कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्षलाई अभद्र व्यवहारमा मुद्दा

वडाध्यक्ष केसीले यसअघि पनि प्रहरीमाथि हातपात गरेका थिए, प्रहरीले माफी मगाएर छोडेको थियो
हरि गौतम

रुकुम पश्चिम — प्रहरी चौकीमा आक्रमण गर्ने मुसीकोट नगरपालिका–१३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा लगाएको छ ।स्थानीयलाई साथमा लिएर उनले प्रहरीमाथि कुटपिट र चौकीमै आक्रमण गरेका थिए ।

प्रहरी चौकी आक्रमण गर्ने वडाध्यक्षलाई अभद्र व्यवहारमा मुद्दा

मंगलबार साँझ करिब ८ बजे प्रहरीले खाना खाइरहेको अवस्थामा वडाध्यक्ष केसी नेतृत्वको टोलीले प्रहरी पोष्टमा तोडफोड गरी क्षति पुर्‍याएको थियो । उनीसहित २० देखि २५ जनाको युवा समूहले ढुंगामुढा गर्दै प्रहरी पोष्ट तोडफोड गर्दा फर्निचर, चेकजाँचका लागि बनाइएको पोष्टमा क्षति पुगेको छ ।

प्रहरीले वडाध्यक्षसहित राजन केसी, खिलराज गिरी र टेकबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकीमै आक्रमण गरे पनि प्रमुख जिल्ला अधिकारीको इजलासले हेर्ने अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा चलाइएपछि पीडित प्रहरी नै असन्तुष्ट रहेका एक प्रहरीले बताए ।

वडाध्यक्ष केसीलाई प्रहरीले पक्रेको पहिलो पटक होइन । यसअघि पनि विभिन्‍न घटनामा उनी पक्राउ परेका थिए । गत पुस २८ गते वडाध्यक्ष केसीलाई प्रहरीले पक्रेको थियो । उतिबेला ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा पक्राउ परे पनि माफी मागेपछि छाडिएको थियो ।

उतिबेला उनी एक रात हिरासतमा बसेका थिए । ‘मदिरा सेवन गरेर मुख छोड्दै हातपात गरिएपछि पक्राउ गरिएको थियो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले भने, ‘अहिले उनको व्यवहार झन् उत्तेजक देखिएपछि मुद्दा चलाएका हौं ।’ उतिबेला जनप्रतिधि भन्दै माफी मगाएर छाडिएको उनले बताए ।

नयाँ फौजदारी संहिताअनुसार अभद्र व्यवहारसम्बन्धी कसुर भनेको सार्वजनिक मुद्दा हो । कसूर पुष्टि भएमा १ वर्ष कैद सजाय वा १० हजार जरिवाना वा दुवै सजाय र क्षतिपूर्ति भराउने व्यवस्था छ ।

तोडफोड गरिएको प्रहरी पोष्टमा सबै प्रहरी नयाँ पठाइएको छ । प्रहरीमा मनोवैज्ञानिक त्रास हुने भएपछि अस्थायी प्रहरी पोष्टको सबै जनशक्ति नयाँ पठाइएको डीएसपी केसीले बताए । यसअघि उक्त पोष्टमा खटिएकालाई उनीहरुले रोजेकै क्षेत्रमा पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले अपराध गर्ने कसैलाई पछि छुट नहुने बताए । अपराध गरेको आरोप पुष्टि भएपछि कानून बमोजिम कारबाहीका लागि लचकता र व्यवहारिकता नहेरिने प्रजिअ पौड्यालको भनाइ छ ।

यो पनि पढ्नुहोस्ः

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

प्रकाशित : जेष्ठ २२, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?