रुकुम घटनाको छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुममा भएको दलित युवाहरूको हत्याको छानबिन गर्नका लागि दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा ढ्यापढ्यापे समय मागेर कांग्रेसका पक्षबाट बोल्दै सांसद मानबहादुर विश्वकर्माले गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले न्याय दिनेमा विश्वास नरहेको बताउँदै संसदीय छानबिन समित गठनको माग गरेका हुन् । सांसद विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे । उनले भने, ‘'घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस् । यही माग हामी राख्छौं । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस ।’

रुकुमकी मल्ल थरकी युवतीसँग जाजरकोटका नवराज विकले विवाह गर्नका लागि जाँदा केटी पक्षकाले युवाहरूलाई मारेर भेरी नदीमा फालेका थिए । तीमध्ये ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् ।

कांग्रेसले उक्त घटनालाई कमजोर बनाउनका लागि गृहमन्त्रालयले समित गठन गरेको र जाजरकोटमा सत्तापक्षकाले आर्थिक चलखेल गरेको दाबी गरेको छ ।

कांग्रेसले सामान्य कर्मचारीको नेतृत्वमा गठित छानबिन समितिले न्याय दिन नसक्ने भन्दै संसदीय समिति गठनको माग गरेको हो । सांसद विश्वकर्माले सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे, 'संसदीय समिति गठन गरियोस् । यस विषयमा संयुक्त राष्ट्रसंघले पनि निष्पक्ष छानबिन गर्न माग गरेको छ । दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समित गठनको माग गर्दछौं ।'

उक्त घटना गृहमन्त्री रामबहादुर थापाले संसदमा भनेजस्तो गाउँलेले युवापक्षलाई लखेट्दा भेरी नदीमा हाम फालेको भनेजस्तो नभइ युवाहरूलाई मारेर भेरी नदीमा फालेको मृतकहरूको पोष्टमार्टम रिपोर्टले देखाएको विश्वकर्माले बताए । उनले उक्त घटनाको छानबिनका लागि संसदीय समिति गठन नगरेमा कठोर कदम चाल्ने चेतावनी दिए ।

प्रकाशित : जेष्ठ १९, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवाको भीम अस्पतालबाट २५ जना कोरोना संक्रमित डिस्चार्ज

निको भएर घर फर्किन पाउँदा खुसीले नाचगान
माधव ढुंगाना

भैरहवा — भैरहवाको भीम अस्पतालमा उपचाररत २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा चार वर्षकी बालिकासमेत छन् ।

अस्पतालका अनुसार, रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो ।

भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन् । गैडहवा गाउँपालिकाका एकै घरका ६ जना थिए । भारतको उत्तर प्रदेश राज्यको गोण्डा घर भएका अर्का भारतीय नागरिकलाई लकडाउनका कारण स्वदेश जान नपाएपछि भैरहवाको निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानको क्वारेन्टाइनमा अन्य भारतीय नागरिकसँगै राखिएको थियो । स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको बताए । ‘उनीहरु सुरुमा अस्पतालमा आउँदा मरिन्छ कि भन्ने डरले निकै भयभित थिए,’ उनले भने, ‘अहिले सबैजना प्रफुल्ल छन् । खुसीले नाचगान गरेका छन् ।’

उनका अनुसार, उपचारका लागि भीम अस्पतालमा ल्याइएका कोरोना संक्रमितको यो समूह पहिलो हो । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

डिस्चार्ज भएपछि उनीहरु खुशीले अस्पताल परिसरमै नाचगान गरेका थिए । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७७ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×