कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

‘सनक’ मै सामूहिक हत्या

फार्ममा सँगै काम गर्ने व्यक्तिले हत्या गरेको स्विकारे पनि अलग–अलग सुतेकाको हत्या एकै ठाउँमा कसरी भयो ? तिनले प्रतिकार किन गरेनन् ? १५ मिटर पर को छुट्टै गोठमा रहेका दम्पती मध्यराति अर्को गोठमा किन गए ? त्यत्रो घटना हुँदा वरपरका मान्छेले किन थाहा पाएनन् ? यी सवालले घटनालाई रहस्यमय बनाएको छ ।
घनश्याम गौतम

रुपन्देही — रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवा गाउँमा कोदालो (फरुवा) प्रहार गरेर सोमबार राति लस्करै सुतेका पाँच जनाको हत्या गरिएको छ । यस घटनाले धेरैलाई झस्काएको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सुर्खेतको लेकबेसी नगरपालिका–५, नेटाका ३२ वर्षीय झसेन्द्रबहादुर सिँजालीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ । मंगलबार साँझसम्म हत्याको कारण खुलिसकेको छैन ।

‘सनक’ मै सामूहिक हत्या

पक्राउलगत्तै ‘हत्या स्वीकार’ गरेका सिँजालीमा मानसिक समस्याको लक्षण देखिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका उनले छिनछिनमै कुरा बदलिरहेका छन् । मंगलबार बिहान प्रहरी घटनास्थल पुग्दा उनी बेहोस अवस्थामा फेला परेका थिए । प्रहरीले मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याएर उपचार गरेको थियो । होस खुलेपछि हिरासतमा लगिएको हो ।

इलाका प्रहरी बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार घटनास्थलमै परालको भुसमा लुकेको अवस्थामा सिँजाली पक्राउ परेका थिए । ‘फरार भएको आशंकामा खोजी सुरु गरेका थियौं,’ उनले भने, ‘अत्तालिएको अवस्थामा ऊ भुसको थुप्रोबाट निस्क्यो ।’

मैनहवामा स्थानीय कृष्णबहादुर पुनले पाँच वर्षदेखि गंगादेवी पशुपन्छी फार्म सञ्चालन गरिरहेका छन् । सोमबार राति हत्या गरिएका ४० वर्षीय माधव र उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर सुरुदेखि उक्त फार्ममा काम गर्दै आएका थिए । हत्या गरिएका १४ वर्षका पोखराज मुसहर, १७ वर्षका करण र आशिष चौधरी साथी हुन् ।

हत्या आरोपित सिँजालीले गत वैशाख १६ गतेबाट उक्त फार्ममा काम थालेका थिए । फार्म सञ्चालक पुनका अनुसार लकडाउनकै बेलामा सिँजाली काम खोज्दै उनको फार्ममा पुगेका थिए । श्रीमतीले छाडेर गएको, लकडाउनका कारण सुर्खेतमा रहेको घरमा पुग्न नसकेको र खाने खर्चसमेत नभएको भन्दै दु:ख बिसाएपछि उनलाई काम दिएको पुनले बताए । ‘पहिला पनि भैंसी फार्ममा काम गरेको हुँ भन्दै दु:खका कुरा गर्‍यो,’ उनले भने, ‘खान नपाएको बताएपछि र हेर्दा पनि सीधा देखेपछि काम दिएको हुँ ।’

उनका अनुसार राम्रै गर्थे तर साँझ परेपछि मदिरा (रक्सी) सेवन गरेर होहल्ला गर्ने गरेको आफूले सुनेको उनले बताए । सोमबार राति साढे ९ बजेतिर पुनको घरमा खाना खाएर गोठमा सुत्न हिँडेका थिए । फार्मबाट सञ्चालक पुनको घर एक सय मिटर दूरीमा छ । बिहान गाईभैंसी दुहुन आउँदा सबै जना एकै ठाउँमा सुतेको र हत्या गरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उनले बताए । घटनाको जानकारीलगत्तै स्थानीय बासिन्दा घटनास्थल वरपर झुम्मिएका थिए । मृतकका परिवारमा रुवाबासी मच्चिएको थियो । उनीहरू प्रहरीको घेरा तोडेर घटनास्थलमा पुग्न खोजिरहेका थिए । कोही चौरमा बसेर टाउकोमा मुड्की बजार्दै बिलौना गरिरहेका थिए ।

