गेडो छैन अन्‍नको, रित्तै छ खल्ती पनि

रिक्सा र ठेला चलाउने, डुलाएर खुद्रा सामान बेच्नेहरूका जीवन दैनिक हुने आम्दानीले धानिएको थियो । लकडाउन लम्बिँदै जाँदा गरिखाने पुँजी रित्तिएर ऋण लागिसकेको छ ।
अमृता अनमोल

बुटवल — तिनाउ नदी किनारको सीमानगरका सञ्जय थापा अटो रिक्सा चलाएर दैनिकी चलाउँथे । लकडाउनसँगै उनको काम खोसिएको छ । कोरोना सर्ने डरले छिमेकीले अटो रिक्सा घरवरपर गराउनसमेत दिँदैनन् । लामो समय थन्किँदा त्यसका पार्टपुर्जा बिग्रेका छन् । उनी भने रोगभन्दा भोकले मरिने पिरलोमा छन् ।

घरमा तीन जना छोराछोरी छन् । रोगले थलिएका बूढा बाआमा र पत्नी छन् । ‘घरभित्र अन्नको गेडो छैन । खल्ती रित्तै छ,’ सञ्जयले भने, ‘न त छोराछोरीले भोक लायो भन्दा खान दिन सकेको छु, न त रोगी बाआमाको उपचार गर्न ।’

तिलोत्तमा ३ का सञ्जय थापा थन्काएको अटो रिक्सासँगै । तस्बिर : अमृता/कान्तिपुर

तिलोत्तमा नगरपालिकाले दुईपटक गरी दिएको १५ किलो चामल, चार किलो दाल र दुई लिटर तेल उहिल्यै सकियो । वडाध्यक्षले अब आफै जोहो गर्न भनेका छन् । अटो रिक्सा किन्दाको साढे २ लाख ऋणको ब्याज तिर्न बैंकले ताकेता गरेको छ । ‘खाने खर्च जुटाउन नसक्नेले बैंकको ब्याज कहाँबाट तिर्ने ? कोरोना र लकडाउनले हामी गरिबलाई दशा लायो । भोक र शोकले बाँच्नु न मर्नु गराउने भयो,’ उनले भने ।

तिलोत्तमा ३ का रूपबहादुर थापा बिग्रिएको अटो रिक्सा मिलाउँदै । तस्बिर : अमृता/कान्तिपुर

नदी उकास क्षेत्र सीमानगर तिलोत्तमा नगरपालिका–३ मा पर्छ । स्थानीय रूपबहादुर थापा पनि अटो रिक्सा चलाएर दैनिक २ हजार रुपैयाँसम्म कमाउँथे । त्यसबाट ५ जनाको परिवार पालेर ३ लाख ऋणको किस्ता र ब्याज पनि चलेको थियो । लकडाउनले उनको रिक्सा थन्कियो । ‘त्यसयताको दु:ख बयान गरी साध्य छैन,’ रूपबहादुरले भने, ‘कसरी दिन कटाउने भन्ने मात्रै छ । पेटभरि खान छोडेको धेरै भयो ।’ रूपन्देहीको तिनाउ नदी किनारमा अव्यवस्थित रूपमा बसेका १० हजारभन्दा बढी विपन्न परिवार छन् । दैनिक नंग्रा खियाएर खाना खर्च जुटाउने उनीहरु कामविहीन भएपछि रोगभन्दा भोकले मरिने चिन्तामा छन् ।

तिनाउ नदी किनारकै अर्का हुन्, कमलेशप्रसाद कहार । उखुको जुस बेचेर दिनकै १५ सयसम्म कमाउँथे । ऋण खोजेर साढे २ लाखमा किनेको उखु पेल्ने मेसिन घरबाहिर थन्किदा ५ जनाको परिवारको बिचल्ली भएको छ । ‘हामी आज काम गरेर आजै खाने मान्छे,’ उनले भने, ‘यति लामो बन्दले भोकभोकै बस्ने बनायो ।’ सुरुमा उधारोमा सामान ल्याए । त्यसपछि सरसापटी र लेनदेन गरे । बिस्तारै सरसापट गर्ने ठाउँसमेत सकिए । भोकभोकै परेपछि २० दिनअघि उनी वडा कार्यालयमा गए । वडाले दुईपटक गरी १५ किलो चामललगायत राहत दियो । राहतले दुई साता पनि टिकेन । ‘अब पनि काम गर्न नपाए के हाल होला ?’ उनी टोलाए, ‘कसरी छोराछोरीका मुखमा माड लाउने होला । भोकसित लडेर कसरी बाँच्ने होला ?’

