दुई सातामा ७ जनाको क्‍वारेन्टाइनमै मृत्यु- समाचार - कान्तिपुर समाचार

दुई सातामा ७ जनाको क्‍वारेन्टाइनमै मृत्यु

सुदूरपश्चिम ब्युरो

धनगढी — घटना १

भारतको दिल्लीबाट जेठ २० गते फर्केर डोटीको केआईसिंह गाउँपालिका ३ स्थित सीताराम आधारभूत विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भयो । स्थानीय स्वास्थ्यकर्मीका अनुसार उनी लामो समयदेखि मुटुको बिरामी थिए ।

घटना २

बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्‍वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घरभएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भयो । उनी शनिबार विहान भारतको बैङ्गलोरबाट आइपुगेका थिए । साँझ एक्कासी बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । मृतकको स्वाब परीक्षणका लागि धनगढी पठाएको छ ।

घटना ३

बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभूत विद्यालय बुढाबाडामा स्थापना गरिएको क्‍वारेन्टाइनमा जेठ २४ गते शनिबार ६५ वर्षीय वृद्धको मृत्यु भयो । २५ वर्षपछि गाउँ फर्कने क्रममा जेठ १५ गते भारतबाट आएर क्‍वारेन्टाइनमा बसेका उनी घर जानै नपाई ज्यान गुमाउन पुगे ।

घटना ४

डडेलधुराको गन्यापधुरा १ गाउँपालिकाको असिग्राम आधारभूतको क्‍वारेन्टाइनमा बसिरहेकी ३१ वर्षीया महिलाको जेठ २० गते राति क्‍वारेन्टाइनमै मृत्यु भयो । श्रीमान् र छोरासहित भारतबाट फर्केको चौथो दिनमा शौचालय गएको बेला उनी बेहोस भएर मृत्यु भएको हो ।

घटना ५

बैतडीको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्‍वारेन्टाइनमा रहेकी २२ वर्षीया युवतीको गत सोमबार मृत्यु भयो । पुर्चौडी नगरपालिका ४ घर भएकी उनी मुटुको बिरामी थिइन् । क्‍वारेन्टाइनमा बसेका बेला औषधि नपाएर भारतबाट फर्केको केही दिनमै उनले ज्यान गुमाएकी हुन् ।

घटना ६

बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको सभाहलमा निर्मित जिल्ला अस्पतालको आइसोलेसन भवनमा १८ गते राति दुई वर्षीया बालिकाको मृत्यु भयो । बुढीगंगा नगरपालिका–१ कुडी गाउँघर भएका दम्पती भारतबाट १४ गते स्थानीय धुराल्सैन माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा पुगेका थिए । त्यही राति बच्चीलाई श्वासप्रश्वासमा समस्या भएपछि दोस्रो दिन उनलाई सदरमुकाम मार्तडी लिइएको थियो । उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भयो ।

घटना ७

डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ घरभई सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको जेठ १७ गते शनिबार राति मृत्यु भयो । आमाबुबासँगै भारतबाट आएका उनी जिल्लामा पुगेर क्‍वारेन्टाइनमा बसेकै राति बालकको मृत्यु भएको हो ।

सुदूरपश्चिममा डेढ सातायता ७ जनाले क्‍वारेन्टाइनमै ज्यान गुमाएपछि त्रास बढेको छ । स्वास्थ्यकर्मीहरु नै ‘क्‍वारेन्टाइन ज्यानमारा घर जस्तो भएको’ भन्न थालेका छन् । भारतबाट भित्रिनेको ओइरो, कोरोना परीक्षण ठप्प रहेको, अस्तव्यस्त क्‍वारेन्टाइनले अवस्था भयावह हुन लागेको जनस्वास्थ्य क्षेत्रका जानकारहरुको बुझाई छ ।

यसबाहेक क्‍वारेन्टाइनमै सुत्केरी हुने, कोचाकोच गरेर बस्नु परेकाले कोरोना बाहेकका संक्रमणको जोखिम पनि बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

डोटीमा दुई महिला क्‍वारेन्टाइनमै सुत्केरी भएका छन् । दिपायल–सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्‍वारेन्टाइनमा बस्दै आएका महिलाले क्‍वारेन्टाइनमै बच्चा जन्माएको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए ।

यस्तै, अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीस्थित नवदुर्गा माविको क्‍वारेन्टाइनमा बसेकी एक महिला पनि क्‍वारेन्टाइनमै सुत्केरी भएकी छिन् । यसै अवधिमा डडेलधुराको नगदुर्गा गाउँपालिकाको ४ सिरोडकी २१ वर्षीया सुत्केरीमा कोरोना संक्रमण पुष्टि भयो । ‘अहिलेका अस्तव्यस्त क्‍वारेन्टाइनले कोरोनाको संक्रमण सर्ने जोखिम त छर्दैछ, अन्य सरुवा रोगहरु पनि फैलिने खतरा भयो,’ सेती प्रादेशिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. निराजनदत्त शर्मा पौडेल भन्छन्, ‘पूर्वतयारी अत्यन्त कमजोर भयो ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म सुदूरपश्चिममा क्‍वारेन्टाइनमा रहेकाको संख्या ६५ हजारभन्दा बढी छ । सुदूरपश्चिमका मुख्य सीमानाका कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट आउनेक्रम नरोकिएकाले क्‍वारेन्टाइनमा संख्या अझै थपिने निश्चित छ । तर, व्यवस्थापन भने अस्तव्यस्त छ ।