पाँच जनाको सामूहिक हत्या भएको रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छीबजारस्थित मैनहवा गाउँको पशुपन्छी फार्म तस्बिर : घनश्याम गौतम/कान्तिपुर

प्रहरीका अनुसार सुर्खेतबाट तीन वर्षअघि बुटवल आएका सिँजाली रूपन्देहीकै देवदह नगरपालिकाको खैरेनीस्थित एक कृषि फार्ममा झन्डै ६ महिना काम गरेका थिए । त्यसअघि भवानीपुरमा रहेको अर्को फार्ममा काम गर्थे । दुवै स्थानबाट श्रीमती पूजाकै कारण जागिर गुमाउनुपरेको सिँजालीले बताएका छन् । जागिर गुमेपछि रन्थनिएका दम्पतीले तिलोत्तमा–११, शिवपुरस्थित तारा पशु तथा कृषि फार्ममा काम पाए । त्यहाँ पनि श्रीमतीकै कारण डेढ महिनामै जागिर गुम्यो । उक्त फार्म सञ्चालकका अनुसार श्रीमती पूजा दैनिक मदिरा सेवन गर्ने, कामभन्दा बढी श्रीमान्सँगै झगडा गर्थिन् । तर, झसेन्द्रले काम राम्रो गर्थे ।

कोदालो प्रहार गरेर ५ जनाको हत्या

गत वैशाख पहिलो साता झसेन्द्रकी श्रीमतीले मदिराको झोंकमा माछा पोखरीमा हामफालेर आत्महत्या प्रयास गरेको तारा पशु तथा कृषि फार्म सञ्चालक राम सहनीले बताए । दैनिक दम्पतीको झगडाले अरू मजदुरलाई समस्या भएपछि सहनीले दुवैलाई गत वैशाख १५ गते कामबाट हटाइदिए । रोजगारी गुमेपछि उनलाई छाडेर श्रीमती पूजा बुटवलतिर हिँडिन् । त्यसपछि झसेन्द्र काम खोज्दै मैनहवा पुगे र गंगादेवी पशुपन्छी फार्ममा काम थाले ।

हत्या गरिएका १७ वर्षीय करण चौधरीकी आमा निर्मला चौधरी तस्बिर : घनश्याम गौतम/कान्तिपुर

दिनभर काम राम्रै गर्थे । राति मदिरा सेवन गरेपछि हल्ला र झगडा गर्थे । स्थानीय सन्दीप न्यौपानेले सिँजाली सन्काहा भएको बताए । ‘बेलाबेला सन्किन्थ्यो,’ उनले भने, ‘हिजो रक्सी पनि खाएको थियो, सन्केरै हत्या गरेको हुन सक्छ ।’ भेटघाटमा पत्नीले आफूलाई छाडेर गएको र आफ्नो जाने ठाउँ नभएको भन्दै तनावका कुरा गर्ने गरेको उनले बताए । समुदाय मिलेर बसेको ठाउँमा भएको जघन्य अपराधको घटनाले गाउँ त्रसित बनेको वडा सदस्यसमेत रहेका स्थानीय उजुरसिंह जीसीले बताए ।

‘हल्ला पनि सुनिएन’

घटनास्थलको प्रकृतिले सामूहिक हत्यालाई रहस्यमय बनाइदिएको छ । मृतक माधव र श्रीमती घटनास्थलभन्दा १५ मिटर टाढा रहेको गोठमा सुत्थे । भैंसीसँगैको गोठमा झसेन्द्र र पोखराज सुत्थे । पोखराजका साथी र अन्य किशोर कहिलेकाहीं सुत्न आउँथे ।

सोमबार राति १० बजेसम्म दिदी–भिनाजु सधैं सुत्ने गरेको गोठमै रहेको माधवकी साली गोलरी मुसियारले बताइन् । उनी दिदी–भिनाजुसँगैको अर्को कोठामा दिदीको सानो छोरासँगै सुतेकी थिइन् । राति १ बजे झसेन्द्रले ढोकामा गएर बोलाए । उनी बाहिर निस्किएर किन आएको भन्दै गाली गरेपछि झसेन्द्र फर्किएको उनले बताइन् । कोठामा सुतेका दिदी–भिनाजु कसरी गोठमा पुगे, आफूले थाहा नपाएको उनले बताइन् ।