अपांगता भएका चेतमान क्षत्री थापा साइकलमा यताउति भौंतारिदै खाने खर्चको जोहो गर्दै । तस्बिर : अमृता अनमोल/कान्तिपुर

अपांगताको पीडा भोगे पनि चेतमान क्षत्री थापाले निर्माण मजदुरीको काम गरेरै ७ जनाको परिवार पालेका थिए । काम बन्द भएपछि सुरुमा चिनजानकासित सापटी मागे । नगरपालिकाले २० दिन पुग्ने राहत दियो । १५ दिनयता उनी मागेर गुजारा चलाइरहेका छन् । ‘केटाकेटीले भोक लाग्यो भन्दा दिने कुरा हुन्न,’ उनले भने, ‘जिउँदै मरेजस्तो भाछ ।’

तिनाउ नदी किनारको ठूलो बस्ती बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाभित्र पर्छ । आफ्नो नगरमा रहेका बस्तीलाई पालिकाले दुई/तीनपटक राहत बाँडे । व्यक्ति गनेर दिएको सीमित राहत उहिल्यै सकियो । त्यसपछि उनीहरूको चुलो बाल्न समस्या भएको हो । बिहान–साँझको छाक टार्न समस्या भएका उनीहरू राहतको पर्खाइमा छैनन्, न त राहत पाएनौं भनेर विरोध गर्ने पक्षमा छन् । ‘हामी काम गरेर खाने मान्छे हो । सरकार काम गर्न देऊ,’ निर्माण मजदुर सीता विकले भनिन्, ‘आफैं नंग्रा खिआउँछौं । पसिना बगाउँछौं र मिठो–मसिनो पेटभरि खान्छौं ।’

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

कमालकी येलेना

क्या ! गज्जबकी खेलाडी थिइन्, उनी । अहिले त उनी ठूलै खेल पदाधिकारीको भूमिकामा छिन् । उनीसँगै जोडिएर आउने गर्छ, केही न केही विवाद पनि । उनी हुन्, जुन ३ मा जन्मेकी रूसी पोल्भल्ट खेलाडी येलेना इसेनबायभा ।
राेयटर्स

एथेन्स — केहीले मात्र आफ्नो स्पर्धामा यति धेरै एक्लो प्रभुत्व कायम गरेको हुनुपर्छ । रुसी खेलाडी येलेना इसेनबायभाको नाममा अझै रहेको छ, पोलभल्टको विश्व कीर्तिमान ।

उनले लगातार ओलम्पिकमा स्वर्ण पनि जितिन् । उनको नाममा दुई दर्जन जति विश्व कीर्तिमान ज्युँको त्युँ छ । त्यस्तै सात इन्डोर र आउटडोर विश्व उपाधि पनि । यो कथा हो, कमालकी येलेनाको ।

अहिले उनी ३७ वर्षकी भइन् । खेल्न छाडेको लामै समय भइसकेको छ । अहिले उनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सदस्य पनि छिन् । प्रतिबन्धित शक्तिबर्द्धक औषधिको प्रयोगका कारण प्रतिबन्धमा परेको आफ्नो देशलाई दिएको सजायको विषयमा बोलेर पनि उनी विवादमा तानिन्छिन् । त्यतिमात्र होइन, समलैंगिकताबारे उनका धारणा पनि कम्ता विवादास्पद छैनन् ।

एउटा के तथ्यमा पटक्कै दुईमत छैन भने उनको जत्तिको पोलभल्टको कलाकौशल कसैमा थिएन, त्यो चाहे पुरुष होस् वा महिला खेलाडी । उचाइ नाप्ने क्रममा उनको सुरुआत नै बलियो र आक्रामक हुने गर्थ्यो । जति बेला उनी घुमाउरो बाटो तय गरेर माथि पुग्ने गर्थिन्, त्यसमा लचकता पनि औधी हुने गर्थ्यो । लाग्थ्यो, यसलाई दोहोर्‍याएर हेरिरहुँ, फेरि दोहोर्‍याएर हेरिरहुँ ।

