कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कोरोना संक्रमण फैलिएपछि भारतबाट साढे ७ लाख नेपाली भित्रिए

लकडाउन घोषणापछि झन्डै साढे २ लाख आए 
मातृका दाहाल

काठमाडौँ — कोरोना संक्रमण (कोभिड–१९)को महामारी फैलिएपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । भारतमा कोरोना संक्रमण फैलिएसँगै बढेको त्रासका बीच २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ नेपाली घर फर्किएका हुन् ।

कोरोना संक्रमण फैलिएपछि भारतबाट साढे ७ लाख नेपाली भित्रिए

त्यसमध्ये २०७६ चैत ११ गते लकडाउन घोषणा भएसँगै स्वदेश फिर्नेको संख्या २ लाख ४३ हजार ८ सय ३१ छ ।

लकडाउन घोषणाअघि सीमा नाकामा २०७६ फागुन २५ गतेबाट हेल्थ डेस्क सञ्चालनमा ल्याइएको थियो । हेल्थ डेस्क राखेपछिको १५ दिन अर्थात् २०७६ चैत १० गतेको अवधिमा मात्रै ५ लाख ५५ हजार ४ सय ६९ जना मानिस भित्रिएका थिए ।

गृह मन्त्रालयको तथ्यांकअनुसार फागुन २५ देखि चैत १० गतेको अवधिमा प्रदेश १ का नाकाबाट २ लाख ४ हजार ७ सय २१, प्रदेश २ बाट ५६ हजार १ सय २, गण्डकी प्रदेशका नाकाबाट ७ हजार ३ सय ६, प्रदेश ५ बाट १ लाख ७१ हजार १ सय ३३ र सुदुरपश्चिम प्रदेशका नाकाबाट १ लाख १६ हजार ६५ जना मानिस भित्रिएका छन् । नाकाबाट भित्रिएका सबे स्थायी थातथलो पुगिसकेको गृहले बताएको छ । तर उनीहरुको न स्वास्थ्य परीक्षण नै गरियो न सरकारले यसप्रति संवेदनशीलता नै देखायो । जसका कारण अहिले देशभर संक्रमण फैलिसकेको छ । तापक्रम मापन गरेर नाकाबाट भित्रिएका सबै आफ्नो घर गएका थिए ।

लकडाउन पछि प्रदेश १ बाट ८ हजार ९ सय ९, प्रदेश २ का नाकाबाट १ हजार १ सय ४, प्रदेश ५ हुँदै ७२ हजार ६ सय ९ र सुदुपश्चिम प्रदेशका नाकाबाट ९७ हजार ६ सय ५४ जना स्वदेश फर्किएका थिए । भारतबाट १० लाख भन्दा बढी नेपाली भित्रिने आकलन सरकारको थियो । यो संख्या अझै बढ्न सक्ने अनुमान भएको गृहका एक अधिकारीले बताए । तर यसलाई धान्न सक्ने गरी न स्वास्थ्य परीक्षण गर्ने क्षमता सरकारसँग छ, न क्वारेन्टाइन व्यवस्थापन नै व्यवस्थित ।

लकडाउनपछि भित्रिएकालाई स्थानीय तहका क्वारेन्टाइनमा १४ दिनसम्म राखिने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्यांकअनुसार देशभरका क्वरेन्टाइनमा १ लाख ७० हजार ३ सय ३२ जना मानिस छन् । संक्रमण देखिएपछि आइसोलेसनमा बस्नेको संख्या ३ हजार २६० पुगेको छ । क्वारेन्टाइनमा बसेका मध्ये पनि शंका लागेका र विरामी परेकाको मात्रै परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ हजार ७ सयभन्दा बढीमा संक्रमण देखिसकेको छ । संक्रमणबाट हालसम्म सिन्धुपाल्चोक, बाके, गुल्मी, बारा, ललितपुर, अर्घाखाची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र स्याङजामा गरी १४ जनाको मृत्यु भइसकेको छ । क्वारेन्टाइनमै बसेका १७ जनाको मृत्यु भएकोमा ९ जनामा संक्रमण देखिएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?