बेचैन छिन् अंगिराकी आमा

शान्ति आफूलाई सम्हाल्दै घटनाबारे बेलीबिस्तार त लगाउन सक्छिन् । तर रोहिणी खोलातिर फर्केर हेर्न सक्दिनन् । मधुरो स्वरमा उनले भनिन्, ‘हमनके न्याय चाही ।’

बुटवल — शान्ति पासीको १७ दिनयता मन जति अशान्त छ, त्यति कहिल्यै भएको थिएन । दस वर्षअघि दिल्लीमा मजदुरी गर्दागर्दै श्रीमान् बितेका दिन पनि उनको मन यति हडबडाएको थिएन । शान्ति जेठ ९ को राति पुरानो घरको पिँढीमै चारपाई (डोरीको खाट) मा सुतेकी थिइन् । सँगैको चारपाईमा १३ वर्षीया कान्छी छोरी अंगिरा सुतेकी थिइन् ।

बेचैन छिन् अंगिराकी आमा

रातको त्यस्तै ११ बजेतिर ब्युँझिँदा उनले अंगिरालाई ओछ्यानमा देखिनन् । उनी आत्तिँदै उठिन् र छरछिमेकीलाई छोरी हराएको सुनाइन् अनि घरअघिको बाटोमा थचक्क बसेर धरधरी रोइन् । त्यति बेला शान्तिलाई के थाहा, रुन अझै बाँकी नै छ ।

अंगिरा हराएको खबर टोलभरि फैलियो । एकैछिनमा एक हूल केटाहरूले अंगिरालाई घर नजिकैको सिमलको बोटमुनिबाट लतार्दै घर ल्याए । स्थानीय २० वर्षीय सन्दीप पासी अंगिरालाई सिमलको रूखमुनि देख्नेमध्येका एक थिए । उनले सुनाए, ‘मोबाइल बत्ती बलेको देखेपछि हामीले चिनिहालेम् । तर हामी नपुग्दै वीरेन्द्र भागिहाल्यो ।’ छिमेकी टोलका २७ वर्षीय वीरेन्द्र दुई वर्षअघि मलेसिया गएर फर्किएयता गाउँमै मजदुरी गर्थे । वीरेन्द्र र अंगिराको सम्बन्धबारे स्थानीय जानकार छैनन् । त्यो प्रेम थियो कि तत्कालीन आवेग अथवा अरू केही ? स्पष्ट नखुले पनि १४ वर्षको उमेर अन्तरका अंगिरा र वीरेन्द्रको सम्बन्धलाई कानुनले बाल बलात्कारका रूपमा परिभाषित गरेको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ (२) मा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे बलात्कार गरेको मानिनेछ भन्ने लेखिएको छ । यही कानुनले दस वर्ष वा दस वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे अठारदेखि बीस वर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ । तर कानुनको यस्तो परिभाषालाई देवदह नगरपालिका–११, बडकीगुम्बी टोलका वडाध्यक्ष र अन्य अगुवाले बेवास्ता गरे ।

मध्यराततिर भेटिएकी अंगिरालाई अनेकले अनेक प्रश्न गरे । हूलमूलमा कतिले गाली गरे र कतिले अपशब्दले फलाके । शान्तिले के गर्ने र कसो गर्ने केही मेसो पाइनन् । उनको ध्यान गाउँका बिरादरी र वडाध्यक्षले के भनिदिन्छन् भन्नेमै थियो । कल्याङमल्याङमै बिहान भयो । न अंगिराले न शान्तिले, न त घरका अरू सदस्यले नै सुत्न पाए ।

