दुईपांग्रे सवारीमा एक जनामात्रै 'अव्यावहारिक'

महामारीका बेला कसैले पनि नचिनेको र असुरक्षित व्यक्तिलाई नचढाउने भएकाले यो निर्णय सच्याउनुपर्ने माग उठेको छ ।
सीमा तामाङ

काठमाडौँ — सिनामंगलको गैह्रीगाउँमा रहेको लेकाली किचन एन्ड कटिया हाउसले 'होम डेलिभरी' सेवा सुरु गरेको एक साता भयो । यसका सञ्चालक मधुसुदन ढकाल र श्रीमती लक्ष्मी नै डेलिभरी सेवामा खटिएका छन् । लकडाउनले स्कुल बन्द रहेकाले शिक्षिकासमेत रहेकी लक्ष्मी श्रीमान्‌लाई सघाउन रेस्टुरेन्ट आइरहेकी छन् ।

दुईपांग्रे सवारीमा एक जनामात्रै 'अव्यावहारिक'

उनीहरु एउटै मोटरसाइकलमा रेस्टुरेन्ट आउँथे । घरघरमा खानेकुरा पुर्‍याउँथे । सरकारले शुक्रबारदेखि मोटरसाइकल (दुईपांग्रे सवारी) मा एक जनामात्रै चढ्न दिने निर्णय गरेपछि ढकाल चिन्तित छन् । 'हामीले सतर्कता अपनाएकै हुन्छौं । सरकारले मानवीयता पनि हेर्नुपर्छ,’ उनले भने, 'यस्तै हो भने रेस्टुरेन्ट बन्द हुने अवस्था आउन सक्छ ।'

जोरबिजोर प्रणालीबाट भए पनि सवारीसाधन खुलेपछि नियमित काममा फर्कने सुरसार गरेकाहरू दुईपांग्रे सवारीमा एक जनामात्र चढ्न पाइने नियमले समस्यामा परेका छन् । साना व्यवासाय गर्ने, एउटै कार्यालयमा कार्यरत कर्मचारी, अस्पताल जाने सर्वसाधारणले यो निर्णय अव्यावहारिक भएको बताएका छन् । महामारीमा कसैले पनि नचिनेको र असुरक्षित व्यक्तिलाई नचढाउने भएकाले यो निर्णय सच्याउनुपर्ने उनीहरूको भनाइ छ ।

पुल्चोकस्थित लबिम मलका अनुराधा श्रेष्ठले देउरानीसँगै स्कुटरमा गएर पसल खोल्नुपर्छ । तर सरकारको निर्णयले अब पसल खोल्ने कि नखोल्ने अन्योलमा परेकी छन् । लकडाउन खुकुलो पारिएसँगै विभिन्न उद्योग र कार्यालय खुलेका छन् । सार्वजनिक यातायात नखुलेकाले कार्यालयका कर्मचारीले एउटै बाटोमा पर्दा मोटरसाइकलमा २ जना चढेर आउजाउ गर्ने गरेका थिए । ‘साथीको मोटरसाइकलमा जान्थेँ,’ मालपोत कार्यालय डिल्लीबजारका एक कर्मचारीले भने, ‘अब त हिँडेर कसरी कार्यालय पुग्नु ?’

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार सार्वजनिक यातायातमाथि प्रतिबन्ध कायमै छ भने चारपांग्रे सवारीमा चालकसहित ३ जना र दुईपांग्रे सवारी (मोटरसाइकल, स्कुटर, मोपेड) मा चालकमात्र हुनुपर्छ । निजी सवारीमा जोरबिजोर नम्बर प्रणाली लागू गरिएको छ । राजधानीमा उपत्यकाभित्र र बाहिर जिल्लाभित्र मात्र निजी सवारीसाधन सञ्चालन गर्न मिल्छ ।

निर्णय लागू भएको पहिलो दिन शुक्रबार दिन नियम उल्लंघन गरेका सवारी चालकलाई आग्रह गर्दै फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । महाशाखाका अनुसार शुक्रबार दिउँसोसम्म जोरबिजोर उल्लंघन गर्ने २ सय १ वटा चारपांग्रे चालकसहित २ जना भएका ५ सय ६७ वटा दुईपांग्रे सवारी नियन्त्रणमा लिइएको छ । दुईपांग्रे सवारीमा बिरामी बोकेका, औषधि लिन गएका र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई सहजीकरण गरिरहेको महाशाखाका प्रवक्ता जीवन श्रेष्ठले बताए । ‘अति आवश्यकलाई सहजीकरण गरेका छौं तर यो पनि सरकारको नियमविपरीत नै हो,’ उनले भने, ‘सरकारको आदेशअनुसार हामीले काम गरिरहेका छौं ।’ एउटै बाइकमा श्रीमान्/श्रीमती, एउटै कार्यलयमा काम गर्ने कर्मचारीको हकमा भने कुनै जवाफ नरहेको उनले बताए । ‘सरकारले त्यस्तो आदेश दिएको छैन,’ उनले भने ।

जोरबिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्नुपर्नेछ । अत्यावश्यक सवारीबाहेक निजी सवारी बेलुका ९ देखि बिहान ५ बजेसम्म चलाउन पाइँदैन । सार्वजनिक सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउँदैनन् । यसअघि पास लिएर सञ्चालन भएका निजी सवारी पनि जोरबिजोर प्रणालीअनुसार चल्नुपर्ने महाशाखाले जनाएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनले भने पास लिएको हुनुपर्नेछ ।


प्रकाशित : जेष्ठ ३०, २०७७ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?