२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

हरि गौतम

रुकुम पश्चिम — सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए । सोती घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अझै फरार छन् ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ ।

६ जनाकै शव भेरी नदी र नदी किनारमा भेटिएको थियो । नवराजको शव १० गते नै राति भेटिएको थियो भने गोविन्दको शव जेठ २० गते भेटिएको थियो । जाजरकोट भेरी नगरपालिका–४ का नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ की मल्ल थरकी १७ वर्षीया किशोरीसित प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा युवाहरुको हत्या भएको पीडित परिवारले बताएका छन् ।

तल्लो जातको केटासित आफ्नी छोरी नदिने भन्दै गाउँले युवाहरुमाथि आक्रमण गरेको र सोही क्रममा ६ जना युवाको ज्यान गएको पीडितका आफन्तले बताएका छन् । रुकुम पश्चिममा भएको उक्त घटनामा युवाहरु सबैको शव जाजरकोटतर्फको भेरी नदी किनारमा पाइएको थियो । पीडित परिवारले जाजरकोट प्रहरी मार्फत रुकुम पश्चिम प्रहरीमा उजुरी गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?