बिहान ७ नबज्दै वडाध्यक्ष अमरबहादुर चौधरी, टोलका अगुवा मानिने बालकृष्ण पासी अंगिराको आँगनमा आइपुगे । त्यतिबेलासम्म टोलवासीले वीरेन्द्रलाई पनि खोजेर त्यहीं ल्याइसकेका थिए । सय जनाजति मान्छेको भीडमा वडाध्यक्ष चौधरीले वीरेन्द्रलाई सोधे, ‘तैंले लिएर जान्छस् ?’ जवाफमा उनले ‘लान्छु’ भने । वडाध्यक्षले अंगिरालाई पनि सोधे, ‘तँ के गर्छेस् ?’ अंगिराले भनिन्, ‘मेरो इज्जत यसैसँग गएको छ ।’

प्रत्यक्षदर्शीका अनुसार वडाध्यक्षले नै अंगिराभन्दा दोब्बर उमेरको केटाको हात समातेर जिम्मा लगाएपछि भीड पातलियो । वीरेन्द्र अंगिरालाई लिएर टोल छेवैको रोहिणी खोलाको किनारतिर लागे । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ (१) मा विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न/गराउन नहुने र यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने उल्लेख छ । तर यस्तो कानुनी व्यवस्था उल्लंघन गर्नेलाई कानुनी कारबाहीको बाटोमा लैजानुपर्नेमा वडाध्यक्ष स्वयं नै गैरकानुनी बालविवाहको उत्प्रेरक वा साक्षी बसे । बाल बलात्कार जस्तो गम्भीर अपराधमा आँखा चिम्लँदै बालविवाह जस्तो अर्को अपराध कर्म सिंगो समाजकै अघि भयो । जसको साक्षी जनप्रतिनिधि र स्थानीय अगुवा बने ।

स्थानीयका अनुसार दिउँसोतिर वीरेन्द्रले अंगिरालाई लिएर आफ्नो घर पुगे । तर तल्लो जातको केटी ल्याएको भन्दै वीरेन्द्रकी आमा अकालीले उनलाई घरमा छिर्न दिइनन् । कुटपिट गरौंलाझैं गरिन् । घर छिर्न नपाएपछि वीरेन्द्र फेरि रोहिणी खोलाको किनारतिर लागे । साँझतिर उनीहरूले टोलकै एउटा पसलबाट भुजा किनेर भोक मारे । त्यसपछि वीरेन्द्र र अंगिरा कता लागे स्थानीयले मेसो पाएनन् ।

भोलिपल्ट अर्थात् १० गते साँझ ५ बजेतिर शान्ति घरकै काममा जुटिरहेकी थिइन् । अपराह्नको रातो घाम रोहिणी खोलामा डुब्ने बेला हुनै लागेको थियो । एक्कासि गाउँले रोहिणी खोलातिर कुध्न थाले । सुरुमा त उनले के भयो कसो भयो मेसो पाइनन् । तर हूलका हूल मान्छे रोहिणी खोलातिर कुदेको देखेपछि उनका पाइला पनि त्यतैतिर सोझिए । खोला किनारमा बस्तुभाउ चराइरहेका गोठालाले भिलोरको रूखमा शव झुन्डिरहेको देखेका रहेछन् । एकैछिनमा पुष्टि भइहाल्यो, त्यो अंगिराकै शव थियो ।

अंगिराको मृत्युको १७ औं दिन मध्याह्न रोहिणी खोला किनारमा पुग्दा सुनसान थियो । स्थानीय सन्दीप पासीले अंगिरा झुन्डिएको फोटो मोबाइलमा देखाए । गुलाबी रङको कुर्ता र कालो रङको सलवार लगाएकी अंगिरा सलको पासोमा लत्रिएकी थिइन् । झुन्डिएको भिलोरको रूखको हाँगो उनको नाडीजत्रै थियो । ७ कक्षा पढ्दापढ्दै छाडेर आमाकी सहयोगी बनेकी अंगिराको कुमबाट कुर्ता तल झरेको थियो र भित्री वस्त्र देखिन्थ्यो ।

