कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

एन्फाबाट रकम लिएको आरोपबारे खेलकुदमन्त्रीको प्रष्टोक्ति : बुझाइ गलत भयो

कुशल तिमल्सिना

काठमाडौँ — प्रतिनिधि सभाको बैठकमा आगमी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा शुक्रबार सांसद प्रदीप यादवले लगाएको आरोपको खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खन्डन गरेका छन् ।

एन्फाबाट रकम लिएको आरोपबारे खेलकुदमन्त्रीको प्रष्टोक्ति : बुझाइ गलत भयो

बैठकमा समय लिएर बोलेका पर्साका सांसद यादवले तराइमा राष्ट्रियताको अभाव रहेको भन्‍ने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको विरोध गर्ने क्रममा खेलकुदमन्त्रीले नै एन्फाबाट रकम लिएको अर्को विवादित अभिव्यक्ति दिएका थिए ।

'आफ्‍नो कार्यकालमा कुनै पनि अनियमितताको दाग नलागि नमुना हुने गरी काम गरिरहेको छु,' कान्तिपुरसँग कुरा गर्दै मन्त्री विश्वकर्माले भने,'संसदजस्तो गरिमामय सदनमा माननीय प्रदीप यादव ज्यूले एन्फाको १७ करोडको योजना मेरो निर्वाचन क्षेत्रमा परेकोप्रति असन्तुष्टी जनाउनुभएको भन्ने मैले बुझेको छु । उहाँको बोलाइको तात्पर्य यदी त्यसो होइन भने आरोप पुष्टि गर्न चुनौति दिन्छु ।'

मन्त्री विश्वकर्माले देशको सुशासन र आर्थिक पारदर्शिताका सवालमा आफ्‍नो कार्यशैली प्रष्ट रहेको बताएका छन् । 'एन्फाको हालैको कार्यसमितिको बैठकले मेरो निर्वाचन क्षेत्रमा पर्ने गरी एन्फा एकेडेमी सञ्‍चालनका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ,' उनले थपे, 'यसैमा गलत बुझाइ भयो जस्तो छ ।'

एन्फाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भेडागाउँमा एन्फा एकेडेमी सञ्‍चालनका लागि यस वर्षदेखि रकम विनियोजन गरेको हो । 'कास्की फुटबलको उर्वर भूमि भएकाले नयाँ प्रतिभा उत्पादनका लागि एकेडेमी सञ्‍चालन गर्ने निर्णय गरेका हौं,' सांसद यादवले एन्फाले खेलकुद मन्त्रीलाई रकम दिएको भनाइप्रति असन्तुष्टि जनाउँदै एन्फा महासचिव इन्द्रमान तुलाधरले कान्तिपुरसँग भने, 'मन्त्रीज्यूको क्षेत्र भएकाले त्यहाँ पूर्वाधार बनाउन लागिएको होइन,आवश्यकताका आधारमा हो ।'

केहि दिनअघि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एउटा वेव पोर्टलसँगको कुराकानीमा तराई क्षेत्रमा राष्ट्रियताको कमी रहेको बताएका थिए । शेर्पाको भनाइको विरोध गर्ने क्रममा शुक्रबारको बैठकमा सांसद यादवले मन्त्रीलाई विवादमा ल्याउने गरी अभिव्यक्ति दिएका हुन् ।

'मैले के सुनिरहेको छु भने एन्फाले माननीय खेलकुदमन्त्रीलाई धेरै माया गरेको छ । उहाँले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ,’ संसद बैठकमा समय लिएर बोल्ने क्रममा यादवले भनेका थिए, ‘केही दिनअघि एन्फा अध्यक्ष कर्मा शेर्पाले मधेसीलाई राष्ट्रियता आउँदैन भन्‍नुभएको छ । उहाँले कसको ताकतमा हामीलाई राष्ट्रियता सिकाएको ? पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा भन्नुभएको होला ।’

आफ्‍नो विवादित अभिव्यक्तिबारे एन्फा अध्यक्ष शेर्पाले बुधबार नै विज्ञप्ति जारी गरी क्षामा याचना गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्ः

खेलकुदमन्त्रीले एन्फाबाट रकम लिएको सांसदको आरोप

प्रकाशित : जेष्ठ २३, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?