२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाँके दुर्घटना : घर नपुग्दै गुम्यो परिवार

बाँकेको राप्ती सोनारी–२ मा आइतबार राति भएको दुर्घटनामा दाङ, शान्तिनगरका पूर्णबहादुर पुनले श्रीमती र छोरासहित ज्यान गुमाए । बिरामी बुबालाई भेट्न हतारिएका उनीहरूको नयाँ घर बनाएर बस्ने सपना बाटैमा बिलायो ।

दाङ, बाँके — दाङको शान्तिनगर गाउँपालिका–३, पातेटाकुराका ३२ वर्षीय पूर्णबहादुर पुन आइतबार परिवारसहित घर फर्किंदै थिए । भारतको चण्डीगढबाट लामो संघर्षपछि सीमा क्षेत्रको भारतीय बजार रूपैडिया आइपुगे । त्यहाँबाट मुलुक प्रवेश गरे पनि घरसम्म आउने उपाय थिएन ।

बाँके दुर्घटना : घर नपुग्दै गुम्यो परिवार

विकल्पमा सँगै आएका व्यक्ति मिलेर गाडी रिजर्भ गरे । कोचाकोच गाडीमा परिवारै फर्किरहेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी–२ स्थित ठूरे जंगलमा भएको दुर्घटनामा २७ वर्षीया श्रीमती सीता र १० वर्षीय छोरा हिमांशुसहित पूर्णबहादुरले ज्यान गुमाए । घर पुगेर बिरामी बुबाको स्याहार गर्ने र नयाँ घर निर्माण गर्ने सपना बाटैमा बिलायो ।

‘बुबा गम्भीर बिरामी भएकाले भाइले फर्किन हतार गरेको थियो, बुबाले पनि फोन गरेर बोलाउनुभएको थियो,’ पूर्णबहादुरका जेठा दाजु भक्तबहादुरले भने, ‘बुबाको स्याहार गर्ने र घर बनाउने सल्लाह भएको थियो ।’ उनको एक तलाको घर जस्तापाताले छाएको छ । आमा तिलसरीले घरको रेखदेख गर्दै आएकी थिइन् । ‘टिन फालेर घर ढलान गर्ने योजना बनाएको थियो,’ भक्तले भने, ‘अब त्यो घरको के काम र † भाइको परिवारको कोही बचेन ।’

घटनापछि आमा अचेत छिन् । बुबा देवबहादुर राम्रोसँग कान सुन्दैनन्, लट्ठी नटेकी हिँड्न सक्दैनन् । उनी पनि बेसुरमै बर्बराइरहेका छन् ।

भारतको बरेली आइपुग्दा पूर्णबहादुरले घरमा फोन गरेर बाटोमा रहेको र बेलुकासम्म नेपालगन्ज आइपुग्ने जानकारी दिएका थिए । त्यसपछि उनीसँग सम्पर्क हुन पाएको थिएन । सोमबार बिहानैदेखि दुर्घटनाको समाचार फैलियो तर उनीहरू कता पुगे भन्ने केही खबर भएन । नेपालको सिमकार्ड नभएकाले बीचमा कसैसँग सम्पर्क हुन पाएन ।

नेपाल आएदेखि सम्पर्क नभएकाले दुर्घटनामा परेको यकिन गर्न पनि कठिन भयो । भारतबाट आएकालाई सिधै क्वारेन्टाइनमा राख्ने गरिएकाले सुरुमा शान्तिनगरस्थित क्वारेन्टाइनमा गएर खबर बुझेको उनले बताए । कतै, केही पत्ता नलागेपछि मृतकहरू चिन्न नेपालगन्ज दौडिएको भक्तबहादुरले बताए । ‘नेपालगन्ज आएर गाडी नपाए कतैबाट फोन गर्नु, एम्बुलेन्स पठाउँला भन्ने कुरा भएको थियो,’ उनले भने, ‘तर केही सम्पर्क भएन । दुर्घटनापछि हामी आत्तिएर नेपालगन्ज पुग्यौं । आफ्नै भाइका परिवारको लास देख्नुपर्‍यो ।’

पूर्णबहादुरका चार भाइमध्ये तीन जना लामो समयदेखि भारतको चण्डीगढमा बस्दै आएका थिए । घरमा भक्तबहादुर मात्रै थिए । पूर्णबहादुर कान्छा हुन् । माइला दाइ कुवेर र साहिँला खड्कबहादुर चण्डीगढमै छन् । घटनापछि उनीहरू पनि आउने तयारी गरिरहेका छन् ।

पूर्णबहादुर एक वर्षअघि एक्लै घर आएर फर्किएका थिए । उनका छोरा हिमांशु भारतमै चार कक्षामा पढ्थे । उनी भारतमा होटलमा काम गर्थे । पूर्णबहादुरले सानैदेखि भारतमै काम गरे पनि श्रीमती र छोरासहित बस्न थालेको तीन वर्ष भएको थियो । ‘कान्छाले अब घरमै बस्ने भनेको थियो । भारतमा सबै काम बन्द छ । खान–बस्न पनि गाह्रो भयो भनेको थियो,’ भक्तबहादुरले भने, ‘घरमा बाआमालाई पनि लामो समयपछि छोराबुहारी र नातिको मुख हेर्न मन लागेको थियो ।’