शव देखेपछि स्थानीयले गस्तीमा हिँडेका प्रहरीलाई खबर गरेका थिए । अंगिराको शव रूखबाट कसले निकाल्ने भन्नेमा एकछिन गलफत्ती पर्‍यो । स्थानीय अगुवा बाल किसानले माइती पक्षले शव निकाल्न भने । तर शान्तिले भनिन्, ‘मैले किन निकाल्ने ? तिमीहरूले जसलाई जिम्मा लगाएर पठाएका हौं । त्यही घरकाले निकाल्छन् ।’ अंगिराको ठूलोबाका छोरा प्रह्लाद पासीका अनुसार शवलाई अस्पताल लैजान एम्बुलेन्स भाडा कसले तिर्ने भन्नेमा पनि विवाद भयो ।

झन्डै ७ बजेको थियो । प्रहरी टोली अघि सरेपछि स्थानीय पल्टन पासी रूखमा चढे र सलको गाँठो फुकाएर शव निकाले । प्रह्लादका अनुसार वीरेन्द्रले लगाउने सिक्री अंगिराको शरीरमा अल्झिएको थियो । खुट्टानेर केही हिलो थियो । अंगिराको भित्री वस्त्रमा भने दस रुपैयाँको नोट थियो । राति अबेर गरी प्रहरीले अंगिराको शव पोस्टमार्टमका लागि भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍यायो । भोलिपल्ट स्थानीय बासिन्दा जाहेरी दर्खास्त दिन इलाका प्रहरी कार्यालय बुटवलमा पुगे । तर मुद्दा शाखाका प्रहरीले दर्ता गर्न आनाकानी गरे ।

स्थानीय अगुवा अजय रौनियारका अनुसार जाहेरीको घटना विवरण खण्डमा वडाध्यक्षले अंगिरा र वीरेन्द्रको हात समाएर पठाइदिएको भन्ने वाक्य हटाउन दबाब दिइएको थियो । तीन दिनको रस्साकसीपछि प्रहरीले निवेदन दर्ता गर्‍यो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले भने आफूहरूले छिटो जाहेरी दिन बारम्बार भने पनि पीडितहरू नै ढिलो आएको तर्क गरे । उनले यस घटनामा ज्यानसम्बन्धी र जबर्जस्ती करणीमा मात्रै मुद्दा प्रक्रिया अगाडि बढाइएको बताए । अर्थात् प्रहरीले बालविवाहको पाटोतर्फ आँखा चिम्लियो । ‘पीडित परिवारले बालविवाहको कुरा जाहेरीमा उल्लेख नगरेकाले हामीले मुद्दामा यो विषय समेटेनौं,’ उनले भने ।

अंगिराको शव १५ गते अस्पतालबाट ल्याएर परिवारले त्यही रोहिणी खोला किनारमा दाहसंस्कार गर्‍यो । घटनाको ६ दिनपछि प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट वीरेन्द्रलाई र घरबाटै वीरेन्द्रकी आमा अकाली र ठूलीआमा शितलीलाई पक्राउ गर्‍यो ।

अंगिराकी दिदी प्रभावती बैनी वीरेन्द्रसँग भेटिएकै भोलिपल्ट बिहान हस्याङफस्याङ गर्दै कपिलवस्तुको गैडहवास्थित घरबाट माइत आएकी थिइन् । अंगिराको मृत्युपछि आमाको मन त्यसै त्यसै बेचैन भएको र जतिखेर पनि उनी रोइराख्ने गरेको प्रभावतीले सुनाइन् । उनले भनिन्, ‘माई रोइराख्ने भएकाले अंगिराका सबै कपडा लगेर रोहिणीमा फालिदियौं ।’

घटनाबारे बुझ्न आउने पत्रकार र अधिकारकर्मीसँग आफूलाई सम्हाल्दै शान्ति घटनाबारे बेलीबिस्तार त लगाउन सक्छिन् । तर उनलाई रोहिणी खोलाको किनारतिर जाने आँट आउँदैन । प्रभावतीले उक्त घटनापछि आमाले रोहिणीतिर फर्केर पनि नहेरेको सुनाइन् ।

