एमसीसीविरुद्ध आन्दोलन गर्ने दस वाम पार्टीको चेतावनी- समाचार - कान्तिपुर समाचार

एमसीसीविरुद्ध आन्दोलन गर्ने दस वाम पार्टीको चेतावनी

एमसिसी पारित भए नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुने ठहर
कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न १० वामपन्थी पार्टीले एमसीसी खारेजीको माग गर्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । यी दलले सोमबार निकालेको संयुक्त विज्ञप्तिमा एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीतिसमेत समाप्त हुने दावी गरिएको छ । 

एमसीसी पास भए नेपाल अमेरिकाको सैन्य रणनीतिको अंग बन्न भन्दै उनीहरुले एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद भएको बताएका छन् । एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा बृहत्तर राष्ट्रिय हितविरुद्ध भएको ठहर गर्दै त्यसलाई खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

‘एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम हो । त्यो कुरालाई स्वयं अमेरिकाका विभिन्न सुरक्षा निकाय, मन्त्री तथा काठमाडौंस्थित अमेरिकी दूतावासले पनि सार्वजनिक रूपमा नै स्वीकार गरिसकेका छन् । त्यो अवस्थामा उक्त एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको कार्यक्रम होइन भन्ने नेपाल सरकारको दावी निराधार र हास्यास्पद छ । एमसीसीको उद्देश्य हिन्द प्रशान्त क्षेत्रका सबै देशहरूलाई आफ्नो सैन्य रणनीतिका पक्षमा लैजाने र चीनविरुद्धको मोर्चाबन्दीमा ती सबै देशहरूलाई सामेल गर्ने हो,’उनीहरुले विज्ञप्तीमा भनेका छन्, 'उक्त एमसीसी पारित भएमा त्यसबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच पुग्नुका साथै नेपालको असंलग्न परराष्ट्र नीति समाप्त हुनेछ र हाम्रो देश अमेरिकाको सैन्य रणनीतिको अंग बन्न पुग्नेछ ।'

विज्ञप्ति निकाल्नेमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी–माओवादी, सीपी मैनाली नेतृत्वको नेकपा माले, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्र, सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जनजागरण परिषद र केदारचन्द्र शर्मा नेतृत्वको नेकपा संयुक्त छन् । यस्तै नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदीले पनि यसमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्

राहत वितरणमा ठगी : चामल बोरामा ३ केजी कम

लकडाउनमा मजदुरका लागि वितरण गरिएको चामलमा घोटाला भएको भन्दै ६ राजनीतिक दलले छानबिनको माग गरेका छन् ।
राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका-१४ का वडाध्यक्ष जितलाल अधिकारी दनुवारले राहत वितरणका लागि वडामा आएको ३ सय २० बोरा चामलसहितको प्याकेज बुझे । चामलको बोरा उचालेपछि उनलाई शंका लाग्यो ।

नजिकै रहेको पसलमा बोरा तौलिए । २० किलो हुनुपर्नेमा १८ किलोमात्र भयो । एउटा बोरा त्यस्तो भएको हो कि भनेर १० बोरा पालैपालो तौलिए तर कुनै बोरा पनि पूरा तौलका थिएनन् ।

कम तौलका चामल पाइएपछि उनले वडा कार्यालयमै राहत प्याकेज थन्क्याएर छानबिनको माग गरेका छन् । वडा १ मा पनि चामलको १७ किलोको मात्र पाइएको छ ।

३ जना वा त्योभन्दा बढी परिवार संख्या भएकालाई २० किलो चामलसहितको राहत प्याकेज वितरण गर्नुपर्नेमा तौल कम भएपछि आफूले नगरप्रमुख खड्गबहादुर खत्रीलाई जानकारी गराएको वडा नं १ का अध्यक्ष महेश्वर खतिवडाले बताए ।

व्यापारी र कर्मचारीहरु मिलेर राहतमा घोटाला गरिएको उनको आरोप छ । वडा नं १४ का अध्यक्ष दनुवारले छानबिन भएर दोषीलाई कारबाही नभएसम्म वितरण नगर्ने बताए । 'एक बोरामा नै ३ किलो कम छ,' उनले भने, 'जानीजानी विपन्न मजदुरलाई ठगी गर्नेलाई कठघरामा नउभ्याई हुन्न ।'

लकडाउनका बेला विपन्न तथा मजदुरका लागि वितरण गरिएको राहतको चामलमा घोटाला भएको भन्दै तत्काल छानबिन गर्न ६ राजनीतिक दलले माग गरेका छन् । विपक्षी कांग्रेस नेतृत्वमा जनता समाजवादी, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

राहत वितरणमा भएको घप्लाबाजी र कालोबजारी नियन्त्रणका लागि विपक्षी दलले लकडाउनको अवधिमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको यो दोस्रोपटक हो । १७ बुँदे ध्यानाकर्षणपत्रमा कालोबजारी नियन्त्रण, जिल्ला दररेटको नियमन, बढ्दो सवारीसाधन दुरुपयोग नियन्त्रण, पीसीआर परीक्षणको जिल्लामै व्यवस्था, आइसोलेसन कक्ष विस्तार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीईको व्यवस्था, बजारका सबै पसल बिहान २ घण्टा लागि खोल्ने व्यवस्थालगायत माग गरिएको छ ।

'कतै तौल कम छ, कतै एउटै चामल बोरामै २ सयको मूल्य फरक परेको छ,' कांग्रेस सभापति उज्ज्वल बरालले भने, ‘यस्तो महामारीमा समेत लुट मच्चाएको कसरी टुलुटुलु हेरेर बस्नु ?’ कमलामाईले खरिद गरेको सोना मन्सुली २० किलोको प्रतिबोरा एक हजार ३ सय ६० मूल्य छ भने सोही चामल उत्ति नै परिमाणको सुनकोसी गाउँपालिकामा एक ५ सय ६० राखिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले राहत वितरणका लागि कम तौल भएको चामलको बोरा तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने र अन्य माग सक्ने जति पूरा गर्ने प्रतिबद्धता प्रकट गरे ।

प्रकाशित : जेष्ठ १९, २०७७ २०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×