‘पीसीआर रिपोर्ट नेगेटिभ आए मात्रै घर फिर्ता’

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुका धेरैजसो पालिकाले १४ दिन आइसोलेसनमा बसेकालाई बिनापरीक्षण घर पठाउन थाले पनि बुद्धभूमि र शिवराज नगरपालिकाले भने सबैको पीसीआर परीक्षण गरेरमात्र घर पठाउने जनाएका छन् । बिरामी र आफूहरू रिपोर्ट नेगेटिभ आएर आश्वस्त भएपछि मात्र घर पठाउने बुद्धभूमि नगर प्रमुख केशव श्रेष्ठले बताए ।

‘पीसीआर रिपोर्ट नेगेटिभ आए मात्रै घर फिर्ता’

‘परीक्षण नगरी पठाउँदा अन्य पालिकामा निकै भयको वातावरण बनेको छ,’ उनले भने, ‘हामी यसरी नगरवासीलाई उच्च जोखिममा राख्दैनौं ।’ अन्य पालिकामा परीक्षणै नगरी पठाइएका संक्रमितहरू गाउँघरमा त्रास बढेको उनले बताए । ‘गाउँलेहरू घरमै लुकेर बस्न बाध्य छन् । यस्तो हेलचक्य्राइँ गर्नु राम्रो हैन,’ उनले भने, ‘त्यही भएर हामी धेरै समय लागे पनि राम्रो परीक्षण विधि पीसीआर गराउन लागेका हौं ।’

पछिल्लोपटक सरकारले १४ दिन आइसोलेसनमा बसेका संक्रमित र क्वारेन्टाइनमा बसेकालाई थप लक्षण नदेखिए र बिरामी नभए परीक्षण नगरी छाड्ने नयाँ नीति ल्याएको छ । त्यसैअनुसार काम गर्दा कोरोनाका रेड जोनमा रहेका स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसन सेन्टर धमाधम खाली भइरहेका छन् । यहाँका स्थानीय तहका आधाभन्दा बढी क्वारेन्टाइन रित्तिइसकेका छन् । आइसोलेसन सेन्टर पनि खाली भएका छन् । ‘हामी आरडीटीमा पनि भर पर्दैनौं,’ उनले भने, ‘एक हजार भीटीएम खरिद गरेका छौं ।’

अहिले बुद्धभूमिका १० वटा क्वारेन्टाइनमा २ सय १६ जना छन् । उनीहरूमध्ये १५ जनाको पीसीआर रिपोर्ट बिहीबार नेगेटिभ आएको छ । उनीहरूलाई घर पठाइयो । ‘क्वारेन्टाइनमा रहेका ३० जनाको स्वाब बिहीबार लिएका छौं,’ स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्बासेले भने, ‘उनीहरूको रिपोर्ट नेगेटिभ आउनासाथ घर पठाउँछौं ।’ यहाँ २९ जना संक्रमित छन् जसमध्ये चार जना निको भएका छन् । बाँकीलाई गोरुसिंगेस्थित एक होटल भाडामा लिएर बनाइएको ५० बेडको आइसोलेसन सेन्टरमा राखिएको छ । नगरपालिकामा अहिलेसम्म ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ । जसमा पाँच सय जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६७ जनाको रिपोर्ट आइसकेको छैन ।

शिवराज नगरपालिकाका क्वारेन्टाइनमा बिहीबारसम्म १ सय ६२ जना छन् । ४९ संक्रमित आइसोलेसनमा छन् । सरकारले लक्षण नदेखिए घर पठाउने नीति लिए पनि आफूहरूले नछाड्ने नगर प्रमुख नेत्रराज अधिकारीले बताए । ‘सरकारले यो राम्रो गरेन,’ उनले भने, ‘यसले महामारीको त्रास बढाउँछ ।’ त्यही भएर नगरपालिकाले एक हजार भीटीएम खरिद गरेर स्वाब परीक्षण गरिरहेको छ । आइसोलेसनमा रहेका ३७ जना र क्वारेन्टाइनमा रहेका ३८ जनाको स्वाब संकलन गरी बिहीबार काठमाडौं पठाइएको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए । कोरोनाको हटस्पट मानिएको जिल्लामा बिहीबार साँझसम्म ६ सय १५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?