बाँके दुर्घटना : दुई जनाको सनाखत, मृतकको स्वाब संकलन 

१२ को मृत्यु, २१ घाइते
ठाकुरसिंह थारु

नेपालगन्ज — भारतबाट घर फर्किने क्रममा आइतबार मध्यराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका १२ जना मध्ये बसचालक र सहचालकको सनाखत भएको छ ।

बाँके दुर्घटना : दुई जनाको सनाखत, मृतकको स्वाब संकलन 

दैलेख बराहका भ्यान चालक दलबहादुर खड्का र वीरेन्द्र नगरपालिका–३ तातोपानीका २३ वर्षीय पवन अधिकारीको सनाखत भएको प्रहरीले जनाएको छ । १० जनाको अझै सनाखत हुनसकेको छैन ।

सोमबार बिहान उपचारकै क्रममा मृत्यु भएका एक जनाको शव अझै इमरजेन्सी वार्डमा छ । भारतबाट फर्केका उनीहरु नेपालगन्जबाट सल्यान जान ५ ख ५९९५ नम्बरको भ्यान चढेका थिए ।

पूर्वतर्फबाट आइरहेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा घटनास्थलमै ११ को मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृतकको नाम आइसकेको तर किटान गर्न समस्या भइरहेको बताए । उनका अनुसार सनाखतका लागि प्रयास भइरहेको छ । घाइतेहरुको उपचार भेरी अस्पताल नेपालगन्जमा भइरहेको छ । भारतबाट आएकाले मृतकहरुको कोरोना जाँचका लागि स्वाब संकलन भइरहेको छ ।

भ्यान राप्ती सोनारी गाउँपालिका २ ठुरीया जंगलमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएका रोल्पाका सुनिलकुमार परियारले मध्यरातमा एक्कसी ट्रक र भ्यान जुधेको बताए । भ्यान तीव्र गतिमा रहेको घाइते परियारले बताए ।

२० जना हट्ने भ्यानमा चालक सहचालक र यात्रु गरी ३३ जना सवार थिए । दांगका ६, रोल्पाका ५ र सल्यानका १० जना घाइते छन् ।

यी हुन् घाइतेहरु :

दाङः धरना गाउँपालिका–४का ४५ वर्षीय मेगराम केसी, राजपुर गाउँपालिका–६ गग्लीखोलाका २० वर्षीय दिपेश चौधरी, तुल्सीपुर उपमहानगरपालिका–२ खैरीकोटका २६ वर्षीय रुपलाल केसी, राजपुर गाउँपालिका–२ रैयनियाका २१ वर्षीय जिवन घर्ती, गडवा गाउँपालिका–६ मननपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका २ खैरीकोटका ३९ वर्षीय विष्णु गिरी

रोल्पा : त्रिवेणी गाउँपालिका–७ तिनाका १७ वर्षीय सुनील परियार, २० वर्षीय वीरेन्द्र परियार र १८ वर्षीय पुरन परियार, कुरैनी गाउँपालिका डालीमगाउँका ५२ वर्षीय नरबहादुर विक, रुरु–८ का ४० वर्षीय दिलबहादुर विक

सल्यान :

सारदा गाउँपालिका–६ कजेरीका २६ वर्षीय टिका चलाउने, सल्यान कुपनिमा गाउँपालिका–६ घागरीकाराकोटका २० वर्षीय मिनराज विक, सिद्दकुमाख गाउँपालिका–५ दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय धनबहादुर बोहरा, सोही गाउँपालिका–४ का २८ वर्षीय लोकेश घर्ती, ५२ वर्षीय दिपबहादुर बुढा, सिद्दकुमाखका २८ वर्षीय शिव भण्डारी, २६ वर्षीय निमबहादुर वली, सिद्दकुमाख–५ का सोही गाउँका १८ वर्षीय देवेन्द्र बुढाथोकी, सोही गाउँका १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?