संविधान संशोधन विधेयक दर्ता गर्दै कांग्रेस सांसदहरु

यसले सरकारले ल्याएको नक्सा संशोधन विधेयकलाई केही फरक पार्दैन : सहमहामन्त्री

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । कांग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार विधेयक दर्ता गर्न लागिएको बताए ।

संविधान संशोधन विधेयक दर्ता गर्दै कांग्रेस सांसदहरु

संशोधन विधेयक दर्ताका लागि सिंह, चित्रलेखा यादव, अभिषेक कुमार सिंहलगायतका सांसदहरु संघीय संसद् सचिवालयमा पुगेका छन् । संशोधन विधेयकबारे सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’

यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्‍मा पेस भइसकेको छ ।

२०७४ को भदौमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा पेश गरेको विधेयकमा सीमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधत्वका विषय छन् । त्यतिबेला यो विधेयक मतदानबाट अस्वीकृत भएको थियो ।

यसले सरकारले ल्याएको नक्सा संशोधन विधेयकलाई केही फरक पार्दैन : सहमहामन्त्री

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले यो विधेयक दर्ता भए पनि यसले सरकारले दर्ता गरेको नक्सा संशोधनको विधेयकलाई कुनै असर नगर्ने बताए । 'पार्टी केन्द्रीय समितिले विधेयक दर्ता गराउनु भनेर संसदीय दललाई निर्देशन दिएको हो । आज संसदीय दलको निर्णय र निर्देशनमा विधेयक दर्ता गर्न खोजिएको हो कि मलाई थाहा छैन,' उनले कान्तिपुरसँग भने, 'तर, सत्तारुढ दलले यो विधेयकको पक्षमा मतदान गरे पनि विपक्षमा मतदान गरे पनि सरकारले ल्याएको अुनसूचिमा नक्सा संशोधन गर्ने विधेयकलाई यसले कुनै असर गर्दैन । कांग्रेसले जुनसुकै अवस्थामा पनि त्यो विधेयकको पक्षमा मतदान गर्छ ।'

सम्बन्धित समाचार

संविधान संशोधनमा राजपा-समाजवादीको ‘काउन्टर’

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेस

प्रकाशित : जेष्ठ २०, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?