बुधबारदेखि व्यवसाय सञ्‍चालन गर्ने कैलाली उद्योग वाणिज्य संघको निर्णय

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिमको प्रमुख व्यापारिक सहर धनगढीमा उद्योग व्यवसायीले लकडाउनकै बीचमा बुधबारदेखि व्यापार/व्यवसाय सञ्‍चालन गर्ने भएका छन् ।

मंगलबार कैलाली उद्योग वाणिज्य संघमा भेला भएर उनीहरुले बुधबारदेखि व्यवसाय खोल्ने निर्णय गरेका हुन् । भेलाको निर्णयको जानकारीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले व्यवसायी धैर्य गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

लामो समयको लकडाउनबाट आक्रान्त बनेका व्यवसायीहरुले बुधबारदेखि स्वत:स्फूर्त आफ्नो व्यापार/व्यवसाय सञ्चालन गर्नेबारे स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएका हुन् । ‘बुधबारदेखि व्यवसायीले आफ्नो व्यवसाय पूर्णरुपमा खोल्ने तयारी गरेका छन्’, प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘त्यसपछिको सिर्जना हुने अवस्थाको संघ जिम्मेवार नभई सरकार जिम्मेवार हुनुपर्ने व्यहोरा जानकारी गराउँछौं ।’व्यवसायीले विश्व स्वास्थय संगठनले तोकेको सामाजिक दूरी र मास्क प्रयोग लगायतका मापदण्ड पालनाको सर्त पूरा गर्ने उल्लेख गरेका छन् ।

लकडाउन कडाईका साथ लम्ब्याउँदै जाँदा व्यववसायी मानसिक रोगी भई दुर्घटना हुने वातावरण सिर्जना हुन नदिन व्यवसाय सञ्चालनमा प्रशासनले सहजीकरण गरी सहयोग गर्न अनुरोध गरिएको छ ।‘व्यवसायीले घरबहाल, बैंक तथा वित्तीय संस्थाको व्याज, किस्ता र कर्मचारीलाई पाल्न सक्ने अवस्थामा छैन’ ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारले जेठ २५ गतेसम्म सरकारलाई तिर्नु पर्ने कर तिरिसक्नु पर्ने अन्यथा जरिवाना लाग्ने निर्देशनले पनि व्यवसायी अझ दबाबमा परेको छ ।’

यसैबीच मंगलबार लकडाउन उल्लंघन गरेको आरोपमा व्यापारीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । घटनापछि व्यापारीहरुले जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि गएर पक्राउ गरेकालाई रिहाई गर्न माग गरे । र, प्रहरीले रिहा गरेको थियो ।



प्रकाशित : जेष्ठ २०, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?