रुकुमको सोती घटनामा बेपत्ता भएकाको १० दिनपछि शव भेटियो, मृतकको संख्या ६ पुग्यो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुमको सोती घटनामा बेपत्ता भएकाको १० दिनपछि शव भेटियो, मृतकको संख्या ६ पुग्यो 

भीमबहादुर सिंह

जाजरकोट — रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो । 

बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् । स्थानीय छवि पन्तले मुख र टाउकोमा कपडाले बाँधेको, आँखा फुटेको तथा हात र नाक भाँचिएको अवस्थामा शव फेला परेको बताए ।

जाजरकोटबाट साथी नवराज विककी प्रेमिका भगाउन रुकुम पश्चिमको चौरजहारी पुगेका उनीसहित १९ जना सोतीगाउँका स्थानीयको आक्रमणमा परेका थिए । घटनामा यसअघि ५ जनाको मृत्यु भइसकेको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले ८ नम्बर वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

को हुन् शाही ?

१९ वर्षीय शाही भेरी नगरपालिका–११, मटेलाका इन्द्रबहादुर र भीमा कुमारीका कान्छा छोरा हुन् । उनी शीतल मावि, चौरजहारीबाट यस वर्षको एसईई परीक्षामा सहभागी हुँदै थिए । उनका बुवा इन्द्रबहादुर जाजरकोट कारागारमा कैद भुक्तान गर्दै आएका छन् । गोविन्दले एसईई उत्तीर्ण गरेर वैदेशिक रोजगारमा जाने लक्ष्य राखेका थिए । गत शनिबार साथीलाई भेट्न र काफल खान जान्छु भनी उनी घरबाट हिँडेका थिए ।


प्रकाशित : जेष्ठ २०, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

क्वारेन्टाइन छाडेर निस्फिक्री घुमघाम

लकडाउनमा जाजरकाेट आएका ५ हजारकाे स्वाब संकलनसम्म भएकाे छैन
भीमबहादुर सिंह

जाजरकोट — जिल्लामा भारत र अन्यत्रबाट आएकाहरू निर्बाध भित्रिरहे पनि उनीहरूको स्वास्थ्य परीक्षण हुन सकेको छैन । होम क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएका उनीहरू गाउँगाउँ चहार्दा कोरोना संक्रमणको जोखिम बढेको छ । 

स्थानीय जीवन विक बाहिरबाट आएकाहरू जथाभाबी गाउँ पसिरहेको र लकडाउनसमेत पालना नभएको बताउँछन् । ‘जनप्रतिनिधिले उद्धारका नाममा भारतबाट फर्किएकालाई जथाभाबी सरकारी गाडीमा ओसारपसार गरिरहेका छन्,’ उनले भने, ‘अधिकांश गाउँमा भेला हुन, खोलामा माछा मार्न, सामूहिक कामकाज गर्न र गाउँ घुम्न छुट दिइएको छ ।’

अर्का स्थानीय प्रकाश शाहीले पनि भारतलगायत मुलुक र बाहिरी जिल्लाबाट आउनेले गाउँमा निर्बाध प्रवेश पाइरहेको बताए । ‘होम क्वारेन्टाइन बस्ने निहुँमा बाहिरबाट आएकाहरू जथाभाबी घुमफिर गरिरहेका छन्,’ उनले भने, ‘अधिकांश क्वारेन्टाइनमा बस्न नमान्दा र स्वास्थ्य परीक्षण नहुँदा संक्रमणको जोखिम बढेको छ ।’ स्थानीय तहले होम क्वारेन्टाइनमा रहेकाको निगरानी र स्वाब नमुना नमुना संकलनमा बेवास्ता गरिरहेको उनको आरोप छ ।

लकडाउनको अवधिमा पनि बाहिरबाट फर्कनेहरूको लर्को छ । ‘कतिपय चोर बाटोबाट घर पुगेका छन्,’ शाहीले भने, ‘बाहिरबाट फर्किएकाहरु परिवार र छरछिमेकमा घुलमिल भइसकेका छन् ।’

लकडाउनको अवधिमा ५ हजार व्यक्ति जिल्ला भित्रिएको प्रशासन कार्यालयको तथ्यांक छ । तीमध्ये भारतबाट २ सय ३० जना र खाडी मुलुकबाट १८ जना आएका छन् । प्रजिअ जनकराज पन्तका अनुसार ताप्लेजुङ र बागलुङबाट धेरै मानिस भित्रिएका थिए । ‘बाहिरबाट फर्किएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ,’ उनले भने, ‘संक्रमण फैलन नदिन गाउँगाउँमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरेका छौं ।’ जिल्लाभरि १ सय ३७ क्वारेन्टाइन निर्माण गरिए पनि सबै खाली रहेको उनले जानकारी दिए ।

