क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार- समाचार - कान्तिपुर समाचार

क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

'मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु' भनेपछि घिमिरेलाई अर्को क्वारेन्टाइनमा सारिएको छ ।
वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन् । मालारानी गाउँपालिका–४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।

वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

'दलितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,' वडाध्यक्ष पोखरेलले भने, 'क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।'

दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । 'एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,' उनले भनिन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाका ४५ वर्षीय पुरुषको कोरोनाले मृत्यु, मृतकको संख्या १० पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्‍वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×