कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता, समाजवादीका माग थपिए

जयसिंह महरा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । 

राजपा-समाजवादीको संविधान संशोधन विधेयक दर्ता, समाजवादीका माग थपिए

संविधान संशोधनको प्रस्तुतकर्ता राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ रहेको संघीय संसद विधेयक शाखा प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

यो विधेयक गैरसरकारी विधेयकको रूपमा दर्ता भएको हो ।

राजपा-समाजवादी पार्टीले एकता घोषणा गरेर जनता समाजवादी पार्टी गठन गर्ने घोषणा गरेका छन् । त्यसले कानुनी मान्यता नपाइसकेकाले दुई दलका करूपमा उक्त विधेयक दर्ता भएको हो ।

यसअघि शुक्रबार राजपाले एकल रूपमा संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन खोजेको थियो । उक्त विधेयक संसद सचिवालयले अध्ययन गर्ने भनेपछि राजपाले फिर्ता लिएर समाजवादीसँग मिलेर नयाँ विधेयक लिएको थियो ।

राजपाले दर्ता गराउन खोजेको विधेयकमा विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरे लगत्तै नेपालको अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था हुनुपर्ने थियो । त्यस्तै, राष्ट्रिय सभामा हरेक प्रदेशबाट ३- ३ जनाको सिट संरक्षित गरेर अन्य सांसद जनसंख्याको आधारमा निर्वाचित हुनुपर्ने, नेपाली बाहेकका भाषालाई पनि संविधानको अनुसूचीमा राख्नुपर्ने, प्रदेशको सिमांकन र संघीयताबारे निर्णय लिनका लागि संवैधानिक संयन्त्र गठन गर्नुपर्ने राजपाको संविधान संशोधन विधेयकमा थियो ।

समाजवादी पार्टी पनि संविधान संशोधन विधेयकमा जोडिएपछि सभामुखको अनुपस्थितिमा सभामुखले गर्ने सबै काम उपसभामुखले गर्नपर्ने, प्रधानमन्त्री, मन्त्रिपरिषद्लगायतसँग जोडिएका आर्थिक अपचलनका मुद्दा हेर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने विषय थपिएका छन् । त्यस्तै, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्नपर्ने माग पनि थपिएको छ ।

राजपा र समाजवादीको विधेयकमा राजदूत लगायत संवैधानिक नियुक्त समावेशी र समानुपातिक हुनुपर्ने माग पनि थपिएको छ ।

राजपा-समाजवादीले दर्ता गरेको संविधान संशोधन विधेयकको पूर्णपाठः

प्रकाशित : जेष्ठ १९, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?