संक्रमण नभएकालाई पनि आइसोलेसनमा राखियो

अगन्धर तिवारी

पर्वत — कोरोना संक्रमण पुष्टि नभए पनि पर्वतका २ जनालाई कोरोना मंगलबार अस्पताल भर्ना गरिएको छ । गत बिहीबार सुनौली नाका हुँदै आएका ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरुसँगै आएका ती २ जनालाई पनि अस्पतालको आइसोलेसनमा राखिएको हो ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले रिपोर्ट नेगेटिभ आए पनि संक्रमितसँगै आएका र ६ दिनसम्म एउटै कोठामा बसेका कारण अस्पतालमा भर्ना गरिएको बताए । ‘उहाँहरुको रिपोर्ट नेगेटिभ आएको हो,’ उनले भने, ‘६ दिनसम्म सँगै बस्ने, सुत्ने, खाने गर्दा संक्रमणको जोखिम बढी हुने भएकाले लगिएको हो ।’ अस्पतालमा उनीहरुलाई संक्रमितबाट अलग्याएर राखिएको डा. देवकोटाले बताए । उनीहरु ठूलीपोखरी र महाशिलाका हुन् ।

बिहीबार आएका ३९ मध्ये १८ जनाको रिपोर्ट आइसकेको छैन । संक्रमितसँगै आएका तर फरक बसोबास भएकाहरुलाई भने स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । सोमबार साँझ संक्रमण पुष्टि भएकाहरुमा पनि कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

फलेबास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमध्ये फलेबासका ४० वर्षीय पुरुषमा सामान्य खोकीबाहेक अरुमा कुनै लक्षण नदेखिएको डा. देवकोटाले बताए ।


प्रकाशित : जेष्ठ २०, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?