कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बुबालाई गाउँ त फर्काएँ, घर पुर्‍याउन पाइनँ’

२५ वर्षपछि भारतबाट घर फर्केका ६५ वर्षीय गिठे बुढाको शुक्रबार क्वारेन्टाइनमा नै मृत्यु भयो । क्वारेन्टाइनमा न्यानो सुत्ने व्यवस्था, स्वास्थ्यकर्मी र स्वास्थ्य सुविधा भइदिएको भए बुबालाई गुमाउनु पर्दैन थियो कि भन्ने छोरा अमरलाई लागेको छ ।
वसन्तप्रताप सिंह

काठमाडौँ — बाजुराको खप्तड छेडेदह गाउँपालिका बुढाबाडाका ६५ वर्षीय गिठे बुढाले २५ वर्ष लामो प्रवास बसाइँपछि जेठ १६ गते थातथलो टेकेका थिए । उनी क्वारेन्टाइनमा १४ दिन कटाएर घर जाने तयारीमा थिए । पुराना दौंतरीहरूसँग गफिने, नातिनातिना खेलाउने र जीवनका ४० वर्ष बिताएको माटोमा पुन: रमाउने योजना बुन्दै थिए  ।

उनी क्वारेन्टाइन बनाएको गाउँ नजिकैको स्कुलको डिलमा बसेर छोरा अमरलाई भन्थे, ‘आउन्याँ शुक्रबार त १४ दिन पुगिझान्याँ हुन् । अँथा (अनि) घर बाइझाउँला (गई हालाैँला) ।’

उनको जिन्दगीमा त्यो शुक्रबार आउन पाएन । उनको शनिबार बिहान क्वारेन्टाइनमै मृत्यु भयो । गाउँकै मस्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा छोराको हातबाट दुई टुक्रा बिस्कुट र चिया पिएर उनले अन्तिम सास फेरे । उनको मृत्युसँगै बुबाको सेवा गर्ने, उनलाई नातिनातिनासँग खेलेको हेर्ने र सबैको अगाडि आफूलाई बुबाले छोरा भनेर बोलाएको सुन्ने अमरको वर्षाैंयताको सपना पनि मरेको छ ।

२५ वर्षअघि बुबाले छोडेर जाँदा अमर ६ वर्षका थिए । चार छोराछोरी र श्रीमतीको लुगाफाटो जोर्न भनेर कालापहाड छिरेका उनका बुबा गएको दुई वर्षमै आमाको रोपाइँका क्रममा गह्रामा लडेर मृत्यु भयो । त्यो खबरले विरक्तिएका उनका बुबा त्यसयता गाउँ फर्केका थिएनन् । आमाबुबाको अनुपस्थितिमा दुई जना दिदीले दु:खजिलो गरी हुर्काएका अमरले १० वर्षअघिमात्रै बुबा भारत उत्तराखण्डको चमौली जिल्लाको एउटा होटलमा काम गरिरहेको पत्ता लगाएका थिए । ‘बुबा जिउँदै छन् भन्ने थाहा पाएपछि म प्रत्येक वर्ष उहाँलाई भेट्न जान्थें । घर फर्किन अनुरोध गर्थे,’ अमरले भने, ‘सुरुका वर्षमा त जान्नँ भनेर जिद्दी गर्नुहुन्थ्यो । म सालसालै गएर घर जाउँ भनिरहें । यो पाला मान्नुभयो पनि । बुबालाई गाउँ त फर्काएँ, घर पुर्‍याउन पाइनँ ।’

छोराको आग्रहमा उनी जेठ १० गते भारतको अल्मोडादेखि झुलाघाट तीन दिन पैदलै हिँडेर आएका थिए । त्यहाँबाट गाडीमा आएका बुबाछोरा १६ गतेदेखि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनी दमका बिरामी थिए । क्वारेन्टाइनमा बसेदेखि उनको रोग बल्झिन थालेको थियो । सन्चो नभएको भन्दै शुक्रबार साँझ खाना नखाएर सुतेका उनले शनिबार बिहान ८ बजेतिर अमरलाई हातमुख धुन पानी तताउन लगाएका थिए । मुख धोइसकेपछि उनले चिया र दुई टुक्रा बिस्कुट पनि खाएका थिए । त्यसपछि भित्तामा अडेस लगाएर बसेका उनको त्यही अवस्थामा ज्यान गएको अमरले सुनाए ।

अमरलाई क्वारेन्टाइनमा न्यानो सुत्ने व्यवस्था, स्वास्थ्यकर्मी र स्वास्थ्य सुविधा भइदिएको भए आफूले बुबालाई गुमाउनु पर्दैन थियो कि भन्ने लागेको छ । ‘यहाँ आएपछि जाँच गर्न पनि कोही आएनन् । सिमेन्टको चिसो भुइँमा सुत्दा झन् गाह्रो भएको थियो । हिजै उहाँलाई जाँच गरेर दबाई गर्न पाएको भए बाँच्नु हुन्थ्यो कि ?’ उनले भने ।

दमका बिरामी गिठेको भुइँमा सुत्दा चिसो लागेर मृत्यु भएको उनका गाउँले खप्तड छेडेदह गाउँपालिका कार्यपालिका सदस्य भीम नेपालीको अनुमान छ । उनको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला धनगढीमा पठाएको छ ।

व्यवस्थापन ठीक नभएका कारण मानिसहरूले क्वारेन्टाइनमै ज्यान गुमाइरहेको भए पनि योभन्दा राम्रो व्यवस्थापन गर्न सम्भव नभएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर राउतको भनाइ छ । गाउँपालिकाभरिका २७ वटा क्वारेन्टाइनमा १ हजारभन्दा बढी जना रहेकाले उनीहरूको व्यवस्थापन गर्न समस्या भइरहेको उनले बताए । गाउँपालिकाभरिका करिब ७ हजारभन्दा बढी मानिस बाहिर रहेको र उनीहरू सबै घर फर्किरहेकाले क्वारेन्टाइन व्यवस्थापनमा सकस भइरहेको उनको भनाइ छ ।

यसअघि गतसाता बाजुराकै बुढीगंगा नगरपालिकाको धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी दुई वर्षीया बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा राखेकै दिन ज्यान गएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ २५, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?