२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

देशव्यापी बन्दै प्रदर्शन

‘१० अर्बको हिसाब खै ?’, ‘जनताले खाने भात छैन, नेता हुँ भन्न लाज छैन ?’, ‘नो पीसीआर, नुन, तेल, बेसार, कोरोनाको उपचार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर युवा सडकमा
स्वस्फूर्त र स्वतन्त्र रूपमा भइरहेको प्रदर्शनमा भित्रभित्रै दलका अगुवा कार्यकर्ताको सहभागिता । दलहरूमा जस लिने होड
कान्तिपुर टिम

काठमाडौँ — कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् ।

देशव्यापी बन्दै प्रदर्शन

सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् । कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।

युवाले शुक्रबार काठमाडौं उपत्यकाका साथै बुटवल, भैरहवा, कपिलवस्तु, गोरखा, तनुहँ, उदयपुर, हेटौंडा, काभ्रे, पाल्पामा प्रदर्शन गरे । राजधानीमा ‘कोभिड–१९ नेपाल इनफ इज इनफ’ समूह बनाएर सरकारविरुद्ध मौन प्रदर्शन आह्वान गरिएको छ । त्यस्तै ‘वेक एन्ड सेभ लाइभ्ज नेपाल’ नामको फेसबुक समूहबाट पनि आन्दोलन आह्वान गरिएको छ ।

फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालबाट आन्दोलनका लागि आह्वान गरिएको छ । शुक्रबार सरकारविरुद्ध काठमाडौंमा ७ र भक्तपुर र ललितपुरमा २/२ स्थानमा प्रदर्शन भए । थानकोट/गुर्जुधारा, कलंकी, माइतीघर, सल्लाघारी, सूर्यविनायक, भूगोलपार्क, वसन्तपुर, पागा दोबाटो (कीर्तिपुर), मूलपानी, झम्सीखेल, पेप्सिकोला र पुलचोकमा प्रदर्शन भएको थियो । प्रदर्शन बढ्दै जाँदा कोभिड–१९ संक्रमण फैलिने जोखिम छ । प्रदर्शन नेतृत्वविहीन र असंगठित भएकाले ‘स्थिति नियन्त्रण’ मा लिन कोसँग समन्वय गर्ने भन्नेमा पनि सुरक्षाकर्मीहरूलाई अन्योल थपिएको छ ।

प्रदर्शनमा विपक्षी दलका नेता, कार्यकर्ता पनि परिचय लुकाएर सडकमा आएका छन् । धेरैजसो प्रदर्शनमा विवेकशील नेपाली दलका नेता/कार्यकर्ताहरूको उपस्थिति देखिएको छ । भक्तपुरको प्रदर्शन कांग्रेस, विवेकशील र साझा पार्टी समर्थितको उपस्थिति रहेको प्रहरी स्रोतले बताएको छ । विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले सरकारका बेथितिविरुद्ध पार्टीगत रूपमा नभई स्वस्फूर्त रूपमा भएका आन्दोलन र प्रदर्शनमा आफूहरूको ऐक्यबद्धता रहेको बताए ।

बुधबार बालुवाटार घेराउ गर्ने क्रममा खुर्सानीटार क्षेत्रमा विवेकशीलका वरिष्ठ नेता उज्ज्वल थापा नै उपस्थित थिए । थापासहितको भीडलाई पानीको फोहोरा हानेर प्रहरीले तितरबितर पारेको थियो । शुक्रबारको सूर्यविनायक–सल्लाघारीमा भएको प्रदर्शनमा कांग्रेस जिल्ला सभापति दुर्लभ थापा नै सहभागी भएका थिए । प्रदर्शनप्रति जनता समाजवादी पार्टी र साझा पार्टीले पनि ऐक्यबद्धता जनाएका छन् । सरकारविरुद्ध चर्किएको गैरराजनीतिक र असंगठित आन्दोलन भनिए पनि यसको ‘जस’ लिन संसद्मा विपक्षी र बाहिर रहेका दलहरूबीच नै प्रतिस्पर्धा देखिएको छ ।

