१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा फेरि लकडाउन गर्न सकिने 

जनस्वास्थ्यको नयाँ मापदण्ड
कृष्ण ज्ञवाली

काठमाडौँ — सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।

२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्लामा फेरि लकडाउन गर्न सकिने 

दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने भन्दै मन्त्रालयले ५१ जनादेखि दुई सय संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न पाइनेछ ।

५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने अरु मापदण्ड तोकेको हो । जिल्लाको वर्गिकरणका क्रममा स्वास्थ्य मन्त्रालयको ‘कमाण्ड केन्द्र’को सिफारिस अनिवार्य गरिएको छ ।

के गर्न सकिने ?

लकडाउनलाई केही खुकुलो बनाएको सरकारले जारी गरेको नयाँ मापदण्डमा जुनसुकै ठाँउमा पनि तीनवटा सर्त अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मन्त्रालयले ‘अत्यावश्यकीय’ भनी वर्गीकरण गरिएका सर्तमा सबै किसिमको जमघट र भेटघाटमा २ मिटर(६ फिट)को दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

घर बाहिर निस्कदा मास्क प्रयोग अनिवार्य गरिएको छ । उक्त मास्क सर्जिकल वा ३ तहको कपडाको हुनुपर्नेछ । अनि सबै सार्वजनिक स्थान अनि कार्यालयमा आफ्नो परिसरमा हात धुने साबुनपानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्नेछ । र त्यहाँ प्रवेश गर्नेहरुले हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्नुपर्नेछ ।

सरकारले अनिवार्य पालना गर्नुपर्ने भनी सर्तहरु पनि तोकेको छ । जस अनुसार अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) नछुने भनिएको छ भने खोक्दा वा हाछ्यु गर्दा सुरक्षित हुनुपर्नेछ ।

सार्वजनिक थलोमा नथुक्ने भनी सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्ने नीति छ । ज्वरो, खोकी अनि स्वासप्रश्वासको समस्या आउनेहरु सकेसम्म जनसम्पर्कमा नआउने भनिएको छ ।

मापदण्डमा केही संस्थागत सर्तहरु पनि छन् । अफिस आउनेहरुलाई शुरुमा थर्मामिटरबाट परीक्षण गर्ने अनि १०० दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा काममा नलगाउने भनिएको छ ।

फेस रिडिङ गर्ने मेसिनबाट हाजिर गर्न लगाउने, त्यो सम्भव नभए सुपरभाइजरले कर्मचारीको अभिलेख राख्ननुपर्नेछ । मेसिनमा औठाछाप छुवाएर (थम्ब गरी)हाजिर गर्ने प्रणालीलाई निरुत्साहित गर्न खोजेको देखिन्छ ।

खोकी वा स्वास्थ्यप्रश्वासका समस्या भएकाललाई उपचार वा आराम गर्न लगाउने भन्दै मापदण्डमा कार्यालयमा हुने खानपानमा पनि सतर्कता अपनाउन भनिएको छ । त्यसक्रममा प्रयोग भएका भाडाहरु राम्ररी सफा गर्ने र सुकेपछि मात्रै प्रयोग गर्ने सुझाव छ । कार्यालयका शौचालयलाई कम्तिमा दुई पटक नियमित सफा गर्नुपर्नेछ । हात धुने बेसिनहरु संक्रमित हुनसक्ने भन्दै ब्रस लगायतका सामान बेसिनमा नराख्न सुझव दिएको छ । मापदण्डमा धेरै प्रयोग हुने ढोका, हेण्डल, टेबुल लगायतमा डिसइन्फेक्टेन्ट नियमित प्रयोग गर्न भनिएको छ ।

होटल र रेष्टुरेन्ट र क्यान्टिनका लागि छुट्टै मापदण्ड छ । उच्च जोखिममा पर्ने ती निकायले सकेसम्मे प्याकिङ परिपाटीलाई प्रोत्साहित गर्नुपर्नेछ । रेष्टुरेन्टमा बसेर खानुपर्ने भए सीटको दुरी २ मिटर कायम गर्नुपर्नेछ । भाडा राम्ररी साबुनपानीले धुनुपर्नेछ । लजिङको सुविधा हुने होटल तथा लजमा श्रीमान/श्रीमती र परिवारका एकदमै नजिकका व्यक्ति बाहेक अरुलाई कोठा शेयर गर्न नदिने नीति बनाइएको छ ।

सरकारले मापदण्ड मार्फत अत्यावश्यक सेवामा सकेसम्म भर्चुअल प्लेटर्फम प्रयोग गर्न आग्रह गरेको छ । दन्त उपचार सेवा, व्यूटीपार्लर र कपाल काटने सेवामा अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ ।

मुख र घाँटी परीक्षणमा चिकित्सकले अनिवार्य एन ९५ मास्क प्रयोग गर्नुपर्नेछ । अनि कार्यालयमा आउने सेवाग्राहीको फोन नम्बर सहितको व्यक्तिगत विवरणको अभिलेख राख्नुपर्नेछ ।

सार्वजनिक यातायातमा एककापट्टिको लहरको सिटमा एकजना क्रस गरेर बस्नुपर्ने भनिएको छ । अनि विषयगत मन्त्रालयहरुले आफ्नो सेवा कायम गर्दा स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर सञ्चालन गर्नुपर्नेछ ।

यस्तो छ मापदण्ड :

प्रकाशित : जेष्ठ ३०, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?