सुरक्षा परिषद्‌मा सीमाबारे छलफल

काठमाडौँ — मुलुकको सम्पूर्ण सुरक्षालाई हेर्ने जिम्मेवारी पाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा अन्तर्राष्ट्रिय सीमा विवाद, कोभिड–१९ को जोखिम र चुनौतीमाथि छलफल भएको छ ।

सुरक्षा परिषद्‌मा सीमाबारे छलफल

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको घटना बाहिर आएपछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बसेको हो । देशको सीमा अतिक्रमण हुँदा र कोभिड–१९ ले राष्ट्रिय संकट भएका बेलासमेत सुरक्षा परिषद्को बैठक नबसेको भन्दै सुरक्षाविद्हरूले सरकारको आलोचना गर्दै आएका थिए ।

परिषद्का सदस्य अर्थ एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बैठकमा अन्तर्राष्ट्रिय घटनाक्रमको विषयमा पनि छलफल भएको जानकारी दिए । ‘बैठकमा सरकारले आफ्ना सुरक्षा निकायहरूलाई कसरी परिचालन गर्ने भन्ने विषयमा पनि छलफल भयो,’ उनले भने ।

भारतले नेपाल–भारत दशगजामा पूर्वाधार निर्माण गरेको विषयमा पनि बैठकमा छलफल भएको थियो । शुक्रबार मात्र संसद्को राज्य व्यवस्था र सुशासन समितिले उक्त क्षेत्रमा भारतीय पक्षबाट निर्माण भएको पूर्वाधार हटाउनका लागि सरकारलाई निर्देशन दिएको थियो ।

मन्त्री खतिवडाले वारपार गतिविधिलाई ध्यान दिन र सीमाबाट मान्छेका आगमनलाई व्यवस्थित रूपमा पालना गराउन सशस्त्र प्रहरी बलको गस्ती बढाउने विषयमा पनि छलफल भएको जानकारी दिए । सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र जनपद प्रहरीहरूलाई बढी प्रयोग गर्ने विषयमा पनि छलफल भएको उनले बताए । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री सदस्य हुन्छन् । परिषद्का अन्य दुई सदस्यमा मुख्य सचिव र प्रधानसेनापति रहने संवैधानिक प्रावधान छ । रक्षा मन्त्रालयका सचिव परिषद्का सदस्य सचिव रहन्छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ ०१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?