पाँच जनाको सामूहिक हत्या भएको रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छीबजारस्थित मैनहवा गाउँको पशुपन्छी फार्म तस्बिर : घनश्याम गौतम/कान्तिपुर

घटनास्थलबाट ५० मिटर दूरीमै सरस्वती पशु फार्म छ । त्यहाँ दुवै फार्मका सञ्चालक कृष्ण र डिलबहादुर थारू सोमबार राति सँगै सुतेका थिए । तर, दुवैले त्यति ठूलो घटना हुँदा पनि कुनै हल्ला नसुनेको बताएका छन् । सोमबार बिहान प्रहरी घटनास्थल पुग्दा भैंसीनजिकै खाली भुइँमा त्रिपाल मात्र बिछ्याएर पाँच जना लस्करै सुतेको अवस्थामा मृत भेटिएका थिए । नजिकै सधैं सुत्ने गरेको खटिया भए पनि त्यसमा कोही थिएनन् । श्रीमतीको शव माधवकै खुट्टानेर थियो । पाँचै जनालाई सुतेकै अवस्थामा हानेर हत्या गरेको अनुमान प्रहरीको छ । तर, मृतक पाँचै जनाले घटनास्थलमा कुनै प्रतिवाद गरेजस्तो प्रारम्भिक अनुसन्धानमा नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

मारेर घाममा सुकाइदिन्छु भन्थें : मृतकका छोरा

माधव–जानकी मुसहरका जेठा छोरा १८ वर्षीय करणले झसेन्द्रले काम सुरु गरेदेखि आफ्ना बुबासँग झगडा गर्ने गरेको बताए । भैंसीलाई समयमा पानी र दाना नदिएपछि बाबाले पानी देऊ भन्दा उल्टै रिसाउने गरेको उनले बताए । यही विषयमा झगडा हुन्थ्यो । मदिरा सेवन गरेपछि बाबा–ममीसँग झगडा गर्ने गरेको करणले सुनाए । उनका अनुसार गत जेठ १४ गते पनि उनीहरूबीच झगडा भएको थियो । ‘झसेन्द्रले जेठ १४ गते नै धेरै किचकिच नगर मारेर घाममा सुकाइदिन्छु भनेको थियो,’ उनले भने, ‘हिजो राति मारेछन् ।’

बाबु र आमा दुवै गुमाएका रूपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवाका १८ वर्षीय करण मुसहर तस्बिर : घनश्याम गौतम/कान्तिपुर

पटक–पटक बाबासँग झगडा गरेको उनले बताए । एकपटक गाउँकै जीवन कुँवरले छुट्याइदिएको करणले बताए । करणका १० वर्षे भाइ अर्जुन पनि बाबाआमासँगै त्यही गोठमै बस्थे । सोमबार राति सानीआमासँग सुतेकाले उनी बचेका छन् । करण भने गाउँकै अर्को भैंसी फार्ममा काम गर्ने गरेकाले उतै बस्दै आएका थिए । गाउँमा उनीहरूको घर छैन । जहाँ काम गर्छन्, त्यहीं बस्दै आएका थिए ।

मृतकहरूको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आफन्तले क्षतिपूर्तिबिना पोस्टमार्टम नगर्ने अडान लिएका छन् । मंगलबार रात परेपछि पोस्टमार्टम सम्भव नभएको डीएसपी राठौरले बताए ।

छानबिन माग

रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले घटनाको छानबिन, अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं नेकपाका महासचिव विष्णु पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको यथाशीघ्र अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् । मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै समाजमा डरलाग्दो ढंगले देखापरेको यस प्रकारको आपराधिक मनोवृत्ति फैलिन नदिन र नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन उनले माग गरेका छन् ।

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सामूहिक हत्याको घटनाले आमनागरिकमा थप आतंक सिर्जना गरेको उल्लेख गरेका छन् । शृंखलाबद्ध हत्याका घटनाले नागरिकले असुरक्षित महसुस गरेको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग उनले आग्रह गरेका छन् । घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही माग गरेका छन् । सांसद छविलाल विश्वकर्माले प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै घटनाको छानबिन र दोषीलाई शीघ्र कारबाहीको गरेका थिए ।