घटनाको केही दिनपछि राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश ५ कार्यालयले स्थलगत अध्ययन गरेको थियो । आठ दिनपछि आयोगले जारी गरेको विज्ञप्तिमा दोषीलाई कानुनी कारबाहीमा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहबरमा बलात्कारका आरोपितलाई नै बालिका जिम्मा लगाएपछि अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिएपछि अंगिराको शंकास्पद मृत्यु भएको उल्लेख छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आरोपितलाई अनुसन्धानका लागि थप दस दिन थुनामा राख्ने म्याद गत बिहीबार लिइएको छ । रूपन्देहीका एसपी हेमबहादुर थापाले किशोरीको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर नै मृत्यु भएको र मृत्युमा अन्य मान्छेको प्रत्यक्ष संलग्नता नदेखिएको तथ्य उल्लेख भएको बताए । ‘भेजाइनल स्वाब परीक्षणको रिपोर्ट भने प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आइसकेको छैन,’ उनले भने । डीएसपी राठौरले भन्दा फरक उनले घटनामा जातीय छुवाछूतको मुद्दा पनि समावेश गरिएको बताए । तर स्थानीय बासिन्दा प्रहरीले जनप्रतिनिधिको भूमिकाबारे गम्भीर अनुसन्धान नगरेको बताउँछन् । एसपी थापाले वडाध्यक्षसँग बयान लिएको जानकारी दिए ।

गत सोमबार अंगिराको घर पुग्दा दाहसंस्कारको दिन सकिएको १३ दिन भएको थियो । मृत्यु संस्कार उम्काउन आफन्ती जुटेका थिए । शान्तिको मन भने त्यसै त्यसै एकतमासको भइरहेको थियो । उनले मधुरो स्वरमा भनिन्, ‘हमनके न्याय चाही ।’

अनुत्तरित प्रश्नहरू

आमा शान्तिको मनमा छोरीको मृत्युमा को–को प्रत्यक्ष र को–को अप्रत्यक्ष जिम्मेवार छन् भन्ने प्रश्नको उत्तर छैन । स्थानीय राजनीति दलका अगुवाहरू वडाध्यक्ष अमरबहादुर चौधरीले घटनाको विवरण स्थानीय प्रहरीमा मात्रै दिएको भए पनि अंगिराको मृत्युको घटना टर्न सक्ने बताउँछन् ।

चौधरीले केही दिनअघि कान्तिपुरसँग अंगिरालाई वीरेन्द्रको हातमा थमाइदिने काममा आफू संलग्न नभएको दाबी गरे । उनले भनेका थिए, ‘शुक्रबार राति हात थमाइसकेका रहेछन् । मलाई विवाह दर्ता गर्नका लागि दबाब दिएका थिए, कानुनले नमिल्ने भन्दै मैले मानिनँ ।’

देवदह नगरपालिकाका मेयर हिरा केसीले घटनाबारे जानकारी पाएपछि प्रहरीमा खबर गर्नुपर्नेमा वडाध्यक्ष चुकेको बताए । आफूहरूले घटनाबारे वडाध्यक्षसँग सोधपुछ पनि गरेको जानकारी दिँदै उनले भने, ‘यो घटनामा वडाध्यक्षको बुद्धि नपुगेको देखियो ।’ मेयर केसीले अंगिराको घटनामा कानुनभन्दा पनि समाजमा स्थापित नजिर बलियो भएको र त्यसलाई चिर्ने काममा गल्ती देखिएको बताए ।

सम्बन्धित समाचार

शान्ति पासी भन्छिन्, ‘मेरी छोरीको हत्या भएको हो’

दिनभरि जोडी, साँझ किशोरी मृत

प्रकाशित : जेष्ठ २९, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?