परिवारका तीनै जनाले ज्यान गुमाएपछि गाउँ शोकमग्न भएको छिमेकी डिलबहादुर केसीले बताए । ‘एउटा मिहिनेती परिवारको अन्त्य भएको छ । सबैलाई शोकाकुल बनाएर गए,’ उनले भने, ‘सानैदेखि भारतमा बसेका थिए । अब भारत छोडेर घरमै बस्छु भन्ने बेला यस्तो भयो ।’

दुर्घटनामा उनीहरूसहित १२ जनाको मृत्यु भएको छ । तीमध्ये दाङको राजपुर ६, गङ्दी खोलाका २४ वर्षीय रामकुमार पुन पनि परेका छन् । उनी पनि भारतको चण्डीगढमा रोजगारी गर्थे । वडा सदस्य सुरेन्द्र रोकाका अनुसार पाँच महिनाअघि मात्रै भारत गएका उनी लकडाउन लम्बिएपछि ज्यान पाल्न गाह्रो भएर घर फर्कंदै थिए । तीन दाजुभाइमध्ये उनी माहिला हुन् । दाजु र भाइ घरमै छन् । एक बहिनीको विवाह भइसकेको छ । रामकुमारले विवाह गरेका थिएनन् ।

‘ज्यान पाल्न गाह्रो भएपछि घर फर्कनुपर्‍यो भनेर फोन गरिरहन्थ्यो, नागरिकताको प्रमाण भएपछि फर्कन सजिलो हुन्छ भनेर केही दिनअघि मात्रै फोटोकपी पठाइदिएका थियौं,’ बुबा नरबहादुर पुनले भने, ‘कागज पाएपछि अब घर फर्कन पाइने भयो भनेर खुसी भएको थियो । भारतबाट हिँड्दा फोन गरेको थियो । त्यसपछि फोन हुनै नपाई गयो ।’ घरमा छोरा आउने आसमा बसेकी आमा रामसरी पुन अहिले बोल्न सकिरहेकी छैनन् । दुर्घटनामा दाङकै आठ जना घाइते भएका छन् ।

कमजोरी भयो : प्रशासन

लकडाउन कार्यान्वयन गराउन अधिकांश सुरक्षा जनशक्ति परिचालित भएका कारण जाँच गर्न नभ्याउँदा आइतबार रातिको दुर्घटना भएको निष्कर्ष बाँके जिल्ला प्रशासनले निकालेको छ । मंगलबार दुर्घटनाको समीक्षापछि प्रशासनले कमजोरी स्वीकार गरेको हो ।

पासबिनै सञ्चालन गर्न दिनु, सुर्खेतबाट आएको गाडीले बढी यात्रु बोकेर दाङ जानु र चालकले मदिरा सेवन गरेर चलाउनु गम्भीर लापरबाही भएको प्रशासनले जनाएको छ । प्रशासनले घटनाको छानबिन गर्ने जनाएको छ । ‘मदिरा खाएर चालकले गाडी चलाउँदा जाँच गर्न नसक्नुमा प्रहरी प्रशासनको केही कमजोरी देखिन्छ, उक्त घटनाको छानबिन हुन्छ,’ प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘त्यसबाट पाठ सिकेर व्यवस्थित तरिकाले घर पठाउन थालेका छौं ।’

क्षमताभन्दा दोब्बर यात्रु बोकेर दाङ गइरहेको गाडी आइतबार मध्यराति दुर्घटनामा परेको थियो । यात्रुका अनुसार चालकले मदिरा सेवन गरेका थिए । गाडी तीव्र गतिमा थियो । इलाका प्रहरी जमुनाहाका प्रमुख सई माधव रिजालले साना गाडीमा १५/१६ र ठूला बसमा ३५/४० जना राखेर पठाउने गरिएको दाबी गरे । चालकले बाटोमा यात्रु कोच्ने र बढी भाडा लिने गरेको गुनासो सुनिएको उनले बताए ।

भेरी यातायात व्यवसायी प्रालिका अध्यक्ष डेगनाथ गौतमले प्रशासनको संयोजनमा सीमाबाट सर्वसाधारण बोकिरहेको बताए । प्रशासनले पास उपलब्ध गराएका गाडीमा यात्रु ओसार्ने गरिएको उनले बताए । एकतर्फी भाडा लिँदा तेल खर्च नउठ्ने भएकाले दोब्बर भाडा असुल्ने गरिएको उनको तर्क छ । ‘बसपार्कबाट जाने गाडीमा व्यवस्थित तरिकाले बोक्ने गरिएको छ,’ उनले भने । उनका अनुसार आइतबार कोचाकोच यात्रु बोक्ने गाडीले प्रशासनबाट पास नलिई नाकामा गएको खुलेको छ । ‘पास नभएको गाडीलाई प्रशासनले यात्रु बोक्ने छुट किन दियो ?’ उनले भने, ‘सुर्खेतका यात्रु बोकेर जानुपर्ने गाडीलाई दाङ जान किन दिइयो ?’

सम्बन्धित समाचार

कोरोनाको डर थियो, दुर्घटनाले ज्यान लियो

प्रकाशित : जेष्ठ २१, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?