१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

महानिर्देशक श्रेष्ठसहित ६ उच्च अधिकारीको सरुवा

कान्तिपुर संवाददता

काठमाडौँ — कोरोनाको उपचार सामग्री खरिदमा विवादमा पर्दै आएको स्वास्थ्य मन्त्रालयले लकडाउनकै क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसहित ६ उच्च अधिकारीको सरुवा गरेको छ ।

महानिर्देशक श्रेष्ठसहित ६ उच्च अधिकारीको सरुवा

स्वास्थ्य सामग्री खरिदकाबीच स्वास्थ्य सचिव यादव कोइराला सरुवा भएको एक सातामै विभागका महानिर्देशक श्रेष्ठसहित ६ जनासमेत हेरफेरमा परेका हुन् । श्रेष्ठसमेत महानिर्देशक भएको तीन महिनामै सरुवामा परेका हुन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्णयबाट विभागका महानिर्देशक श्रेष्ठलाई रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा काजमा पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानिएको छ ।

स्वास्थ्य सामग्री खरिद विवादमा परेका कारण विभागका महानिर्देशक श्रेष्ठ र आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डोटेललाई एकैचोटि सरुवा गरिएको दाबी मन्त्रालय स्रोतको छ ।

मन्त्रालयले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका प्रमुख डा. रमेश खरेललाई विभागको आपूर्ति व्यावस्थापन महाशाखाको निर्देशकमा सरुवा गरेको छ ।

मन्त्रालयले परोपकार प्रसूति गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई समेत मन्त्रालयमा तानेको छ । प्रसूति गृहको निर्देशकको जिम्मेवारी डा. संगीता कौशललाई दिइएको जानकारी मन्त्रालयले दिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?