कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रुकुम घटनामा सरकारलाई नेकपाको ध्यानाकर्षण

'निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत देउ'

काठमाडौँ — ११ दिनपछि मुलुकको प्रमुख राजनीतिक शक्ति नेकपाले औपचारिक धारणा सार्वजनिक गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

रुकुम घटनामा सरकारलाई नेकपाको ध्यानाकर्षण

‘हालै रुकुम पश्चिममा घटित घटनाले हामी सबैलाई गम्भीर र चिन्तित तुल्याएको छ । हाम्रो पार्टी उक्त विभत्स, त्रासदीपूर्ण र आपराधिक कूकृत्यको घोर निन्दा र भर्त्सना गर्दछ । महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछ । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीहरूलाई कडाभन्दा कडा कारबाही र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

विज्ञप्तिमा संवैधानिक र कानुनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धिहरू हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटनाहरू देखापर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ । ‘यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धिहरूलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

छुवाछूत विरुद्धको राष्ट्रिय दिवसको अवसर पारेर नेकपाले विज्ञप्ति निकालेको हो । छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलंक भएको भन्दै नेकपाले सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन पार्टीले स्थापनाकालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर सङ्घर्ष गर्दै आएको दाबी गरिएको छ ।

मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कूप्रथालाई जरैदेखि निर्मूल गर्न नेकपा कृतः संकल्पित रहेको दाबी गर्दै विज्ञप्तिमा वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गरेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?