यसै कारण लगभग दुई दशक पोलभल्ट मन पराउने सबैले उनकै नाम जपे । आउटडोरमा उनको कीर्तिमान छ, ५.०६ मिटरको । सन् २००९ मा उनले यो कीर्तिमान जुरिचमा कायम गरेकी थिइन् । यसलाई अहिलेसम्म कसैले उछिन्ने छाँटकाँट देखाएका छैनन् । सन् २००३ मा उनी विश्व एथलेटिक्समा देखापरेकी थिइन्, जतिबेला उनी भर्खर २१ वर्षकी थिइन् ।


येलेनाले त्यही समय विश्व कीर्तिमान बनाएकी थिइन् । त्यसको एक वर्षपछि त उनी एथेन्स ओलम्पिककी नायिका नै साबित भइन् । स्वर्ण जितिन् र बनिन् सबैका प्रिय । झन् त्यसपछि त विश्व च्याम्पियन र विश्व कीर्तिमान त उनको पछि पछि लाग्यो । सन् २००९ को बेइजिङ ओलम्पिकमा पनि उनले स्वर्णको उपलब्धि दोहोर्‍याइन् । यसक्रममा उनले आफूलाई साबित गरिन्, महिला पोलभल्टकै सर्वकालीन महान् खेलाडी ।

सन् २००९ मा बर्लिनमा भएको विश्व च्याम्पियनसिप भने उनका लागि दुःखद साबित भयो, सुरुआती तीन प्रयासमै उनी नराम्रोसँग चुकिन् । त्यो त्यस्तो स्थिति थियो, जतिबेला उनको सुन्दर अनुहारबाट आँसु छचल्किएको थियो । त्यो रसाएको आँखाले उनलाई अझ राम्रो खेल्न प्रेरित गर्‍यो । नभन्दै उनले केही साताको अन्तरमा विश्व कीर्तिमान पनि बनाइन्, जुन अहिलेसम्म कायमै छ ।

सन् २०१२ को लन्डन ओलम्पिकमा उनको नाममा खाली कांस्य रह्यो । प्रतिस्पर्धाको त्यो दिन चिसो हावा बगिरहेको थियो । येलेना लय समात्न चुकिरहेकी थिइन् । त्यसैले उनले आफ्नो संन्यास योजना तीन वर्षले पछाडि धकेलिन् । घोषणा गरिन्, सन् २०१६ को रियो दी जेनेरियो ओलम्पिक पनि खेल्ने योजना । तर त्यो सपना तुहियो । किनभने रुस डोपिङ प्रकरणमा बदनाम थियो, प्रतिबन्धमा परिसकेको थियो ।

त्यसैले येलेनाले संन्यासको घोषणा गर्न किञ्चित पनि समय लगाइनन् । तर यति भने पक्कै भनिन्, ‘कोही कसैले येलेनाबबिना प्रतिस्पर्धा गर्छ र स्वर्ण जित्छ भने त्यसको के नै अर्थ र ?’

उनी यत्तिकैमा रोकिइनन् र जसले रुसको डोपिङ प्रकरणको पर्दाफास गरे, त्यसको पनि खिल्ली उडाइन् । यस्तोमा उनी चर्को विवादमा पर्नु थियो नै । आखिरमा रुसले देशै लागेर आफ्ना खेलाडीलाई शक्तिबर्द्धक औषधि प्रयोग गर्न लगाएको थियो ।

समलैंगिकताबारे पनि उनी आफ्नो विवादास्पद धारणा राख्ने गर्छिन् । सन् २०१४ को सोची ओलम्पिकअगाडि उनले भनेकी थिइन्, ‘हामीले आफूलाई सामान्य मानिस मान्नुपर्छ जहाँ लोग्नेमानिस र स्वास्नीमानिससँग हुने गर्छ अनि युवायुवतीसँग, किशोरकिशोरीसँग ।’ पछि धेरै विवाद भएपछि उनले आफ्नो भनाइको गलत अर्थ निकालिएको पनि भनिन् आफ्नो बचाउमा ।


प्रकाशित : जेष्ठ २५, २०७७ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×