प्रदेश सांसदहरुको स्थलगत अध्ययनको निष्कर्ष : ‘सोती घटना योजनाबद्ध’

'भेरी नदी र किनारमा भेटिएका शव पानीमा बगेकोजस्ता छैनन्'
हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशसभाका सदस्यहरुले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । पीडित परिवारसँगको भेटघाट, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयबासी र प्रत्यक्षदर्शीलाई भेटेर सुर्खेत फर्केका कर्णाली प्रदेशसभाका पाँच सांसदले घटना पूर्व योजनाअनुसार नै भएको निष्कर्ष निकालेका हुन् ।  

प्रदेश सांसदहरुको स्थलगत अध्ययनको निष्कर्ष : ‘सोती घटना योजनाबद्ध’

घटनाको न्यायीक र निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनीहरुको माग छ । नेकपाकी सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताइन् । ‘जघन्य अपराध, मानवताविरुद्धको अपराध र यो नरसंहार बिनायोजना सम्भव छैन,’ उनले भनिन्, ‘चोट छ, रगत बगेको देखिन्छ, हामीले लोकेन्द्र सुनारको शव आफै हेर्‍यौं, आकस्मिकरुपमा यस्ता घटना हुँदैनन् ।’ भेरी नदी र किनारमा भेटिएका शव पनि पानीमा बगेको जस्ता नभएको उनको भनाइ छ ।

प्रदेशसभा सदस्य रातो कामीले नवराज र सोतीकी १७ वर्षीया किशोरीबीच प्रेम सम्बन्ध रहेको र अभिभावक तथा गाउँलेले त्यो सम्बन्ध अस्वीकार गरेकै कारण ठूलो घटना भएको बताए । ‘त्यसअघि पनि नवराज उक्त गाउँमा दुईपटक आएको देखिन्छ,’ उनले भने, ‘घटना भएको दिनभन्दा पहिले नै लफडा सुरु भएको पाइयो ।’

केटीकी आमासित भनाभन परेपछि अर्को बाटो लागिसकेका युवालाई गाउँलेले योजनाबद्ध ढंगले कुट्दै लखेटेको पत्यक्षदर्शीले बताएको कामीले सुनाए । ‘भेरीमा नपुग्दै र भेरीमा पसिसकेपछि पनि उनीहरुमाथि ढुंगामुढा भएको हामीले पायौं,’ उनले भने, ‘तर्न सक्ने भेरीको सानो भंगालोबाट सजिलै बग्न सक्ने अवस्था छैन ।’ २१ औं शताब्दीमा पनि मानवले मानवलाई अस्वीकार गर्नु र यसरी हत्या गरिनु क्षम्य अपराध नभएको उनी बताउँछन् ।

सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिङ परियार र झोवा विक घटनास्थलको अवलोकन गरी फर्किएका हुन् । जेठ १० गते शनिबार जाजरकोटबाट आएका युवालाई चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले आक्रमण गरेपछि पाँचजनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् ।

घटनामा जाजरकोटको भेरी नगरपालिका–४, का नवराज विक, गणेश बुढा, सन्दिप (सञ्जु) विक, ११ नम्बर वडाका लोकेन्द्र सुनार र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का टिकाराम सुनारको मृत्यु भएको छ । भेरी नगरपालिका–११, जाजरकोटका गोविन्द शाही बेपत्ता छन् । पाँचजनाकै शव भेरी नदी र किनारमा भेटिएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?