अग्रभागमा खटिएका कर्मचारीको सुरक्षामा प्रभावकारी कदम चाल्न ७७ वटै प्रशासनलाई गृहको परिपत्र

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)लाई निर्देशन दिएको छ ।

अग्रभागमा खटिएका कर्मचारीको सुरक्षामा प्रभावकारी कदम चाल्न ७७ वटै प्रशासनलाई गृहको परिपत्र

बुधबार अपरान्ह गृह मन्त्रालयले विशेष परिपत्र गर्दै अग्रभागमा खटिएका राष्ट्रसेवक कर्मचारीको मनोवल गिर्ने गरी भएका सबै गतिविधि नियन्त्रण गर्न र यस्ता गतिविधिमा संलग्‍नलाई तत्काल पक्राउ गरी कारबाही गर्न पनि प्रजिअहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । देशभरका क्वारेन्टाइनमा बसेका व्यक्तिबाट स्वास्थ्यकर्मिमाथि सांघातिक आक्रमणका घटना बढ्न थालेपछि गृहले पछिल्लो कदम चालेको हो ।

क्वारेन्टाइन सुरक्षा व्यवस्थापन र त्यहाँ खटिएका कर्मचारीको सुरक्षामा पनि विशेष रणनीत अपनाउन समेत गृहले स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । सहप्रवक्ता अधिकारीले कान्तिपुरसँग भने, ‘संकटका बेला अग्रभागमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथी हातपात, कुटपिट, गालीगलौज गर्ने, कोठा भाडाबाट निकाल्ने, घरमै आउन नदिने जस्ता गैरकानुनी तथा अमानवीय गतिविधि भएका उजुरी तथा गुनासा आएपछि यसलाई कडाइका साथ नियन्त्रण गर्न र संलग्नमाथी कारबाही गर्न गृहले बुधबार प्रजिअहरुलाई विशेष सर्कुलर गरेर निर्देशन दिएको छ ।’

दुईदिन अघि मात्रै डोटीको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरलाई स्थानीले कुटपिट गरी घाइते बनाएका थिए । कुँवरको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अग्रभागमा खटिएका कर्मचारीमाथि हुनसक्ने आक्रमण, हमला, कुटपट तथा दुर्व्यवहारका घटनालाई मध्यनजर गरेर सोही अनुसार सुरक्षा प्रत्याभूति दिलाउन पनि प्रजिअहरुलाई निर्देशन दिइएको अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?