कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बालबालिका र असहायलाई सम्बोधन गर्ने प्रयास

बाल संरक्षणलाई ३ अर्ब ७६ करोड, विद्यार्थीलाई खाजा ७ अर्ब ५२ करोड
दिवा खाजाबाट लाभान्वित संख्या ८ लाखबाट २८ लाख पुर्‍याउने

काठमाडौँ — बाल संरक्षणको अनुदानको दायरा फराकिलो बनाउँदै सरकारले बजेटमा गरिबीको रेखामुनि रहेका १३ लाख बालबालिकालाई लाभ पुर्‍याउन ३ अर्ब ७६ करोड छुट्याएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटले विपन्न परिवारका बालबालिका र सामुदायिक विद्यालयमा ५ कक्षासम्म पढ्ने २८ लाख बालबालिकालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

बालबालिका र असहायलाई सम्बोधन गर्ने प्रयास

विपन्न नागरिकलाई घातक रोग एवं ज्येष्ठ नागरिक तथा बालबालिकालाई मुटुरोगको नि:शुल्क उपचार गर्न पनि बजेट विनियोजन गरिएको छ ।

सरकारले बालबालिकालाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने धारणाअनुरूप आगामी वर्ष दलित तथा कर्णाली क्षेत्र र तराई मधेसलगायतका गरिबीको रेखामुनि परेका बालबालिकालाई प्रत्यक्ष रूपमा समेट्न कोसिस गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा दिवा खाजा व्यवस्थाबाट सामुदायिक विद्यालयका ७ लाख ९९ हजार ५ सय २३ विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका थिए । सरकारले यो वर्ष यसरी लाभान्वित हुने बालबालिकाको संख्या २८ लाख पुर्‍याउने लक्ष्य राखेको छ । बजेटमा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने उद्देश्य राखेको छ । यसका निम्ति सरकारले गरी ७ अर्ब ५२ करोड बजेट विनियोजन गरेको छ ।

बजेटले विशेष संरक्षण आवश्यक भएका अनाथ तथा अति जोखिममा परेका र एचआईभी संक्रमित बालबालिकाका लागि भरपर्दो सामाजिक सुरक्षा प्रदान गर्ने सामाजिक संस्थाहरू परिचालन गर्ने लक्ष्य पनि राखेको छ । साथै विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरी आगामी वर्षभित्र आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र माध्यामिक तहसम्मको नि:शुल्क शिक्षा प्रदान गरिने उल्लेख छ । छात्रवृत्ति कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गरी आगामी वर्ष विपन्न र अपांगता भएका नागरिकका बालबालिकालाई समेत लाभान्वित हुने गरी बजेट विनियोजन गरिएको छ ।

नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ का अनुसार १७ वर्षमुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संग्लन भए पनि उनीहरू सबै बाल श्रमिक नभएको उल्लेख छ । जबकि केन्द्रीय तथ्यांक विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण २०७१ म ५ देखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बाल श्रममा संग्लन रहेको उल्लेख छ । यस्तो पृष्ठभूमिमा बजेटले बालबालिकासम्बन्धी राष्ट्रिय रणनीति तयार गरी कार्यन्वयन गरिने र बालश्रम सदाका लागि अन्त्य गर्दै सडक बालबालिकामुक्त देश बनाइने लक्ष्य बोकेको छ ।

सरकारले २०७२ सालमै सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२ जारी गरी आर्थिक वर्ष २०७३/७४ देखि काठमाडौं उपत्यकामा बालबालिका सडकबाट मुक्त गर्ने कार्यक्रम लागू गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत २०७६ असार मसान्तसम्म १ हजार ११ बालबालिकाकालाई सडकबाट उद्धार गरी व्यवस्थापन गरिएको थियो । यही कार्यक्रमलाई बजेटले विस्तार गरी निरन्तरता दिने उद्देश्य राखेको छ । बजेटमा असाहय, बेवारिसे, संक्रमित र आश्रयहीन सबै सहयोगापेक्षीको आश्रय, संरक्षण र हेरचाह गर्दै देशलाई सडक मानवमुक्त राख्ने प्रबन्ध मिलाइएको उल्लेख छ ।

बालबालिकालाई मात्रै नभई कोही पनि सडकमा आश्रित हुनु नपरोस् भन्ने उद्देश्य बजेटले राखेको देखिन्छ । यसअघि नै विभिन्न प्रदेश र सहरहरूले पनि सडक मानवमुक्त प्रदेश र सहर बनाउने सार्वजनिक घोषणा गरिसकेका थिए । २०७६ माघको पहिलो साता कर्णाली प्रदेशले बेसहारा, असाहय, अभिभावकविहीन सहयोगीपेक्षी सडक मानवमुक्त बनाउने घोषणा गरेको थियो । काठमाडौं महानगरपालिकाले गत मंसिरको अन्तिम साता २५ औं स्थापना दिवसको अवसरमा महानगर क्षेत्रको सडकलाई बेवारिसे मानवमुक्त बनाउने घोषणा गरेको थियो ।