सबै कोणबाट अनुसन्धान हुन्छ

राजकुमार बैदवार, एसएसपी तस्बिर : घनश्याम गौतम/कान्तिपुर

प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न मेरो नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सदस्यमा दंगा नियन्त्रण प्रहरी गण बुटवलका एसपी विकासराज खनाल र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौर हुनुहुन्छ । हामीले आजैदेखि काम सुरु गरेका छौं ।

मुख्य अभियुक्तका रूपमा आशंका गरिएको व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेका छौं । आरोपितले सामान्य रूपमा हत्या स्वीकार गरेको अवस्था छ तर विस्तृत बुझ्नैपर्ने छ । अन्य केही व्यक्ति निगरानीमा छन् । आज प्रमाण संकलन, घटना अध्ययन, सोधपुछ, घटनास्थल वरपरको सर्च भएको छ । घटना आवेगात्मक जस्तो पनि देखिएको छ । हामीले पहिलो चरणमा सँगै काम गरेका र शंकास्पद व्यक्तिको विगत खोज्दै छौं । त्यसपछि झसेन्द्र र मृतकको पृष्ठभूमि, मजदुर र मालिकसँगको सम्बन्ध, स्थानीय, मालिक र मजदुरको सम्बन्ध, पहिला काम गरेको मालिक र अहिलेको मालिकबीचको सम्बन्धको कोणबाट पनि अनुसन्धान हुन्छ ।

धेरै व्यक्ति मरेका छन् । भित्र एक जनाबाहेक अर्को जीवित देखिएको छैन । नजिकै मृतककी साली सुतेको भन्ने भए पनि कहींकतैबाट प्रतिकार भएको देखिँदैन । त्यसले पनि घटनाको गहिरो गरी अनुसन्धान र छिटोभन्दा छिटो अपराधी सार्वजनिक गर्छौं ।

-घनश्याम गौतमसँग कुराकानीमा आधारित)

डर लागेर ढोकै खोलिनँ

गोलरी मुसहर, माधवकी साली

सोमबार साँझ खाना खाएपछि सबै जना सुत्न गयौं । म दिदी (जानकी) को कान्छो छोरालाई लिएर आफू सुत्ने कोठामा गएँ । दिदी–भिनाजु अर्को कोठामा जानुभयो । सुत्ने बेला राति १० बजेको थियो । राति १ बजेतिर हामीसँगै काम गर्ने झसेन्द्र ढोकाबाहिर आएर नानी, नानी, अब मलाई गाउँलेले नराम्रो भन्ने भए भन्दै चिच्याएको सुनें । ढोका खोलेर किन आएको भन्दै गाली गरेपछि ऊ फर्कियो । त्यसपछि डर लागेर ढोका खोलिनँ ।

बिहान ४ बजे साहू (फर्म सञ्चालक) आएर गेट खोल भन्दै चिच्याएको सुनें । त्यसपछि छोरा र म बाहिर निस्कियौं । बाहिर निस्कँदा बिजुलीको मेन स्विच अफ गरिएको थियो । दिदी–भिनाजु कोठामा हुनुहुन्थेन । बाबु गेटतिर गयो । साहूले बुबा–आमालाई बोलाएर गेट खोल्न भनेपछि फर्केर बाबु गोठमा गयो । त्यहाँ दिदी–भिनाजु सुतेको देखेर बोलायो । नउठेपछि साहूलाई उठ्नु हुन्न भनी जवाफ दियो । साहूले आफ्ना धर्मपुत्र पोखराजलाई बोलाउन भने । बाबुले पोखराजलाई पनि बोलायो । पोखराज पनि नबोलेपछि नजिकबाट ब्ल्यांकेट उठाएर हेर्दा रगत देखेर बाबु दौड्दै आयो । बाबुले नै साहूलाई बुबा–आमा सुत्नुभएको छ, बोल्नुहुन्न, रगत छ भन्यो । त्यसपछि साहू गेटबाट हामफालेर आउनुभयो । गोठमा गएर हेर्दा दिदी–भिनाजु र अन्य तीन जना मरेको देख्यौं ।

-सन्जु पौडेलसँगको कुराकानीमा आधारित

तस्बिर : घनश्याम गौतम/कान्तिपुर

प्रकाशित : जेष्ठ २८, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?