कोरोना महामारीबाट जोगिन घर फर्केकाहरु क्‍वारेन्टाइनको अवस्थाले झन् जोखिममा परेका छन् । क्‍वारेन्टाइनमा सामान्य स्वास्थ्य जाँचसमेत नहुने गरेको उनीहरु बताउँछन् । ओढ्ने, ओछ्याउने कपडाको अभाव भएका पहाडी गाउँका क्‍वारेन्टाइनमा चिसोले बिरामी भएर मृत्यु भएको आफन्तहरुको आरोप छ । बाजुरामा मृत्यु भएकी बालिकाका अभिभावक पनि मृत्युको कारण चिसो नै भएको बताउँछन् । ‘बाहिर हावाहुरी र पानी परेकोले लगलग काप्ने जाडो थियो । ओढ्ने ओछ्याउने केही थिएन । कसैले पछ्यौरा ओछ्याएका थिए । कोही केही नओछ्याएरै भुइँमा पल्टिएका थिए,’बालिकाका बुवा पुरनले भने, ‘हामीले एउटा दरी उतैबाट ल्याएको भएर त्यही ओछ्याएर श्रीमतीको पछ्यौरा ओढेर सुतेका थियौं ।’

धपेडी गरेर आएका र तनावमा रहेका बसेकाहरुले पर्याप्त खानासमेत पाएका छैनन् । खानामा भात र खाजा चाउचाउ खाएर बुबाको दम बढी भएपछि केहीदिनयता घरबाट रोटी मगाएर खाएको बाजुरामा शुक्रबार मृत्यु भएका बुढाका छोरा अमरले बताए ।

आफन्तले मृत्य चिसोका कारणले भएको दाबी गरे पनि त्यही कारणले भन्न नसकिने बाजुरा अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताए । ‘चिसोले गर्दा दम बढ्ने त हुन्छ । यस्तो बिरामीलाई बिहानको समयमा बढी गाह्रो हुने पनि हुन्छ । तर चिसोले नै भएको भन्न सकिन्न । स्वाबको रिपोर्ट आएपछि केही भन्न सकिएला ।’

अर्जुन शाह (धनगढी), वसन्तप्रतापसिंह (बझाङ), डीआर पन्त (डडेलधुरा), मोहन शाही (डोटी) र तृप्ती शाही (बैतडी)

प्रकाशित : जेष्ठ २५, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश १ मा ११ हजारभन्दा बढी नमुना परीक्षण

माधव घिमिरे

विराटनगर — भारतबाट आउनेहरु थपिने क्रम बढेको र त्यसरी आएका अधिकांशमा संक्रमण पुष्टि हुने क्रमसँगै प्रदेश १ मा परीक्षण तीव्र पारिएको छ ।

आइतबार साँझसम्म प्रदेशभरका गरी ११ हजार ५ सयभन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ । प्रदेशका तीन स्थानमा स्वाब नमुना परीक्ष गर्ने गरिएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार साँझसम्म ५ हजार २ सय ३२ वटा स्वाब नमुना परीक्षण गरिएको छ । यसैगरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वाब नमुनाको संख्या ४ हजार ६ सय १० छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा २ हजार ५ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रदेश १ मा जम्मा संक्रमित पुष्टि भएको संख्या २ सय ५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९१ जना निको भएर डिस्चार्ज गरिएका छन् ।

आइसोलेसनमा बस्‍नेको संख्या आइतबार साँझसम्म १ सय १ सय ६८ रहेको प्रदेश १ सरकारले जनाएको छ । यसैगरी प्रदेशका विभिन्‍न स्थानीय तहमा गरी क्‍वारेन्टाइनमा बस्नेको संख्या ४ हजार ३ सय ८८ पुगेको छ ।

यसैबीच भारतका विभिन्‍न स्थानबाट आएर जोगबनी नाकानजिक बसेकाहरुलाई नेपाल प्रवेश गराउने क्रम जारी छ । आइतबार त्यसरी आएका ४१ जना नेपालीलाई प्रहरीले नेपाल प्रवेश गराइएको छ । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी ७२ जना भारतीय नागरिकलाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ । यसअघि शनिबार जोगबनी नाकाबाट ५४ जना नेपालीलाई प्रवेश गराइएको थियो । दुई सयजना भारतीय नागरिकलाई उक्त नाकाबाट पठाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो बुधबारदेखि दुबै देशका सुरक्षाकर्मीको समन्वयमा दुई देशका नागरिकहरुलाई नाकाबाट प्रवेश गराउन थालिएको हो । मोरङका विभिन्न स्थानीय तहमा गरी ७१ स्थानमा क्वारेन्टाइन स्थापना गरिएको छ । ती क्वारेन्टाइनमा बस्नेको पछिल्लो संख्या १ हजार ३ सय २० रहेको प्रहरीले जनाए ।

प्रकाशित : जेष्ठ २५, २०७७ २०:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×