कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बाँदरमुढे घटनाको १५ वर्ष : घटनास्थलमा भेला भएर पीडित र घाइतेले दिए श्रद्धाञ्जली

रमेशकुमार पौडेल

चितवन — तत्कालिन माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका बेला माडी बाँदरमुढे खोलामा भएको बम विस्फोटको घटनाको १५ वर्ष पूरा भएको छ । यात्रुले खचाखच भएको बसलाई लक्षित गरी माओवादीले गराएको विस्फोटमा परेर २०६२ सालको जेठ २३ गते बिहान आठ बजेतिर घटनास्थलमै स–साना बालबालिकासमेत गरेर ३८ जनाको ज्यान गएको थियो । ७२ जना घाइते भएका थिए ।

बाँदरमुढे घटनाको १५ वर्ष : घटनास्थलमा भेला भएर पीडित र घाइतेले दिए श्रद्धाञ्जली

लकडाउनको अफ्ठ्यारो र कोरोना भाइरसको त्रास भए पनि उक्त घटनाको सम्झनामा शुक्रबार बाँदरमुढे खोलामा बनेको स्मारकमा घटनामा आफन्त गुमाएका र घाइते भएका माडीवासीहरु भेला भएर श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘लकडाउनका कारण धेरै हैन १५/२० जना भेला भएर दियो र अगरबत्ती बाल्यौं, फूल चढाएर घटनाको स्मरण र मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्‍यौं’ सो घटनामा घाइते भएका कृष्ण अधिकारीले भने ।

माडीकै बासिन्दा अधिकारी बाँदरमुढे घटना पिडित समितिका उपाध्यक्ष हुन् । घटना भएको लामो समय हुँदा पनि पिडितले न्याय नपाएको र अवस्था दयनीय भए पनि सरसहयोग नपाएको गुनासो उनले गर्दै आएका छन् । विष्फोट लगत्तै माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले उक्त घटना ‘जनयुद्धकाल कै सबैभन्दा दुखद’ भएको प्रतिकृया दिँदै क्षमा मागेका थिए ।

अनुकुल समयमा माडीमै गएर पिडितसँग माफी माग्ने दाहालले उही बेलै वाचा गरेका थिए । तर अहिलेसम्म यो वाचा पूरा नभएको पिडितहरुको भनाइ रहँदै आएको छ । माडी चितवन क्षेत्र नम्बर तीन अन्तर्गत पर्दछ । सोही क्षेत्रबाट पुष्पकमल दाहाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित पनि भएका छन् । तत्कालिन माओवादीका नेता ठाकुर ढकाल माडी नगरपालिकाको मेयर नै निर्वाचित भएका छन् ।

यी सबै हुँदा पनि आफूहरुको माग पूरा नभएको उपाध्यक्ष अधिकारीको भनाइ छ । प्रतिनिधि सभा सदस्यको उम्मेद्वार भएपछि मतदानअघि दाहालले घटनाबाट प्रभावित केही व्यक्तिहरुसँग तीन बुँदे सहमति गरेका थिए । जसमा मृतकका आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार वा स्वरोजगार, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाका लागि पठन पाठनको व्यवस्था हुने उल्लेख छ ।

त्यसैगरी घाइतेका लागि उपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार वा स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्ति दिने दाहाल र पिडितबीच सहमति भएको थियो । घटनास्थल बाँदरमुढेमा १० विघा क्षेत्रफलमा स्मारक, नमुना संग्राहालय र चिडियाघर निर्माण गरेर उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनेसम्मको सहमति दाहाल र पिडितहरुबीच भएको थियो ।

दाहालले पिडितसँग सहमति गर्दा संस्थागत रुपमा नभएर केही व्यक्तिहरुबीच गरेका थिए । तर सहमति कार्यन्वयनका लागि भनेर बनेको सहयोग समितिमा बाँदरमुढे घटना पिडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपाने पनि सामेल भएका थिए । दाहालसँग भएका कुनै पनि सहमति कार्यन्वयनमा नआएको अध्यक्ष न्यौपानेको भनाइ छ । घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाही हुनु पर्ने आफूहरुको अडान पनि कायमै रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?