३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अनुगमन टोलीले भन्यो- 'रुकुम घटना जातीय विभेदबाट सिर्जित'

स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था युवामाथि एकोहोरो कुटपिट भएको थियो । कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउँदा पनि गाउँलेहरुले लखेट्न छाडेनन् ।
सन्जु पौडेल

तिलोत्तमा — रुकुम (पश्चिम) चौरजहारीस्थित सोतीमा भएको घटना जातीय विभेदबाट सिर्जित भएको प्रतिवेदन बुटवलमा सार्वजनिक भएको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा नागरिक तहको मानव अधिकारकर्मी र पत्रकारको अध्ययन/अनुगमन टोलीले शुक्रबार बुटवलमा प्रतिवेदन सार्वजनिक गरेको हो ।

अनुगमन टोलीले भन्यो- 'रुकुम घटना जातीय विभेदबाट सिर्जित'

अन्तरजातीय प्रेमलाई परिवारले अस्वीकार गरेकै कारण केटीका परिवार, जनप्रतिनिधि र सिंगो गाउँ नै आक्रमणमा उत्रेको प्रतिवेदनमा ठहर गरिएको छ ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका नवराज विकलाई रुकुम पश्चिम चौरजहारीकी नवराजकी प्रेमिकामार्फत गाउँमा निम्तो दिई निश्चित व्यक्तिको योजनामा क्रुर र बर्बरतापूर्ण तवरले सामूहिक हत्या भएको र अन्यलाई कुटपिट गरिएको प्रतिवेदनमा उल्लेख छ । आक्रमणबाट नवराजसहित टीकाराम नेपाली, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा भेटिएको थियो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले घटना जातीय भेदभाव र छुवाछुतजस्तो अमानवीय कुप्रथाबाटै घटेको देखिएको बताए । 'प्रतिवेदनका लागि स्थलगत अध्ययन अवलोकन र अनुगमनबाट प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मीबीच घटनाबारे छलफल अन्तरक्रिया गरेका थियौं,' उनले भने ।

प्रतिवेदनअनुसार सोती गाउँमा नवराजको प्रेमिकाको घर नजिक पुगेका युवालाई देख्नेबित्तिकै उनकी आमा प्रकाशी मल्लले जातीय रुपमा अपमान गरी गालीगलौज गरेकी थिइन् । त्यसपछि युवाहरु विनोद मल्लबारे जानकारी लिएर गीत गाउँदै जाजरकोटतर्फ फर्किरहेका बेला घरेलु हतियारसहित ढुंगामुढा हान्दै चौतर्फी आक्रमण भएको देखिएको खनालले बताए । 'प्रत्यक्षदर्शी तथा घाइते सुदीप खड्काका अनुसार ज्यान बचाउने कुनै उपाय नभएपछि भेरीमा १० जना हाम फालेका थिए,' उनले भने, 'नवराज र अन्य ५ जनालाई भेरी किनार नपुग्दै कुटपिट गरेको देखिन्छ ।' प्रहरी नपुगेको भए आफूहरुलाई पनि भिडले मार्ने घाइतेको भनाइ रहेको खनालले बताए ।

लकडाउन उल्लंघन गरेर युवाहरु गाउँ पसेको भन्दै चौरजहारी-८ का वडाध्यक्षले प्रहरीलाई खबर गरेको र घटनास्थलमा आउँदासमेत कुटपिट भइरहेको अध्ययन अनुगमन टोलीको भनाइ छ । ‘स्थानीय प्रत्यक्षदर्शीका अनुसार निहत्था युवामाथि एकोहोरो कुटपिट भएको थियो । त्यतिबेला कुटपिट नगर्न अनुरोध गर्दै चिच्चाउँदा पनि गाउँलेहरुले लखेट्न छाडेनन् । युवाहरुले कुनै प्रतिवाद गरेको देखिँदैन । गाउँलेहरु कोही पनि घाइते भएका छैनन्,’ प्रतिवेदनमा उल्लेख छ । कुनै प्रतिवाद नगरी घर फर्कन बाटो लागिसकेका युवाहरुलाई गाउँमा शान्तिपूर्ण रुपमा छलफल गर्न सक्ने आधार हुँदाहुँदै वडाध्यक्षजस्तो जिम्मेवार जनप्रतिनिधिको नेतृत्वमा एकतर्फी सांघातिक आक्रमण र हत्या गरी भेरीमा फालेको देखिएको टोलीले जनाएको छ । ‘घटनामा नवराजसँगै गैरदलित समुदायका युवाहरु गोविन्द शाही र गणेश बुढामगरको समेत क्रुरतापूर्वक हत्या गर्नुमा दलित नवराजलाई साथ दिएको कारण निजहरुलाई पनि कुटपिट गरी हत्या गरिएको देखिन्छ,’ मानव अधिकारकर्मी खनालले भने ।

आक्रमणकारीले एकोहोरो रुपमा ती युवामाथि धारिला हतियार र तिखा ढुंगाले प्रहार गर्दै माथिबाट तल भेरी नदीतर्फ लखेट्दै निर्ममतापूर्वक टाउको, मुखमा हानेको/थिचेको तथ्यले प्रमाणित गरेको प्रतिवेदनमा भनिएको छ ।

६ जना युवाको हत्या हुँदा पनि जनप्रतिनिधि, राजनीतिक दल र सचेत तप्कासमेत मौन रहनु निकै रहस्यमय देखिएको तत्कालीन संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले बताए । घटना निकै भयावह र कहालीलाग्दो भएकाले दोषीहरुलाई मानवताविरुद्धको अपराधका रुपमा कारबाही गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकार, सांसद र जनप्रतिनिधिसमेत घटनाप्रति संवेदनशीलता देखाउन चुकेको उनले बताए ।

अधिवक्ता तथा पत्रकार बालकृष्ण चापागाईले सोती घटना अन्तरजातीय प्रेमलाई गैरदलित अभिभावकले अस्वीकार गरेकै कारण उत्पन्न भएकोमा कुनै शंका नरहेको बताए ।

कानुनी सर्वोच्चता, विधिको शासन, न्याय र समानता कायम गरी संविधानमा उल्लिखित मौलिक हक कार्यान्वयन गर्न तथा पीडित परिवारलाई न्याय, राहत, क्षतिपूर्ति र घाइतेहरुको उपचारको सम्पूर्ण प्रबन्ध गर्न टोलीले सरकारको ध्यानार्कषण गराएको छ । उक्त अध्ययन अनुगमन टोलीमा एड्भोकेसी फोरमका अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल, पत्रकार विनोद परियारको सहभागिता थियो । जेठ २३ गतेदेखि २७ गतेसम्म रुकुम (पश्चिम) र जाजरकोट पुगेर टोलीले पीडित परिवार तथा सरोकारवालासँग भेटघाट गर्नुका साथै तथ्य सूचना संकलन गरेको थियो ।


प्रकाशित : जेष्ठ ३०, २०७७ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?