२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

‘सोती घटना : जातीय विभेदको पराकाष्ठा’

हरि गौतम

रुकुम पश्चिम — संयुक्त दलित जनअधिकार मञ्चले सोती घटना जातीय विभेदको पराकाष्ठा भएको निष्कर्ष निकालेको छ । स्थलगत अध्ययनपछि आइतबार सार्वजनिक गरिएको १५ पेजको प्रतिवेदनको ८ बुँदामा जातीय अहंकारले ठूलो दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।

‘सोती घटना : जातीय विभेदको पराकाष्ठा’

समाजमा सुषुप्त अवस्थामा रहेको जातीय विभेदकै कारण सोतीमा ठूलो घटना भएको निष्कर्षमा उल्लेख छ । नवराज विक र मल्ल थरकी किशोरीबीचको प्रेम सम्बन्धमा परिवारबाट भएको अवरोध, दुवैतिर बढ्दै गएको तनाव र तनावसँगै मनमुटाव बढ्दै जाँदा सामूहिक हत्याकाण्ड हुने पृष्ठभूमि तयार भएको प्रतिवेदनमा जनाइएको छ । केटी पक्षका घरपरिवारले अन्तरजातीय प्रेम सम्बन्धलाई अस्वीकार गर्नु घटनाको मुख्य कारण भएको र यो कारण जातीय विभेदमा आधारित रहेको पुष्टि भइसकेको पनि मञ्चको ठहर छ ।

नवराज र किशोरीबीचको प्रेम सम्बन्धमा अवरोध हुने अवस्था आएको, दुई/दुई पटक केटी पक्षबाट नवराजमाथि अवरोध गरिएको कारण र प्रमाणले मल्ल, ठकुरी बाहुल्य समाजको आत्मसम्मानका ठेस पुग्ने प्रतिष्ठाको विषय बनाएर सिंगो गाउँ नै आक्रमणमा उत्रिएको प्रस्ट भएको मञ्चका संयोजक उपेन्द्रलाल कामीले बताए । जाजरकोटका पीडित पक्ष तथा सोती गाउँवासीसँगको छलफल र घटनास्थलको अवलोकनबाट जातीय विभेदकै कारणले नवराज र उनका साथीहरूमाथि आक्रमण भएको प्रस्ट हुने आधार भेटिएको उनले दाबी गरे ।

घटनामा संलग्न भनिएका वडाध्यक्ष डम्बरबहादुर मल्लले घटनाका बारेमा प्रहरीलाई खबर गरे पनि गाउँलेलाई नियन्त्रण गर्न प्रयास नगरेर गम्भीर त्रुटि गरेको निष्कर्ष पनि प्रतिवेदनमा निकालिएको छ ।

प्रतिवेदनले जिल्लामा जातीय छुवाछूत नभए पनि जातीय विभेद जब्बर रूपमा रहेको पनि ठहर गरेको छ । ‘यो घटनाले पनि त्यही बताउँछ,’ दलित अधिकारकर्मी दीपेन्द्र विकले भने,

‘खाने, बस्ने लगायतमा हामीले छुवाछूतको अनुभव गर्नु पर्दैन तर सोती घटनामा जातीय विभेदको चरम पराकाष्ठा प्रकट भयो ।’

मञ्चले दोषीउपर कडा कारबाहीको माग गरेको छ । उक्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा समेत पठाइएको छ । संयुक्त दलित अधिकार मञ्चमा सबै राजनीतिक दलमा आस्था राख्ने दलित नेता तथा स्वतन्त्र दलित अधिकारकर्मी, दलित कलाकार, शिक्षकहरू आबद्ध छन् ।

चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले गतसाता जाजरकोटबाट केटी भगाउन भन्दै आएका युवामाथि आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको छ भने भेरी नगरपालिकाका गोविन्द शाही बेपत्ता छन् । हत्यामा संलग्न भएको भन्दै वडाध्यक्ष मल्लसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना फरार छन् ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?