एकीकरण प्रक्रियालाई पूर्णता दिन राजपा र समाजवादीपार्टीका नेताहरु गृहकार्यमा


काठमाडौँ — समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको एकीकरण प्रक्रियालाई पूर्णता दिन दुवै पक्षका नेताहरु गृहकार्यमा जुटेका छन् । बैशाख १० गते राति दुई पार्टीबीच एकीकरणमा सैद्धान्तिक सहमति जुटेपछि नयाँ बनेको जनता समाजवादी दर्ताका लागि नेताहरुले बैशाख ११ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्रै सबै कागजाताहरू बुझाउनुपर्ने कानुनी व्यवस्था छ । ४५ दिनको अवधि शुक्रबार सकिँदै छ । सोही अवधिभित्र एकीकरणका सबै काम टुंगाउने र दल दर्ताको प्रक्रिया पूरा गर्न नेताहरु गृहकार्यमा जुटेको समाजवादी पार्टीका नेता नवराज सुवेदीले बताए ।
‘दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ४५ दिनको अवधि भोली पुग्दैछ । यही अवधिमा एकीकरणका काम टुंगाउने र दल दर्ता गराउने गरी नेतृत्वहरु आज पनि गृहकार्यमा जुटिरहनु भएको छ,’ नेता सुवेदीले भने ।
दल दर्ताका लागि दुवै पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय, एकताको सहमति, पार्टीको विधान, नियमावली, घोषणापत्र, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको नामसहितको दस्ताबेज आयोगमा बुझाउनु पर्ने हुन्छ । त्यसपछि मात्रै आयोगले दल दर्ता प्रक्रिया अगाडि बढाउँछ ।
तत्कालीन समाजवादीका तर्फबाट नवराज सुवेदी र राजेन्द्र श्रेष्ठ तथा राजपाबाट लक्ष्मणकाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेको समितिले घोषणा पत्र र विधानको मस्यौदा तयार गरेर शीर्ष नेतृत्वलाई बुझाईसकेको छ । नेता व्यवस्थापनको विषय नमिले पनि पार्टीको घोषणापत्र र विधानको मस्यौदा तयार गरेर नेतृत्वलाई बुझाएको नेता सुवेदीले बताए ।
‘नेतृत्व व्यवस्थापन, कमिटीहरुको संख्या कत्रो बनाउने, पार्टीको शीर्ष नेतृत्वलाई के भन्नेलगायतका विषयमा सहमति जुटिसकेको छैन,’ नेता सुवेदीले भने, ‘यिनै विषयकै वरपर र दुवै पार्टीका शिर्ष नेताहरुले छलफल गरिरहनु भएको छ । हामीले सकेसम्म छिटै समाधान गर्नुस् भनेका छौं । के गर्नुहुन्छ हेरौं ।’
अहिले दुवै पार्टीमा गरी करिब एक दर्जन नेतृत्व तहका नेता छन् । उनीहरूको पदीय बाँडफाँट र जिम्मेवारी नै मुख्य समस्या बनेको हो ।
प्रकाशित : जेष्ठ २२, २०७७ १७:३३