कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

'रुकुम घटनामा न्यायलाई बिग्रिन दिइन्न'

रुकुम घटनाबारे मानवअधिकार समितिमा गृहमन्त्री, सचिव, आइजिपी र महान्यायाधिवक्ता 
जयसिंह महरा

काठमाडौँ — महान्यायाधिवक्ता अग्नि खरेलले ५ जनाको हत्या भएको र एकजना बेपत्ता रहेको रुकुम घटनामा न्याय गरिने बताएका छन् । संसदको कानून, न्याय तथा मानवअधिकार समितिमा बोल्दै खरेलले भने, 'यो मुद्दालाई बिग्रिन दिइन्नँ । एउटा ठूलो समुदायले यसमा हाम्रो कामको निगरानी गरिरहेको छ । न्यायको आशा गरिरहेका छन् । यसमा न्याय गरिन्छ ।' 

'रुकुम घटनामा न्यायलाई बिग्रिन दिइन्न'

उनले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्कार र हत्याको घटनातिर संकेत गर्दै केही घटनाहरु बिग्रिएर गएको भन्दै यो घटनामा त्यस्तो गर्न नदिइने बताए । उनले राजनीतिक वा अन्य प्रभावबाट अनुसन्धानलाई प्रभावित हुन नदिने पनि बताए । समितिको मंगलबारको बैठकमा दलित अधिकारकर्मीहरुलाई पनि बोलाइएको छ । खरेलले विगतमा छुवाछुतसम्बन्धि कानुनहरु बनाए पनि कार्यान्वयनमा चुक्दा यस्ता घटना भइरहेको बताए ।

समिति बैठकमा प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले घटनाको निष्पक्ष छानविन भइरहेको बताए । उनले गृह मन्त्रलायका सहसचिव नेतृत्वको एउटा टोली तथा सिआइबीको अर्को टोली र नेपालगञ्जबाट संघीय प्रहरीको अर्को टोली गरी तीनवटा टोली घटनाको अनुसन्धान र जाँचबुझमा खटिएको समितिलाई बताए । घटनामा २० जना विरुद्ध किटानी जाहेरी दर्ता भएकोमा २ जनामात्र पक्राउ पर्न बाँकी रहेको पनि उनले बताए । 'बेपत्ता एकजना युवाको खोजी पनि जारी छ,' उनले बताए ।

समितिमा गृहसचिव महेश्वर न्यौपानेले घटना जेजसरी भएको हो त्यसै अनुसार अभियोजन गर्ने तयारी रहेको बताए । उनले गृहको टोलीले पक्राउ परेकासँग बयान लिइसकेको र आज घटनामा घाइते भएका युवाहरुलाई घटनास्थलमा लगेर 'सिन रिक्रियट' गर्ने काम भइरहेको जानकारी गराएका थिए ।

समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित छन् । अहिले सांसदहरुले बोलिरहेका छन् । बैठकको अन्त्यमा थापाले जवाफ दिनेछन् ।

समितिका सभापति कृष्णभक्त पोखरेलले अहिलेको परिस्थितिमा जातीय विभेदविरुद्ध महाअभियान चलाउनु पर्ने बताए । 'रुकुमको घटना जातीय विभेद र मानवअधिकार उल्लंघनको निकृष्ट घटना हो। जातीय विभेदविरुद्ध महाअभियान अब नचलाउने हो भने हाम्रोमा पनि अमेरिकाकोजस्तो भयावह स्थिति आउन सक्छ,' सभापति पोखरेलले भने ।

प्रकाशित : जेष्ठ २०, २०७७ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?