१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

घरबाट निस्कन डराउँछन् नरैनापुरवासी

क्वारेन्टाइन अवधि पूरा गरिसकेकाको परीक्षण गरी घर पठाउन माग
रूपा गहतराज

नरैनापुर, बाँके — कोरोना ‘रेडजोन’ नरैनापुरमा बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहित सुरक्षा अधिकारीको टोली पुग्यो । गाडीको लस्कर पुगेपछि स्थानीयले घरबाट चियाए । तर, मूल दैलो नाघेनन् । नरैनापुर–४, जयरामपुर्वाकी पिंकी पासीले घरअगाडि गाडी रोकिएको देखेर बिरामी लिन आएको सोचिन् । ‘गाडी गुडेको आवाज सुनेपछि मात्र बाहिर निस्किन्छौं,’ उनले भनिन्, ‘कहिलेसम्म यस्तो दु:ख सहनुपर्ने हो ?’

घरबाट निस्कन डराउँछन् नरैनापुरवासी

पासीकी छिमेकी रमावती यादवको अवस्था पनि उस्तै छ । ‘गाउँमा मान्छे जम्मा हुनेबित्तिकै डर लाग्छ,’ उनले भनिन्, ‘क्वारेन्टाइन पनि टाढा राख्दिनुपर्ने ।’ उनको घरभन्दा सय मिटरको दूरीमा निजी विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ २९ जना छन् । बिहीबार भारतबाट फर्किने युवा धेरै भएपछि दशगजामा पनि १७ जना बसिरहेका थिए । उनीहरूको स्वाब परीक्षण गर्न बाँकी छ । यहाँ विद्युत् छैन । अधिकांश क्वारेन्टाइनमा पंखा छैनन् । गर्मीले अत्तालिएर धेरै जनाले विद्यालयबाहिर चौरमा सुत्ने गरेको बताए ।

नरैनापुर–४, गुल्सनेवारी मदरसा क्वारेन्टाइनमा रहेका ३७ जना आँपको रूखमुनि बसिरहेका थिए । ‘भित्र गर्मीले हैरान हुन्छ, त्यसैले बाहिर शीतलमा बस्छौं,’ स्थानीय जयराम यादवले भने । उनीसँगै रहेका बजरंगीलाल पालले मदरसामा सोलार जडान गरिएको भए पनि पंखा नचल्ने बताए । ‘सोलारबाट रातिमा बत्ती बल्छ,’ उनले भने, ‘छिटो जाँच गराएर घर जान पाए हुन्थ्यो ।’

मदरसामा ४३ जना बसिरहेका थिए । तीमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन सेन्टरमा सारिएको छ । पालका अनुसार उनीहरू गत वैशाख ३० गतेदेखि त्यहाँ बसिरहेका छन् । क्वारेन्टाइन अवधि पूरा गरिसके पनि परीक्षण नगरिएकामा उनीहरूले आक्रोश व्यक्त गरे । यस गाउँपालिकामा मात्र १ सय १४ संक्रमित पुगेका छन् । एक जनाको मृत्यु भइसकेको छ । अझै भारतको महाराष्ट्र र दिल्लीबाट सर्वसाधारण आउने क्रम जारी छ ।

संक्रमित ह्वात्तै बढेर व्यवस्थापन मुस्किल भएपछि जिल्ला सुरक्षा समितिले गत आइतबार यहाँ सेना परिचालन गर्ने निर्णय गरेको थियो । नरैनापुर–६, भोजपुरस्थित श्री जयकिसान माविमा सेना तैनाथ गरिएको सेनानी सुरेशकुमार श्रेष्ठले बताए । सेनानी श्रेष्ठले सेनाले क्वारेन्टाइनमा सुरक्षा दिनुका साथै गाउँमा गस्ती गरेर कोरोनाविरुद्ध जनचेतना जगाउने र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउने काम गरिरहेको बताए ।

कोरोना संक्रमण फैलिएपछि पहिलो पटक प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहितको टोली यहाँ आएको स्थानीय बासिन्दाले बताए । ‘अब राहत मिल्ने आशा लिएका छौं,’ नरैनापुर–३, कोटियाका वीरेन्द्रकुमार श्रीवास्तवले भने, ‘अहिले घरबाट मान्छे बाहिर निस्कन डराएका छन् ।’ गाउँपालिकाका अधिकांश विपन्न परिवार छन् । यहाँका बासिन्दा रोजगारीका लागि भारत जाने गरेका छन् । लकडाउनपछि अधिकांश युवा गाउँ फर्किएर क्वारेन्टाइनमा छन् । ‘एकातिर कोरोनाको त्रास छ,’ श्रीवास्तवले भने, ‘अर्काेतिर के खाएर बाँच्ने भन्ने चिन्ता छ ।’

गाउँपालिकामा दशगजासहित १६ स्थानमा क्वारेन्टाइन बनाइएका छन्, जसमा बिहीबारसम्म ७ सय ७६ जना छन् । आरडीटी र पीसीआर परीक्षण गरेर २ सय ९५ जनालाई घर फर्काइएको छ । १ सय १४ जनामा संक्रमण पाइएको छ । स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था अहिले नियन्त्रणमा रहेको प्रतिक्रिया दिए । विद्युत् विस्तार र लकडाउन पालनालाई प्रभावकारी बनाइने उनले बताए ।

उक्त टोलीले नरैनापुरको लक्ष्मणपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीको बीओपी, कटकुइयास्थित दशगजा क्षेत्र र सीमा नाकाको अनुगमन गरेको थियो । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले प्रमुख जिल्ला अधिकारी स्थलगत अनुगमनमा आएपछि स्थानीय बासिन्दाको मनोबल बढेको बताए । ‘म निकै निराश भएको थिएँ,’ उनले भने, ‘सेना परिचालनपछि काम गर्न सजिलो भएको छ ।’

आइसोलेसनको तयारी सुस्त

नरैनापुरमा सोमबारदेखि दुई जना चिकित्सकले सेवा दिने व्यवस्था मिलाइए पनि उनीहरू यहाँको लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छैन्न । स्थानीयको मागअनुसार आइसोलेसन सेन्टर निर्माण अघि बढाउन गाउँपालिकामै सेवा दिने गरी चिकित्सक खटाउने निर्णय भएको थियो । गाउँपालिकाका कोरोना फोकल व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक एमडी मोइद खाँले चिकित्सक आउने जानकारी सामाजिक सञ्जालबाट पाएको बताए । ‘मैले अहिलेसम्म देखेको छैन, भेट्न पनि पाएको छैन,’ उनले भने । आइसोलेसन सेन्टरका लागि नेपालगन्जबाट पठाइएका १५ वटा बेड स्वास्थ्य केन्द्रमा राखिएको उनले सुनाए । ‘विद्युत् नभएकाले आइसोलेसन सेन्टर बनाउन गाह्रो छ,’ उनले भने, ‘ओपीडी सेवा तथा स्वास्थ्य कर्मचारी पनि त्यहीँ बस्ने भएकाले व्यवस्थापन गर्न चुनौती देखिएको छ ।’

प्रकाशित : जेष्ठ १७, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?