कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अनुगमनमा उच्चस्तरीय भारतीय टोली, नेपाली प्रशासन बेखबर

भारतीय पक्षले तटबन्ध छेउ माटो कटान गरिरहेको बारे स्थानीय बासिन्दाले पछिल्लो दुई सातादेखि सप्तरीका प्रशासनलाई गुहारे पनि प्रशासन भने यस विषयमा मौन छ ।
अवधेशकुमार झा

बनरझुला, सप्तरी — नेपालतर्फको बस्ती नै डुबानमा पार्ने गरी कोसीको पश्चिमी तटबन्धमा भारतीय ठेकेदारहरुले काम गरिहे पनि नेपाली अधिकारीहरुले कामको प्रकृतिबारे अनभिज्ञता प्रकट गरेका छन् । पश्चिमी तटबन्धअन्तर्गत कोसी ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म अधिकांश स्परमा भारतीय ठेकेदारले काम गरिरहेका छन् ।

कोसी अनुगमनमा उच्चस्तरीय भारतीय टोली, नेपाली प्रशासन बेखबर

तर नेपाली पक्षलाई भने जानकारी दिइएको छैन । बहुचर्चित कोसी सम्झौताअनुसार कोसीमा नेपालतर्फ हुने कामबारे नेपाली अधिकारीहरुलाई स्पष्ट जानकारी दिनुपर्ने हुन्छ ।

पछिल्लो समय भारतीय ठेकेदारले पश्चिमी तटबन्धअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-५ कुसहामा तटबन्धको छेउबाटै जबरजस्ती माटो कटान गरी स्परमा हाल्ने काम गरिरहेका छन् । ‘तटबन्धको छेउमा कोसीभित्र माटो कटान गर्नु प्राविधिक दृष्टिले राम्रो होइन,’ कोसी बक्राहा नदी नियन्त्रण आयोजनाका प्रमुख धिरानन्द यादवले भने, ‘तटबन्धको छेउबाटै माटो कटान गर्दा तटबन्ध भत्किने खतरा हुन्छ ।’

स्थानीय बासिन्दाले पछिल्लो दुई सातादेखि तटबन्ध छेउको माटो कटानलाई रोक्न सप्तरीका प्रशासनलाई गुहारे पनि प्रशासन भने यो विषयमा मौन छ । आफूहरुलाई कुनै आधिकारिक जानकारी नभएको प्रशासनको तर्क छ । ‘नेपालमा आएर मनमौजी तरिकाले काम भइरहे पनि स्थानीय प्रशासनको मौनता शंकापद छ,’ तिलाठी कोइलाडी-४ का सुरजितकुमार सिंहले भने, ‘तटबन्ध छेउबाट जबरजस्ती भइरहेको माटो कटानले यस वर्ष कैयौं बस्तीको उठिवास हुने खतरा बढेको छ ।’

भारतीय पक्षले ५ वर्षअघिदेखि पूर्वी भागबाट बग्दै गरेको कोसीको मुल धारलाई पाइलट च्यानल खनेर पश्चिमतर्फ फर्काउँदै पश्चिमी तटबन्धमाथि पानीको दबाब बढाएको थियो । पश्चिमी तटबन्धको छेउमा कोसी ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म नेपालका कैयौं बस्ती छन् । ‘कोसीको मुलधारलाई ल्याएर पश्चिमी तटबन्धमा टाँस्ने काम भएको छ,’ स्थानीय बासिन्दा सिंहले भने, ‘सिपेजकै पानीले पनि बस्तीलाई जोखिममा पार्नेछ ।’

कोसी बक्राहा नदी नियन्त्रण आयोजनाका प्रमुख धिरानन्द यादवले कोसीमा कहाँकहाँ काम भइरहेको भन्नेमात्र जानकारी भएको बताए । 'कामको प्रकृति, लागत इस्टिमेट लगायतका विषयमा भारतीय पक्षले केही जानकारी दिएका छैनन्,’ उनले भने, ‘कति परिमाणमा कुन काम गर्ने हो थाहा दिएको छैन ।’

सप्तकोसी नदीमा यसपटक मात्र होइन, यसअघि पनि भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई काम गराउने गरेका थिए । नेपाली अधिकारीहरु कामबारे जानकार नहुँदा हरेक वर्ष भारतीय ठेकेदार र अधिकारीहरुको मिलेमतोमा गुणस्तरहीन काम हुने गरेको छ ।

‘एकातर्फ कोसीको तटबन्धलाई मजबुत बनाइरहेका छौं भन्छन्, अर्कोतर्फ तटबन्धलाई असुरक्षित बनाउने काम उनीहरुले नै गरिरहेका छन्,’ सिंहले भने, ‘भारतीय ठेकेदारको जबरजस्तीविरुद्ध स्थानीय बासिन्दाले आवाज उठाए पनि सुन्ने कोही छैन ।’ नेपालतर्फ क्षति गर्ने गरी भइरहेका काममा स्थानीय प्रशासन गम्भीर नभएको उनले बताए ।

सप्तकोसी नदीअन्तर्गत पश्चिमी तटबन्धका विभिन्न स्परमा भइरहेको काम पनि गुणस्तरहीन रहेको पाइएको छ । माटो हाल्नुपर्ने स्थानमा बालुवा थुपारेर गुणस्तरहीन कार्य भइरहेको बारे शुक्रबार भारतीय अधिकारीहरुकै टोलीले पनि ठेकेदारहरुलाई झपारेका थिए । ‘अहिले काम भइरहेकै बेला स्पर दलदल छ, वर्षाका बेला के होला ?’ कोसी योजना वीरपुरका चिफ इन्जिनयर प्रकाश दासले अनुगमनका क्रममा ठेकेदारलाई भने, ‘गुणस्तरीयता पुर्‍याएर काम गर्नू ।’

यसैबीच शुक्रबार कोसी नदीको कामबारे अनुगमन गर्न भारतीय अधिकारीको जम्बो टोली सप्तरी पुगेको थियो । गंगा बाढी नियन्त्रण आयोगका सदस्य सीकेएल दास, बिहार सरकारको सिँचाइ मन्त्रालयका इन्जिनयर इन चिफ राजेशकुमार, कोसी योजना वीरपुरका चिफ इन्जिनयर प्रकाश दास लगायतको टोलीले पश्चिमी तटबन्धअन्तर्गत कोसी ब्यारेजदेखि तिलाठी कोइलाडी गाउँपालिकासम्म तटबन्ध र स्परहरुको अनुगमन गरेको थियो । नेपालतर्फ काम भइरहेको र लकडाउनका बेला भारतीयहरुको जम्बो टोली नेपाल आए पनि नेपाली अधिकारीहरु यसबारे जानकार छैनन् ।

कोसी बक्राहा नदी नियन्त्रण आयोजनाका प्रमुख यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुर, सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई र सशस्त्र प्रहरी बल गण नम्बर ६ का गणपति एसपी उद्धव न्यौपानेले कोसीमा भारतीय टोली आएको बारे जानकारी नभएको बताए ।


प्रकाशित : जेष्ठ १६, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?