न्यूजिल्यान्डले गर्‍यो पहिलो चार्टर 

सुरज कुँवर

काठमाडौँ — नेपाललाई पनि हेर्ने भारतको नयाँ दिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकहरुका लागि आइतबार काठमाडौंमा पहिलो चार्टर उडान गरेको छ ।

न्यूजिल्यान्डले गर्‍यो पहिलो चार्टर 

साँझ साढे ७ बजे काठमाडौंबाट फर्केको कतार एयरवेजको विमानमा सय बढी न्युजिल्यान्डका नागरिकसहित ३ सय ३ जना यात्रु दोहा हुँदै स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । उनका अनुसार, यी यात्रुका साथ ९ शिशु पनि छन् ।

चैत ९ गतेपछि सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई रोक लगाएको छ । तर, मानवीय सहायता, औषधि लगायतसँग सम्बन्धित चार्टर उडानलाई भने विशेष अनुमतिमार्फत रोक खुला गरिएको छ । त्यसयता भएको यो ९२ औं चार्टर उडान हो । महाप्रबन्धक केसीका अनुसार, शनिबारसम्म काठमाडौंबाट ७२ सय ८८ विदेशी फर्किसकेका छन् ।

३ सय ५ यात्रु क्षमता भएको कतार एयरवेजको यो वाइडबडी विमानमा न्यूजिल्यान्डका सय यात्रुबाहेक अमेरिकी, क्यानेडियन र अष्ट्रेलियन गरी डेढ सय यात्रु छन् । त्यस्तै युरोपियन युनियनका सदस्य मुलुकहरुका पनि केही नागरिक रहेको चार्टर उडानमा सम्बद्ध एक अधिकारीले बताए । यस चार्टर उडानमा न्यूजिल्यान्ड, क्यानडा, अमेरिका, अस्ट्रेलियाको पिआर भएका नेपाली पनि फर्केका छन् । दोहाबाट उनीहरु आ–आफ्नो मुलुकका लागि हुने नियमित वा चार्टर उडानबाट स्वदेश फर्किने छन् ।

संसारभरका २ सय ५० वटा गन्तव्यमा उडान गर्दै आएको कतारले हाल ५२ वटा गन्तव्यमा मात्रै नियमित उडान गर्दै आएको छ । काठमाडौंस्थित कतार एयरवेजको कार्यालयका अनुसार, कोरोनाका कारण संसारभर भएको लकडाउनले गर्दा यस वायुसेवा कम्पनीले २ सय २० वटा गन्तव्यमा उडान बन्द गर्नुपरेको थियो ।

सम्वद्ध अधिकारीका अनुसार, काठमाडौंमा रहेका विभिन्न मुलुकका दूतावासले स्वदेश फर्किन चाहने नागरिक, भिसाको म्याद भएका र बिदामा आएका नेपालीको सूची बनाउँदै मिलेर चार्टर उडानको व्यवस्थापन गर्दै आएका छन् ।

आइतबार न्यूजिल्यान्डले गरेको यो भने पहिलो चार्टर हो । यीनीहरुलाई दरबारमार्गमा रहेको प्रेसिडेन्ट ट्राभलले टिकट बिक्री गरेको थियो । यो चार्टरमा फर्किने यात्रुले कम्तीमा १६ सयदेखि बढीमा २४ सय डलरको टिकट आफैं खरिद गरेका थिए ।

यसअघि जर्मन, बेलायत, फ्रान्स, चेकरिपब्लिक, ब्राजिल, संयुक्त राज्य अमेरिका, कोरिया, जापान, अस्ट्रेलिया, रसिया, चीन, श्रीलंका र भारत लगायतका मुलुकले चार्टर उडान गर्दै आफ्ना मुलुकका नागरिकलाई फिर्ता लगिसकेका छन् ।

कतारकै जहाजबाट शनिबार बेलायती दूतावास र अर्को सोमबार अस्ट्रेलियन दूतावासले चार्टर उडान गर्दै छन् । त्यस्तै अर्को मंगलबार टर्किस एयरले पनि २ सय ५० बढी यात्रुलाई काठमाडौंबाट अमेरिका लैजाँदै छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?