भारतमा संक्रमण नदेखिएको ठाउँमा लकडाउन खुकुलो गरिने

लकडाउन एक महिना थपिए पनि जुन ८ देखि धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन, सपिङ मललगायत खुल्ने
एक राज्यबाट अर्कोमा यात्रामा लागेको प्रतिबन्ध हटाइयो 

काठमाडौँ — भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

भारतमा संक्रमण नदेखिएको ठाउँमा लकडाउन खुकुलो गरिने

लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ । संक्रमण भेटिएको क्षेत्र (कन्टेन्मेन्ट जोन) बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ । पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । यो चरणलाई ‘अनलक–१’भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।

भारतमा हालसम्म एक लाख ७४ हजार ४ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाबाट शनिबार साँझसम्म भारतमा ४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रमण पुष्टि भएकामध्ये करिब ८३ हजार निको भएका छन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?