीय सुरक्षाकर्मी भने आएनन् ।

नजिकैको खेतमा काम गरिरहेका दिलीप साहले प्रहरीलाई भारतीयले कुटेको देखेपछि गाउँलेलाई बोलाए । गाउँका करिब ६० जनाको हूल आइपुग्यो । प्रहरी जवान पौडेलले नवलकिशोर रायलाई आफ्नो हतियारसहित समाते । त्यस क्रममा प्रहरीले पाँच राउन्ड गोली चलाएको थियो । ‘सीमामा तस्करीको धन्दा चलाइरहेकाहरूले प्रहरीमाथि आक्रमण गरेका हुन्,’ दिलीप साहले भने, ‘भारतीयहरूले जहिले पनि दादागिरी गर्दै आएको छ । हामी त भारतीय बजार जानुपर्ने भएकाले सहन बाध्य थियौं । हाम्रै सुरक्षाकर्मीलाई लखेटेर कुट्न थालेपछि प्रतिकार गर्‍यौं ।’

प्रकाशित : जेष्ठ ३१, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?