शान्तिपूर्ण आन्दोलन र विरोध प्रदर्शन गर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने भए पनि त्यस्तो देखिएको छैन । गृह मन्त्रालयले लकडाउन उल्लंघन र संक्रमणको जोखिमलाई बेवास्ता गर्दै भएका आन्दोलन तथा प्रदर्शन नियन्त्रणमा लिन बिहीबार निर्देशन दिएको थियो । तर युवाले मुखुन्डो लगाएर र हातहातमा प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गर्न भ्याए । बुधबार र बिहीबार बालुवाटार क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरे पनि शुक्रबार प्रदर्शन शान्त रहेको प्रहरीका एक अधिकारीले बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले ‘हेल्थ प्रोटोकल’ पालना गरेर ५ जनासम्मलाई भेला हुन दिने व्यवस्था भएको उल्लेख गर्दै त्यसभन्दा बाहेकका प्रदर्शन, भीडभाड र विरोधका कार्यक्रम गैरकानुनी हुने बताए । गृह मन्त्रालयबाट पनि गैरकानुनी र कोरोना संक्रमण फैलाउने गरी कुनै पनि प्रदर्शन हुन नदिन स्पष्ट निर्देशन आएको बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि गैरकानुनी रूपमा हुने जुनसुकै हूलहुज्जत तथा भीड नियन्त्रणमा लिइने र सोहीअनुसार एक्सनमा जान सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताए । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले विरोध प्रदर्शन गर्नुपूर्व स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेमा लकडाउन नै उल्लंघन गरेर असंगठित जमात आन्दोलनमा उत्रिएकामा आफूहरूले गम्भीर रूपमा लिएको बताए । ‘न लकडाउन पालना भयो, न संक्रमण फैलिन सक्ने जोखिमप्रति नै प्रदर्शनकारीहरू संवेदनशील देखिए । यसबाट आम मानिसको स्वास्थ्यमा खेलबाड हुनुका साथै विधि र कानुनको पनि उल्लंघन भएको छ,’ उनले भने ।

‘सहनुको सीमा नाघ्यो’

बुटवलको पुष्पलाल पार्कमा शुक्रबार बिहान युवा प्लेकार्ड र राष्ट्रिय झन्डा बोकेर भेला भएका थिए । उनीहरू ‘रातो र चन्द्र सूर्य’ गीत बजाएर नाचेका थिए । क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित बनाउन, शंकास्पद बिरामीको पीसीआर परीक्षण गर्न र कोभिड–१९ नियन्त्रणको खर्च विवरण सार्वजनिक गर्न उनीहरूले माग गरे ।

उनीहरूले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा र स्वाभिमान सुनिश्चित गर्नुपर्ने आवाज पनि उठाए । उनीहरू जनताले राष्ट्रपति फेर्न चाहेको, प्रधानमन्त्रीले कुरा धेरै काम शून्य गरेको जस्ता नारा लगाउँदै मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढेका थिए । तर सुरक्षाकर्मीले जेसिस चोकबाट उनीहरूलाई फर्काएको थियो । ‘यहाँ जनता मरिरहेका छन् । खर्चचाहिँ १० अर्ब भयो भनिएको छ । सहनुको सीमा नाघिसकेकाले विरोधमा उत्रनुको विकल्प भएन,’ प्रदर्शनमा सहभागी शिशिर आचार्यले भने ।

भैरहवामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका नाममा भएको खर्चमाथि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन भएको छ । व्यक्तिगत सम्पर्क र सामाजिक सञ्जालको माध्यमबाट युवा भैरहवाको बुद्धचोकमा भेला भएका थिए । लकडाउनका बेला भारतबाट आएका र क्वारेन्टाइनमा रहेका नागरिकको समेत पीसीआर परीक्षण गर्न नसक्नु सरकारको ठूलो लाचारीपन भएकाले विरोधमा उत्रिएको सहभागीको भनाइ थियो । उनीहरूले क्वारेन्टाइनलाई मापदण्डअनुरूप व्यवस्थित गर्न माग गरे ।

उनीहरूले कोभिड–१९ कोरोना नियन्त्रण तथा रोकथामका कामकारबाही झारा टार्ने खालको रहेको भन्दै आक्रोश पोखे । बुद्धचोकबाट निस्केको र्‍याली नारायणस्थान, प्रहरी टोल, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेको थियो । त्यहाँ सरकारको क्रियाकलापप्रति व्यंग्य गर्दै सहभागीले केहीबेर ताली बजाएका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाए ।

कपिलवस्तुका युवाले सदरमुकाम तौलिहवामा ‘नो पीसीआर, नुन, तेल, बेसार, कोरोनाको उपचार’ मुख्य नारा लेखेर प्रदर्शन गरे । उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरेका थिए । संक्रमण रोकथाम र परीक्षणमा ढिलासुस्ती भएपछि र भाइरस संक्रमण भएका व्यक्तिको परीक्षणै नगरी घर पठाउन थालिएपछि प्रदर्शनमा उत्रिनुपरेको उनीहरूको भनाइ थियो । प्लेकार्ड र ब्यानर बोकेका उनीहरूलाई स्थानीय बासिन्दाले पनि साथ दिएका थिए । ‘परीक्षणै नगरी संक्रमितलाई घर पठाउँदा त्रास बढेको छ,’ प्रदर्शनमा सहभागी युवा प्रकाश घिमिरेले भने ।