स्वाब संकलनमै समस्या
अहिलेसम्म जिल्लाबाट कसैको पनि स्वाब परीक्षणका लागि पठाइएको छैन । भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम) नहुँदा संकलन गर्न नसकिएको हो ।

जिल्ला अस्पतालका डा. औसरसिंह राठौरले शंकास्पद बिरामी भेटिए स्वास्थ्य सेवा निर्देशनालयमा खबर गर्नेबाहेक अरू विकल्प नरहेको गुनासो गरे । ‘भीटीएममा संकलन गरिएको नमुनालाई ट्रिपल प्याक गरी कोल्ड चेन मेन्टेनसहित प्रयोगशालामा पठाउनुपर्छ,’ उनले भने, ‘तर हामीसँग त्यस्तो व्यवस्था छैन ।’ संक्रमण फैलिएको अवस्थामा नियन्त्रण गर्न सक्ने गरी पूर्वतयारी नभएको उनले बताए ।

५० शय्याको जिल्ला अस्पतालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण रोक्ने कुनै तयारी गरिएको छैन । ‘स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र ज्वरो नाप्ने आईआर थर्मोमिटर पाउन सकेका छैनन्,’ अस्पताल विकास समितिकी अध्यक्ष धर्मशिला बस्नेतले भनिन्, ‘पीपीई नहुँदा जोखिम भन्दै स्वास्थ्यकर्मीले सामान्य बिरामी पनि जाँच्न छोडे ।’ उनका अनुसार गर्खाकोट र दल्ली प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नआएको २ वर्ष बित्यो । जिल्लाभर ३३ स्वास्थ्य संस्था छन् । अधिकांशमा स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभाव छ ।

‘घरमै उपचार’
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको संक्रमण देखिए बिरामीलाई जहाँ छ त्यहीँ चिकित्सक पठाएर उपचार गरिने बताएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमन गर्न आइतबार उनीसहित प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी जाजरकोट पुगेका थिए ।

कर्णाली प्रदेशका सबै जिल्लामा मेडिकल सामग्री पठाइसकिएको मन्त्री रावलले बताए । ‘कोरोना प्रभावित क्षेत्रमा हेलिकप्टरको माध्यमबाट चिकित्सक र औषधि पुर्‍याएर बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीका लागि पीपीईलगायत उपकरण र थप चिकित्सकको व्यवस्था गर्न प्रदेश सरकाले आवश्यक प्रक्रिया सुरु गरिसकेको छ ।’

जहिल्यै त्रास
कुशे गाउँपालिका–५, ढिमेका हरिबहादुर नेपालीले १० वर्षअघिको झाडापखाला प्रकोपमा पत्नीसहित दुई छोराछोरी गुमाएका थिए । ‘अहिले फेरि कोरोनाको कुरा सुनिन्छ,’ उनले भने, ‘त्यो यहाँ आयो भने त फेरि मान्छेको विनाश हुने होला ।’

उनी मात्र होइन, सिंगो जाजरकोट महामारी भन्नेबित्तिकै झस्किने गर्छ । २०६६ को झाडापखालामा जिल्लामा करिब ३ सय जनाले ज्यान गुमाए । करिब ४० हजार व्यक्ति प्रभावित भए । त्यस्तै, २०७२ सालमा फैलिएको स्वाइनफ्लुले २७ जनाको मृत्यु भएको थियो भने करिब २० हजार जना बिरामी परेका थिए ।

झाडापखाला, मौसमी रुघाखोकीलगायत संक्रमण रोक्न हम्मे पर्ने जाजरकोटमा कोरोनाको संक्रमण फैलिए नियन्त्रण गर्न समस्या हुने स्वास्थ्यकर्मी बताउँछन् । २०६६ चैतमा बारेकोट गाउँपालिका–२, अयर्नाबाट सुरु भएको झाडापखालाको महामारी एक महिना नबित्दै जिल्लाभरि फैलिएको थियो ।

त्यस्तै, टालेगाउँस्थित मान्नेढुंगा माध्यमिक विद्यालय, परीक्षा केन्द्रबाट फैलिएको स्वाइनफ्लु पनि साविकका १३ गाविसमा फैलिएको थियो । दुवै संक्रमण नियन्त्रण गर्न सरकारलाई करिब ३ महिना लागेको थियो । महामारी नियन्त्रणका लागि ३ दर्जन विशेषज्ञसहित ३ सय स्वास्थ्यकर्मीलाई गाउँमा खटाइएको थियो भने सरकारले महामारी नियन्त्रणका लागि २१ करोड रुपैयाँ खर्चिएको थियो ।

प्रकाशित : चैत्र २७, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×