रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

काठमाडौँ — रुकुमको चौरहजारीमा भएको ६ जना युवाको हत्याको विषयमा छानविन गर्न संसदले विशेष समिति बनाउने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समिति बनाउने बताएका हुन् ।

रुकुम घटनाबारे संसदीय विशेष छानबिन समिति गठन हुने

जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । शुक्रबारको बैठकमा कांग्रेस संसदीय दलकी सचेतक पुष्षा भुषालले संसदीय समिति बनाएर छलफल गर्नुपर्ने माग गरेलगत्तै सभामुख सापकोटाले राजनीतिक दलहरुसँगको छलफलपछि समिति बनाउने बताएका हुन् ।

संसदीय समितिमा कसकसलाई राख्ने भन्ने राजनीतिक दलहरूसँग छलफलपछि टुंगो लगाउने सभामुख सापकोटाले बताए । प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम गएका थिए । रुकुम पश्चिम चौरहजारी नगरपालिका सोतीकी केटीको घर जाँदा केटीका परिवारले 'तल्लो जात'को भन्दै गाली गरेपछि फर्केका युवामाथि गाउँलेले झन्डै तीन किलोमिटर पर आएर हमला गरेका थिए । ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् ।

यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् । उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ । घटनामा संलग्न थप ८ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । कांग्रेसकी सचेतक पुष्पा भुसालले शुक्रबार पनि सरकारी समितिमा संसदले विश्वास गर्न नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेकी थिइन् ।

त्यसपछि सभामुख सापकोटाले संसदीय छानबिन समिति गठनको घोषणा गरेका हुन् ।

प्रकाशित : जेष्ठ २३, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?