१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विदेशबाट आएकालाई सरकारले नै नि:शुल्क सीमकार्ड दिने

क्वारेन्टाइनमा बस्‍नेका पालिकालाई प्रतिव्यक्ति दैनिक १ सय ७५ रुपैयाँ
मातृका दाहाल

काठमाडौँ — सरकारले स्थलमार्ग हुँदै भारतबाट आएका तथा हवाईमार्गबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्दा दैनिक प्रतिव्यक्ति १ सय ७५ रुपैयाँका दरले भुक्तानी गर्ने भएको छ । तर, यो रकम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई नभएर क्वारेन्टाइन राखिएको पालिकालाई दिइनेछ ।

विदेशबाट आएकालाई सरकारले नै नि:शुल्क सीमकार्ड दिने

यसले क्वारेन्टाइन व्यवस्थित बनाउन मद्दत पुग्ने सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त रुपमा बसेको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।

हवाईमार्ग हुँदै विदेशबाट आएका मानिसको ‘कन्ट्याक ट्रेसिङ’सहज बनाउन सरकारले नै नि:शुल्क सीमकार्ड उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । निशुल्क सीमकार्ड व्यवस्था गर्न दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँग समन्वय थालेको छ ।

‘विदेशबाट आउने मानिससँग आफ्नै सीमकार्ड नभएमा सरकारले नै नि:शुल्क उपलब्ध गराउने निर्णय भएको छ । यसबाट उनीहरुको निगरानी गर्न सजिलो हुन्छ,’आइतबारको बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरसँग भने, ‘अहिलेसम्मको हाम्रो अनुभवले कतिपय संक्रमितले आफू हिँडडुल गरेको स्थानको समेत राम्रोसँग जानकारी नदिने प्रवृत्तिका कारण कथमकदाचित क्वारेन्टानबाट घर गएपछि पनि संक्रमण देखिएको अवस्थामा उनीहरुको कन्ट्याक ट्रेसिङ सहज बनाउन सरकारी तहबाटै सिमकार्डको व्यवस्था गर्न लागिएको हो ।’

यसरी उपलब्ध गराइएको सीमकार्ड कम्तिमा ६० दिनसम्म प्रयोग गर्नुपर्नेछ । कसैले पनि यो सीमकार्ड प्रयोग गरिएका मोबाइल ‘अफ’गर्न पाइने छैन । भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई ‘होल्डिङ सेन्टर’मा राखेर स्वास्थ्य परीक्षण गर्ने र ७ प्रदेशका ७ लाइनमा विभाजन गरेर स्थायी ठेगानाअनुसार सरकारले उपलब्ध गराएको सवारीमा उनीहरु सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइन जानु पर्ने व्यवस्था मिलाइएको छ । यसका लागि दूरसञ्चार कम्पनीसँग पनि समन्वय भइरहेको ती अधिकारीले बताए ।

जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले भारत र तेस्रो मुलुकबाट आउने मानिसलाई स्वदेश भित्रेयाउने सम्बन्धि ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७’जारी गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?