कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

भूषण यादव

वीरगन्ज — निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि प्रयोगमा नआएको पुल सञ्चालनका लागि निर्माण गरिएको सडक भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरेर भत्काएका छन् । पर्साको ठोरी गाउँपालिकाको वडा २ र ३ जोड्ने ठुटे खोलाको पुल सञ्चालनका लागि तीन दिन अगाडिमात्र कुलो पुरेर सडक बनाइएको थियो ।

नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मीले भत्काए सडक

बिहीबार साँझ भारतीय सीमा सुरक्षा बल, बिहार सहोदर थानाका प्रहरी र सीमावर्ती भारतीय नागरिकले सडक भत्काएका हुन् । भारतीयले सडक भत्काइरहेको थाहा पाएपछि ठोरीवासी भेला भएर विरोध गरेका थिए । केही समयको भनाभन पछि भारतीय प्रहरी र नागरिक फर्केका थिए । भत्किएको सडकमा नेपाली पक्षले पुन माटो पुरेका छन् ।

ठोरी गाउँपालिका २ का अध्यक्ष किशोर तमाङले सडक भत्काएको खबर पाएर पुलमा पुग्दा त्यहाँ वर्दीमै रहेका भारतीय सुरक्षाकर्मीको रोहवरमा भारतीय नागरिकले सडक भत्काइरहेको बताए । ‘नेपाली भूमिमा निर्माण गरिएको सडक किन भत्काएको भनी स्थानीयले प्रतिकार गरेपछि भारतीयहरु फर्किए,’ उनले भने ।

हुलाकी सडक र पुलबीचको कुलो पुरिएकाले त्यसलाई खोल्न आएको भारतीय पक्षको भनाई छ । ‘हुलाकी सडक र पुलबीचको एउटा कुलो पुरिए पनि भारतमा पानीको बहाव रोकिएको छैन्,’ वडा अध्यक्ष तमाङले भने, ‘तीनवटा कुलोमध्ये एउटा कुलोमात्र नेपालीले प्रयोग गर्दै आएका छन् । दुइटा कुलो भारततर्फ जान्थ्यो, पुल सञ्चालनका लागि एउटा कुलो पुरिए पनि भारततर्फ अझै एउटा कुलोमा पानी बगिरहेको छ ।’

भारतीयको अवरोधकै कारण पुल निर्माण सम्पन्न भएको २ वर्ष बित्दा पनि प्रयोगमा आउन सकेको छैन । हुलाकी सडक र पुलबीचको कुलोमा सडक नबनाउन्जेल पुल प्रयोगमा ल्याउने अवस्था नरहेको वडा अध्यक्ष तामाङको दाबी छ । बिहीबार साँझ सडक भत्काउन आएका भारतीय सुरक्षाकर्मीले पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर आएको ठोरीवासीलाई बताएका थिए ।

शुक्रबार बिहान वडा एक, दुई र तीनका जनप्रतिनिधि र स्थानीयको भेलाले प्रजिअलाई स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन आग्रह गरेको छ । ‘सधैभरि त्यही कुलोको कुरा लिएर ठोरीबासीले अझै कति दिन पुल प्रयोग नगर्ने ? वर्षातको बेला वडा २ र ३ को सम्पर्क विच्छेद हुन्छ, एम्बुलेन्ससमेत आउन सक्दैन् । पोहोर एम्बुलेन्स आउन नसक्दा सुत्केरीको मृत्यु भयो,’ वडा अध्यक्ष तामाङले भने, ‘सहज वातावरण होस् भन्ने चाहेका छौ, सीडीओ साहेबले कुन हिसाबले भारतीयलाई सडक भत्काउन सहमित दिएका हन् ? स्थलगत आएर समस्या सुल्झाउनु पर्‍यो ।’

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ठोरीको ठुटे खोला पुल सञ्चालनको विषयमा दुबै पक्षबीच छलफल भइरहेको बताए । ‘भारतीय महावाणिज्य दूतावासका कर्मचारीसँग छलफल भइरहेको छ,’ बस्नेतले भने, ‘आपसी सहमतिमा टुंगाइन्छ ।’

२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा एक सय दुई मिटर लम्बाईको पुल निर्माण भएको थियो । हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको हस्तक्षेपका कारण प्रयोगमा ल्याएन सकिएको थिएन । गत जेठ १० मा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने, गाउँपालिका उपप्रमुख, तीन वडाका जनप्रतिनिधि लगायतको सर्वदलीय बैठकले ठुटे खोलाको पुल सञ्चालनमा ल्याउने सहमति गरेको थियो ।

ठुटे खोलामा पुल निर्माण गर्दा पनि भारतीय पक्षले अवरोध गरेको थियो । नेपाल–भारत सीमा नजिकै रहेको ठुटे खोलामा पुल निर्माणका लागि २०६७ सालमा सर्वेक्षण गरिँदा एसएसबीले भारतीय भूमि भन्दै अवरोध गरेको थियो । जसले गर्दा सात वर्षसम्म पुलको निर्माण सुरु नै हुन सकेको थिएन । २०७४ बैशाखमा दुवै देशका सीमा अधिकारीबीच भएको वार्तामा ठोरीको सीमा विवादमा सहमित भएपछि पहिले सर्वे गरिएकै स्थानमा पुल निर्माण सुरु भएको थियो ।

प्रकाशित : जेष्ठ १६, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?