१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संसदको कार्यसूचीमा पर्‍यो संविधान संशोधन विधेयक, छोटो प्रक्रियाबाट पास हुने

काठमाडौँ — सरकारले निसान छापलाई अध्यावधिक गरिएको नक्साअनुसार परिमार्जन गर्न दर्ता गरेको संविधान संशोधन विधेयक आइतबारको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यसूचीको पहिलो नम्बरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गर्ने राखिएको छ । 

संसदको कार्यसूचीमा पर्‍यो संविधान संशोधन विधेयक, छोटो प्रक्रियाबाट पास हुने

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम प्रतिपक्षी कांग्रेसले उक्त विषयमा केन्द्रीय समितिबाट निर्णय गर्ने भनेर समय मागेपछि कार्यसूचीमा चढेको थिएन । कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको समर्थन गर्ने निर्णय गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । सदनले अनुमति दिएपछि उनले 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' पेस गर्ने कार्यसूचीमा लेखिएको छ ।

मन्त्री तुम्बाहाङ्फेले मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेकी थिइन् । उक्त विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निसान छापमा उक्त नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ ।

संविधान संशोधन विधेयकबारे सबै दलबीच सहमति जुटाउनका लागि संसदको कार्यव्यवस्था परामर्श समितिले सरकारसँग आग्रह गरेको थियो । जेठ ११ गते आइतबारको कार्यव्यवस्था परामर्श समितिमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक संसदबाट सर्वसम्मत पास गराउनका लागि आफूले पनि भूमिका खेल्ने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा सहमति जुटाउनका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए । उक्त बैठकमा कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय कार्यसमितिबाट निर्णय गराउनका लागि समय माग गरेको थियो भने राजपा र समाजवादीले आफूहरूले उठाउँदै आएका मागलाई लिएर संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।

आइतबार संविधान संशोधन विधेयक संसदमा पेस भएसँगै छोटो विधिबाट पास गराउन सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका नेताहरू सहमत भएका छन् । संविधान संशोधनको लामो विधि हुने भएकाले नियम निलम्बनका साथै अन्य प्रक्रिया छोट्याएर संविधान संशोधन गर्नेमा मुख्य दुई दलको एकमत छ ।

राजपाले पनि संविधान संशोधन विधेयक दर्ता गराउने प्रक्रिया थालेको छ । राजपाका नेताहरूले शुक्रबार संसद सचिवालयमा गएर संविधान संशोधन विधेयक बुझाएका छन् । उक्त विधेयकबारे संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार नै निर्णय लिने भएका छन् । राजपाको संविधान संशोधन विधेयकमा समाजवादी पार्टीको भने सहमति छैन ।

संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ ।

भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो । ती क्षेत्र फिर्ता गर्नेबारे सरकारले कूटनीतिक पहल गर्ने बताउँदै आएको छ ।


प्रकाशित : जेष्ठ १८, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?