नेपालगन्जका युवाले सरकारविरुद्ध नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए । प्रदर्शनमा बाँके र बर्दियाका युवा जम्मा भएका थिए । उनीहरूले स्वास्थ्य सामग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर परीक्षण गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गर्नुपर्नेलगायत माग गरेका थिए । आफूहरू स्वस्फूर्त रूपमा प्रदर्शनमा सहभागी भएको युवा अभियन्ता प्रकाश कुँवरले बताए ।

दाङको घोराहीमा पनि शुक्रबार प्रदर्शन भएको छ । उनीहरूले लकडाउनका बेला कर उठाउन खोजेर व्यवसायीलाई दु:ख दिन खोजेको भन्दै विरोध गरेका थिए । उनीहरूले लकडाउन अवधिको घरभाडा छुट गराउनुपर्ने र अस्पतालबाट बिरामी डिस्चार्ज गरिनुअघि पीसीआर परीक्षण अनिवार्य गरिनुपर्ने माग गरेका छन् ।

पाल्पाको तानसेनमा युवाले सामाजिक दूरी कायम गर्दै प्रदर्शन गरे । सुशासन, पारदर्शिता, जवाफदेहितासम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूले कोभिड–१९ नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको गुनासो गरे । उनीहरूले उपचार गर्ने क्षमता विस्तार गर्नुपर्ने उनीहरूको माग थियो । जिल्ला प्रशासन कार्यालयअगाडि उनीहरूले बिहान १० बजेदेखि दुई घण्टासम्म धर्ना दिए ।

काभ्रेको धुलिखेलमा पनि युवाले शुक्रबार प्रदर्शन गरे । सामाजिक सञ्जालमार्फत जानकारी पाएर सरकारलाई सचेत गराउन स्वस्फूर्त रूपमा जम्मा भएको उनीहरूको भनाइ थियो । ‘सामाजिक सञ्जालमा थाहा पाएर आफै आएकी हुँ,’ धुलिखेलको प्रदर्शनमा सहभागी सम्पदा देवजुले भनिन् । धुलिखेलमा करिब २ सय युवा सहभागी थिए । पनौतीमा पनि युवाले प्रदर्शन गरेका थिए । बनेपामा अश्लील नारा लेखिएका केही प्लेकार्ड प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हेटौंडामा शुक्रबार बिहान र दिउँसो गरी दुई पटक युवाले सरकारविरुद्ध प्रदर्शन गरे । उनीहरूले बुद्धचोकमा प्लेकार्ड, ब्यानरसहित भेला भएका रचनात्मक शैलीमा प्रदर्शन गरेका थिए । सरकार जातीय विभेद अन्त्य गर्न, क्वारेन्टाइन सुधार गर्न र स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री उपलब्ध गराउन चुकेको उनीहरूको आरोप छ । उनीहरूले लकडाउनमा व्यवसायीलाई असर परेकाले अनुदान वा राहत उपलब्ध गराउन पनि माग गरे ।

उदयपुर सदरमुकाम गाईघाटमा युवाले राष्ट्रिय गान गाएर प्रदर्शन सुरु गरेका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाले पीपलचोकमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेका हुन् । गोरखा सदरमुकाममा पनि युवाले स्वस्फूर्त भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सदरमुकामको हरमटारीमा भेला भएका उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

तनहुँमा युवाले सदरमुकाम दमौलीस्थित सफासडक र आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी चोकमा विभिन्न नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् । उनीहरूले ‘हन्ड्रेड पर्सेन्ट पीसीआर’, ‘करेक्ट द क्वारेन्टाइन पोलिसी’, ‘सरकार खै ?’, ‘१० अर्बको हिसाब खै ?’, ‘कर केका लागि ?’, ‘जनताले खाने भात छैन, नेता हुँ भन्न लाज छैन ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

-मातृका दाहाल (काठमाडौं), सन्जु पौडेल (तिलोत्तमा), माधव ढुंगाना (भैरहवा), मनोज पौडेल (तौलिहवा), माधव अर्याल (पाल्पा), दुर्गालाल केसी (दाङ), रूपा गहतराज (नेपालगन्ज), नगेन्द्र अधिकारी (काभ्रे), सुवास बिडारी (मकवानपुर), डिल्लीराम खतिवडा (उदयपुर), हरिराम उप्रेती (गोरखा), सम्झना रसाइली (तनहुँ)

प्रकाशित : जेष्ठ ३१, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?