१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिपुलेक विवाद वार्ताद्वारा नै हल हुन्छ : भारतीय रक्षामन्त्री सिंह

काठमाडौँ — भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले लिपुलेकलगायतका क्षेत्रको सीमा विवाद वार्ताद्वारा नै हल गरिने बताएका हुन् । 

लिपुलेक विवाद वार्ताद्वारा नै हल हुन्छ : भारतीय रक्षामन्त्री सिंह

सिंहले अन्तर्वार्तामा भने, ‘लिपुलेकको विषयमा नेपालसँग केही समस्या उत्पन्न भएको छ । त्यसलाई दुवै देश वार्तामा बसेर नै हल गर्छौं ।’ रक्षामन्त्री सिंहले नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमा विवाद वार्ताद्वारा सहजै हल हुने बताए ।

यसअघि गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नै नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रुपमा बनाइएको उक्त सडकको रक्षामन्त्री सिंहले दिल्लीबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।

त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो । साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको छ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

भारतले भने नेपालले जारी गरेको नयाँ नक्सा आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले उक्त सडक भारतीय भूमिमै बनाइएको दाबी गर्दै सीमा विवाद वार्ताका माध्यमबाटै हल हुनुपर्ने बताएका छन् । उनले सकारात्मक र रचनात्मक पहलबाट मात्रै नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि वार्ता हुने बताएका छन् ।

चीनसँगको सीमा विवाद हल हुन्छ : सिंह

भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको पछिल्लो तनाव पनि वार्ताबाटै हल गरिने बताएका छन् । वार्ताद्वारा समस्या समाधानका लागि दुवै देश तयार भएको उनले बताए । साथै उनले चीनसँगको सीमा विवाद समाधानका लागि अमेरिकी मध्यस्थता नचाहिने पनि प्रस्ट पारेका छन् । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन–भारत सीमा विवाद समाधानका लागि आफू मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका थिए । तर उनको प्रस्तावलाई चीन र भारत दुवै देशका विदेशमन्त्रीले अस्वीकार गरेका थिए ।

रक्षामन्त्री सिंहले भारतले सबै छिमेकी देशसँग असल सम्बन्ध राख्न चाहेको बताए । ‘सबै छिमेकीसँग असल सम्बन्ध राख्नुपर्छ भन्ने भारतीय नीति हो । हामीले लामो समयदेखि सबै छिमेकीसँग सम्बन्ध सुधारका लागि प्रयास गर्दै आएका छौं । तर कहिलेकाहीँ अहिले चीनसँग देखिएको जस्तो समस्या देखिन्छ,’ उनले भने ।

उनले सन् २०१७ मा दोक्लाममा विकसित घटनाले दुई देशबीचको सम्बन्ध अति नै बिग्रे पनि अन्ततः समाधान गरेको उल्लेख गर्दै अहिले पनि वार्ताद्वारा नै चीनसँगको विवाद हल गरिने बताए ।

यसै महिनाको सुरुवातमा चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो । भारतले सीमारेखा(लाइन अफ् एक्चुअल कन्ट्रोल) पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।

प्रकाशित : जेष्ठ १७, २०७७ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?