नेकपा सांसद सत्गौवाको अभिव्यक्तिप्रति राजपा-समाजवादीका सांसदको आक्रोश

'हेटस्पिच' दिएको भन्दै कारबाही गर्न सरकारसँग माग

काठमाडौँ — नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको विषयमा संसदको जेठ १९ गतेको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राजपा र समाजवादीले आपत्ति जनाएका छन् । सांसद चौधरीको भनाइले समाजमा घृणा फैलाउने (हेटस्पिच) भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउन सांसद गिरी र राजपाकी सांसद अमृतादेवी अग्रहरीले माग गरेका छन् । 

नेकपा सांसद सत्गौवाको अभिव्यक्तिप्रति राजपा-समाजवादीका सांसदको आक्रोश

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकमा नेकपाकी सांसद सत्गौवाले 'भारतीय चेलीहरूको दादागिरी संसदमा पनि भएको' बताएकी थिइन् ।

सांसद गिरीले आफू उक्त दिन संसदमा अनुपस्थित रहेको भन्दै शुक्रबारको बैठकमा सत्गौवाको उक्त भनाइ 'हेटस्पिच' भएको भन्दै कानुनी कारबाहीका लागि गृहमन्त्रालय र सरकारसँग माग गरेकी छन् । संसदको मर्यादामाथि नै सांसद सत्गौवाले आक्रमण गरेको गिरीको भनाइ थियो ।

आफूले नेपाल र भारतबीच कालापानी क्षेत्रलाई लिएर बोलेको कुराबारे मिडियामा प्रायोजित समाचार आएको र त्यसकै आधारमा सांसद सत्गौवाले धारणा राखेको गिरीको भनाइ थियो । उनले भनिन्, 'सांसद भएर मिडियामा प्रायोजित भएर आएका समाचारमा आधारित भएर भनाइ राख्ने ? मैले सीमा समस्याबारे भारत र चीनसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएको थिए तर मिडियाले त्यसलाई तोडमोड गरेर प्रस्तुत गर्‍यो ।'

सांसद गिरीले संसद बैठकमा कालापानी क्षेत्रलाई नक्सामा राखेर समस्या समाधान नहुने र उक्त नक्सा प्रकाशित गर्नु पहिले भारत र चीनसँग छलफल नगरेकोमा सरकारको आलोचना गरेकी थिइन् ।

सांसद गिरीले नेकपा सांसद कतै चीनबाट परिचालित त होइनन् भनेर आरोप लगाएकी छन् । उनले सत्गौवाका श्रीमानले दाङमा चुनावका क्रममा चीनले दिएको भारतीय रूपैयाँ बाँडेको आरोप लगाएकी छन् । 'दाङको स्थानीय चुनावमा उहाँका श्रीमानले भारु बाँडेका थिए । पछि स्थानीयले पक्राउ गर्दा चीनले दिएको रकम भएको पत्ता लाग्यो । कतै उहाँ उत्तरी छिमेकी चीनबाट परिचालित त होइन ?'

राजपा सांसद अमृतादेवी अग्रहरीले नेकपा सांसद गंगा चौधरीले संसदमा माफी माग्नुपर्ने माग गरिन् । भारतीय चेली नेपाली कानुनको पालना गरेर र कानुनी प्रक्रिया पूरा गरेर सांसद बनेको भन्दै उनले मधेसी नागरिकलाई भारतीय नदेख्न आग्रह गरिन् ।

राष्ट्रवादका ठूला कुरा नगर्न पनि उनले नेकपाका संसदहरूलाई आग्रह गरेकी थिइन् । उनले मधेसीले नै नेपाल जोगाएको धारणा राखेकी थिइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो नक्सामा राख्दैमा भूमि फिर्ता नआउने पनि बताइन् । 'कागजको टुक्रामा कोर्दैमा नेपालको जग्गा फिर्ता आउनेवाला छैन । नैनिताल, हरिद्वार, खटिमा वा पिथौरागढ जुन कोरे पनि नेपाललाई मिल्ने छैन,' उनले भनिन्, 'त्यस्तै, भारतले काठमाडौं र पोखरा आफ्नो नक्सामा कोर्दैमा उसले पाउने छैन ।' उनले पहाडी शासकहरूले कालापानी क्षेत्र भारतलाई बेचेको पनि आरोप लगाइन् । उनले भनिन्, 'जग्गा बेचेर नौटंकी गर्दैमा जग्गा फिर्ता आउँदैन ।'

राजपा र समाजवादीका सांसदहरूले आफ्नो सिटबाट उभिएर संसद अवरुद्ध गर्न खोजेपछि सभामुख अग्निप्रसाद सापकोटाले भने सांसद सत्गौवाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने कि नहटाउने भन्ने निर्णय पछि लिने भन्दै संसद अवरुद्ध नगर्न आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ २३, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?