बजेट बढ्यो, कार्यक्रम पुरानै

सरकारले बढी जोखिममा परेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई थप सुरक्षा तथा संरक्षण दिन बजेट वृद्धि गरेको छ । यसअन्तर्गतका अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा पेस गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शीर्षकमा एक अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । अघिल्लो वर्ष यो शीर्षकमा ७८ करोड रुपैयाँ मात्रै विनियोजन भएको थियो ।

गत वर्षकै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्राथमिकतामा रहेको राष्ट्रपति महिला उत्थान कार्यक्रममा यस वर्ष कति बजेट विनियोजन गरियो उल्लेख छैन । गत वर्ष २२ करोड छुट्याइएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको प्रभावकारी मानिएको स्वास्थ्य जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको आकस्मिक हवाई उद्धारलाई यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा थप सुविधासहित विस्तार गरिने बताएकी थिइन् । मन्त्रालयमा यस कार्यक्रमकी प्रमुख अञ्जु ढुंगानाका अनुसार ०७५ पुसदेखि सुरु भएको हवाई उद्धारबाट हालसम्म १०३ गर्भवती तथा सुत्केरी लाभान्वित भएका छन् । हवाई उद्धार सेवाका लागि सडक सञ्जालको सहज पहुँच नपुगेका दुर्गम हिमाली तथा पहाडी ३० जिल्लालाई पूर्ण र चार जिल्लाका २० दुर्गम पालिकालाई समेटिएको छ ।

बजेट वक्तव्यमा महिलाको सामाजिक आर्थिक अधिकार हासिल हुने गरी महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत मुलुकभरका विपन्न र वञ्चितीमा परेका महिलाको सीप र उद्यमशीलता विकास गरी, रोजगारीका अवसर प्रदान गरिने उल्लेख छ । यी पुरानै कार्यक्रम हुन् । लैंगिक उत्तरदायी बजेट प्रणालीलाई प्रदेश र स्थानीय तहको बजेट प्रणालीमा समावेश गरिने कार्यक्रम पनि यथावतै राखिएको छ । सबै स्थानीय तहमा महिला उद्यमशीलता र सहजीकरण केन्द्र स्थापना गरिने भएको छ ।

महिलाविरुद्ध हुने सबै प्रकारका सामाजिक भेदभाव, शोषण र हिंसा अन्त्य गरिने, सामाजिक कुप्रथा अन्याय र विभेद हटाउन स्थानीय सरकार, गैरसरकारी संस्था तथा सामुदायिक क्षेत्रको समेत सहभागितामा सामाजिक जागरण सचेतना अभियान सञ्चालन गरिने भएको छ । यसबाहेक भूमिमा महिलाको स्वामित्व बढाउन थप प्रोत्साहन कार्यक्रम ल्याइने भएको छ ।

बजेट बढे पनि कार्यक्रम यथावतै हुनुले सरकारले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगताको क्षेत्रमा गम्भीरता नदेखाएको अधिकारकर्मी निर्मला शर्माले बताइन् । कोरोना महामारीले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्ति बढी प्रभावित हुने अवस्थालाई सम्बोधन नगरिएको उनले बताइन् । ‘कोरोना संक्रमण बढी पुरुषमा हुने तर प्रभावितचाहिँ महिलामा हुने स्थितिमा अर्थोपार्जनका कार्यक्रमलाई स्पष्ट सम्बोधन गरेर बजेट ल्याउनुपथ्र्यो, जुन देखिएन,’ उनले भनिन्, ‘अझ रोजगारीको सिलसिलामा बाहिर रहेका पुरुष अहिले एकै ठाउँ छन्, उत्पादनशील कार्यमा महिलालाई बढाउने बजेट स्पष्ट नआउँदा घरेलु हिंसा बढ्छ ।’

बालबालिकासम्बन्धी राष्ट्रिय रणनीति कार्यान्वयन गरिने र सदाका लागि बालश्रमको अन्त्य गर्दै सडक बालबालिकामुक्त देश बनाइने घोषणा गरेका छन् । ‘पुरानै कार्यक्रमलाई निरन्तरता दिनु भनेको उपलब्धिविहीन कार्यक्रमलाई नियमित गराउनु हो, यसले बालबालिकाको सर्वांगीण विकासलाई समेट्न सक्दैन,’ बालअधिकारकर्मी प्रवीन सिलवालले भने ।

देशभरका ज्येष्ठ नागरिक आश्रमको न्यूनतम पूर्वाधार र सुविधाको मापदण्ड तोकी स्थानीय तहको प्रत्यक्ष रेखदेखमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ । एकल, असहाय, विपन्न वर्गका ज्येष्ठ नागरिकका लागि नि:शुल्क औषधि उपचार र संरक्षणको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ । अटिजमलगायत सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सुरक्षा हेरचाह तथा पुन:स्थापनाका लागि आवश्यक व्यवस्था मिलाइने भएको छ । अपांगता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य आयआर्जनका लागि कार्यक्रम सञ्चालन गर्ने र उनीहरूले प्रयोग गर्ने सहायक सामग्री उत्पादनका लागि अनुदान दिइने भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?