२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा

'सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं । खासगरी अर्थमन्त्रीलाई भन्यौं । त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठेरो हामीले बुझेनौं । हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो । अर्थमन्त्री अग्लो हुनुहन्छ। अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो ।

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् । 

पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा

बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो । 'बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भुमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ ?,' सांसद थापाले भने, 'हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं । प्रधानमन्त्री त पुग्नुभयो !'

सांसदको हैसियत त्यसरी मन्त्रीको ढोकामा कुद्न थालेपछि बिग्रिएको थापाको भनाइ थियो । 'पहिलाको भन्दा स्थिति झन बिग्रीयो, जहिलेबाट हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष नाम दियौं । यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ । पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।'

सांसदहरूले आफ्नो हैसियत कायम गर्नका लागि त्यो रकम लिन्नौं भन्न सक्नुपर्ने थापाको आग्रह छ । उनले बजेट र मन्त्रालयगत विनियोजनमाथि सांसदहरू जति बोले पनि केही परिवर्तन नहुनुमा त्यसरी विकास बजेट माग्न जानु र स्थानीय पूर्वाधार साझेदारी कोषको नाममा रकम लिनु रहेको बताए ।

'यसलाई बदल्ने कुरामा सांसदले गुनासो र गनगन गरेर मात्रै हुँदेन । हामी साच्चिकै यसलाई बदल्न चाहन्छौ भने हामीले हस्तक्षेप गर्नका निम्ती केही अभ्यास बदल्नु छ । केही कानुन बदल्नु छ र त्यसको प्रारम्भ हामी वडाध्यक्ष होइन विधायक भएर गरौं । यो कोषलाई बजेटबाट हटाउनका निम्ती सरकारलाई भन्छौं भनेर त्यहाबाट सुरु गर्नुपर्छ,' थापाले आग्रह गरे ।

सांसदहरूले सर्वसाधारण जनताका कुरा उठाउँदा अर्थमन्त्री युवराज खतिवडाले नसुनेको सांसद थापाको भनाइ थियो । उनले भने, 'सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं । खासगरी अर्थमन्त्रीलाई भन्यौं । त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठेरो हामीले बुझेनौं । हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो । अर्थमन्त्री अग्लो हुनुहन्छ। अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो । पीडा उहाँको पनि बुझिदिनुपर्छ,' उनले भने ।

प्रकाशित : जेष्ठ २४, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?