कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुम्बाराहीको ह्याम्स अस्पतालमा भेटिए दुई स‌ंक्रमित, एकको आईसीयूमा उपचार हुँदै

अस्पताल भन्छ– ‘हामी आफ्नो धर्म छोड्दैनौं, यही उपचार गर्न तयार छौं’
अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार नै उपचार गरेकोले कुनै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन : डा. ज्योतिन्द्र शर्मा
स्वरूप आचार्य

काठमाडौँ — काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउन आएका मध्ये दुईजनामा कोरोनाको संक्रमण रहेको शुक्रबार पुष्टि भएको छ । अस्पतालमा उपचार गराउन आएका मध्ये एकजना अहिले पनि त्यहाँ उपचाररत नै छन् भने अर्का एक बिरामीलाई भने स्वाब लिएर डिस्चार्ज गरिएको थियो ।

धुम्बाराहीको ह्याम्स अस्पतालमा भेटिए दुई स‌ंक्रमित, एकको आईसीयूमा उपचार हुँदै

कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार केही दिन अघि अस्पतालको इमर्जेन्सीमा उपचारका लागि गुल्मीबाट आएका ७६ वर्षीय बिरामी तथा हाल आईसीयूमा नै उपचाररत पोखराबाट हेलीरेस्क्यू गरेर ल्याइएका अर्का एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनका अनुसार इमर्जेन्सीमा आएका व्यक्ति उपत्यका बाहिरबाट आएकाले स्वाब लिएर परीक्षणका लागि पठाइएको थियो । तर, उनलाई सोही दिन इमर्जेन्सी कक्षमा नै उपचार गरि रिपोर्ट नआएसम्मका लागि आइसोलेटेड भएर बस्न सल्लाह दिई घर पठाइएको थियो । अर्का बिरामीको भने अहिले पनि आईसीयूमा राखेर उपचार भइरहेको छ । ती बिरामीको थप उपचार भने ह्याम्स अस्पतालमा नै गरिने उनले स्पष्ट पारे ।

उनलाई मंगलबार पोखराबाट हेलीरेस्क्यू गरि त्यहाँ ल्याइएको थियो । डा. शर्माका अनुसार ती बिरामीलाई कोरोनाको कारण नभई अन्य समस्याका कारण सुरुमा भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको थियो । तर, हाल भने ती बिरामीलाई भेन्टिलेटरबाट बाहिर निकालिसकिएको पनि डा. शर्माले जानकारी दिए ।

‘हामी आफ्नो धर्म छोड्दैनौं । हामीलाई यही अस्पतालमा राखेर उपचार गर्न कुनै कठिनाई छैन । किनभने हामीले चार दिनदेखि त ती बिरामीको रेखदेख गरिरहेकै थियौं,’ उनले भने, ‘हाम्रो आईसीयू भित्र हरेक बेडका लागि छुट्टै कोठा छ, त्यसको भेन्टिलेसन पनि छुट्टै छ । र, हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सबै मापदण्डको पालना गरेकोले दुवै बिरामीको उपचारमा संलग्न कुनैपनि चिकित्सक क्वारेन्टाइनमा जानुपर्ने अवस्था छैन ।’

डा. शर्माका अनुसार बिरामीका आफन्तले ह्याम्समा नै उपचार गराउने निधो गरेकाले सोही अनुरुप इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई जानकारी गराइएको बताए । ‘बिरामीको आफन्तसँग सबैकुरा छलफल गरेर यही उपचार गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘त्यही कुरा ईडीसीडीलाई पनि जानकारी दिइएको हो ।’

उनका अनुसार अस्पतालले बनाएको प्रोटोकल सबै स्टाफले पूर्णरुपमा पालना गरेका कारण हालसम्म दुवैजना बिरामीको उपचारका खटिएका कुनैपनि चिकित्सक संक्रमितहरुसँग असुरक्षित सम्पर्कमा नआएको देखिएको हो ।

‘हाम्रा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सुझबुझ पूर्ण तरिकाले सबै प्रोटोकल फलो गरेकोले कोही पनि एक्स्पोज्ड भएको देखिएको छैन,’ उनले भने, ‘तैपनि हामी सुक्ष्मरुपले सबैकुराको विश्लेषण गरिरहेका छौं ।’

डा. शर्माका अनुसार कोभिड–१९ रोगको चाहिनेभन्दा बढी मात्रामा नकारात्मक प्रचार भएकैले अहिले बिरामी, उनीहरुको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आममानिस सशंकित बनेका हुन् ।

सावधान रहे यो रोगबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘हामीले सावधानी अप्नायौं भने कोही पनि असुरक्षित हुँदैनन् भन्ने यी दुई केसबाट देखिएको छ । किनभने, हाम्रो अस्पतालमा कार्यरत कसैलाई पनि क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने देखिएको छैन ।’

प्रकाशित : जेष्ठ २३, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?