सप्तकोसीमा भारतीयद्वारा सम्झौताविपरीत उत्खनन, नेपाली प्रशासन मौन

भारतीय ठेकेदारले पश्चिमी तटबन्ध जोखिममा पर्ने गरी माटो निकालिरहेका छन् । यो बर्खामा उक्त तटबन्ध कटान भयो भने डेढ लाखभन्दा बढी नेपालीको उठीबास हुनेछ ।
अवधेशकुमार झा

राजविराज — सप्तकोसी नदीमा भारतीय ठेकेदारले अवैध उत्खनन गरेको पाइएको छ । पश्चिमी तटबन्धलाई नै जोखिममा पार्ने गरी तटबन्ध छेउबाटै उनीहरुले माटो कटान गरिरहेका छन् ।

सप्तकोसीमा भारतीयद्वारा सम्झौताविपरीत उत्खनन, नेपाली प्रशासन मौन

एकपक्षीय रुपमा भारतीय ठेकेदारले नियमविपरीत कार्य गरिरहे पनि सप्तरी प्रशासन भने मौन बसेको छ ।

कोसी पश्चिमी तटबन्धमा भारत सरकारअन्तर्गत कोसी योजनाले यस वर्ष विभिन्न टेन्डर गरेको छ । जसमध्ये सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरामा तटबन्ध भइरहेको हो । त्यहाँ सडक पुर्नका लागि तिलाठी कोइलाडी गाउँपालिका-५ कुसहामा तटबन्धको छेउबाटै माटो कटान गर्न थालेपछि पश्चिमी तटबन्धमा जोखिम बढेको हो । यसरी माटो कटान भइरहेका कारण एक किलोमिटर पूर्वबाट बगिरहेको कोसी नदी तटबन्धलाई नै कटान गर्ने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् ।

‘मध्यबाट बग्दै गरेको कोसीलाई तटबन्ध छेउमा ल्याएर बस्तीलाई खतरामा पार्ने कार्य भइरहेको छ,’ स्थानीय सुनिलकुमार सिंहले भने, ‘यहाँ अन्याय भइरहँदा स्थानीय प्रशासनलाई पटकपटक जानकारी गरायौं तर केही जवाफ आएको छैन ।’ कोसी नियन्त्रण गर्ने नाममा झन् पश्चिमी तटबन्धलाई जोखिममा पार्ने काम भइरहेको अन्य स्थानीयको पनि गुनासो छ ।

भारतीय स्वामित्वको कोसी योजनाका पदाधिकारीहरु पनि कोसी तटबन्धको छेउबाट माटो काट्ने काम गैरकानुनी रहेको बताउँदै आएका छन् । कोसी योजना वीरपुरका एसडीओ दीपक कुमारले कोसी तटबन्धभन्दा डेढ किलोमिटर क्षेत्रबाट माटो खन्ने काम गैरकानुनी रहेको बताए । मातहतका ठेकेदारहरुलाई यसबारे पटकपटक सचेत पार्ने काम भइरहेको उनको भनाइ छ । ‘हामीले आफ्नोतर्फबाट ठेकेदारलाई निर्देशन दिँदै आएका छौं । यद्यपि ठेकेदारले स्थानीय ठेकेदार तथा राजनीतिककर्मीलाई पेटीमा काम दिने गरेका कारण समस्या ज्यूँका त्यूँ छ,' उनले भने, ‘नेपालतर्फको क्षेत्रमा काम भइरहेका कारण हामीले आफ्नो सुरक्षाकर्मी खटाउने वा अन्य कडा कारबाही थाल्न सक्ने अवस्था हुँदैन, यस्तो कार्य नेपाली प्रशासनले गर्नुपर्ने हुन्छ ।’

यद्यपि भारतीय ठेकेदारहरुले नेपालतर्फका प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख एवं स्थानीय जनप्रतिनिधिलाई समेत आर्थिक प्रलोभनमा पारेका कारण नेपालतर्फ गैरकानुनी उत्खनन हुँदासमेत स्थानीय प्रशासन चुप लागेको स्थानीय बासिन्दाको आरोप छ ।

हाल हुँदै गरेको उत्खननलाई तत्काल रोकिएन भने यस वर्षको वर्षायाममा कोसी पश्चिमी तटबन्धन कटान हुने जोखिम बढेको स्थानीय वडा प्रतिनिधि बताउँछन् । हाल माटो उत्खनन भइरहेको स्थानमा बाँध कटान भयो भने नेपालतर्फका तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर नगरपालिका, राजविराज नगरपालिकाका केही भूभागमा बसोबास गर्ने डेढ लाखभन्दा बढी सर्वसाधारणको उठीबास हुने उनीहरुको भनाइ छ ।

‘स्थानीय प्रशासन पनि मिलेका छन्’, स्थानीय युवा राजदेव दासले भने, ‘हामीले यस्तो गैरकानुनी कामको विरोध गर्दा हाम्रोतर्फका सुरक्षाकर्मी नै उल्टै हामीलाई हप्काउने गर्छन्, तर भारतीयले सम्झौताविपरीत नेपाली भूमि उत्खनन गर्दा हाम्रो प्रशासनसँग अनुगमन गर्ने फुर्सद छैन ।’

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्दकुमार ठाकुरले कोसीमा अनियमित तरिकाले काम भइरहेको बारे कतैबाट औपचारिक जानकारी आएमात्र केही गर्न सक्ने बताए । ‘कोसीमा राम्रो वा नराम्रो काम के भइरहेको छ, हामीलाई औपचारिक जानकारी छैन,' उनले भने, 'आधिकारिक जानकारी नआएसम्म केही गर्न सकिन्न ।’


प्रकाशित : जेष्ठ १५, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?