गौरीफन्टा नाकाबाट डेढ सातामा २८ हजार भित्रिए

नाकामा स्वास्थ्य जाँचको व्यवस्था नहुँदा कोरोना संक्रमणको जोखिम बढेको छ । उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा जाँचको व्यवस्था मिलाइएको छ ।
मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीफन्टा नाकाबाट डेढ सातामा २८ हजारभन्दा बढी नेपाली भित्रिएका छन् । बिहीबारमात्रै ४ हजार १ सय ७२ भित्रिए ।

गौरीफन्टा नाकाबाट डेढ सातामा २८ हजार भित्रिए

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पछिल्लो ३ दिनमा १४ हजारभन्दा बढी नेपाली भित्रिएको जानकारी दिए । ‘तीन दिनयता एकैदिन ४/५ हजारको संख्यामा भित्रिन थालेका छन्,’ उनले भने, ‘सीमा नाकाबाट भित्रिने भिडलाई सम्हाल्नै गाह्रो छ ।’ उनका अनुसार गएको मंगलबार ५ हजार २४२, बुधबार ४ हजार ७९४ र बिहीबार ४ हजार १७२ गरि तीन दिनमा १४ हजार २०८ जना भित्रिएका छन् । लकडाउनपछि गौरीफन्टा सीमा नाका पहिलोपल्ट जेठ २ मा खुलेको थियो । २ र ३ गते भारतको सीमावर्ती क्वारेन्टाइनमा बसेका ९ सय ५० जना भित्रिएका थिए । उनीहरुलाई आरडीटी परीक्षण गरी भित्र्याइएको थियो ।

स्थानीय प्रशासनले भारतका विभिन्न सहरबाट भित्रिनेहरुका लागि सीमा नाका खुल्ला राखेको छ । जेठ ७ गते ८ सय ३४ जना आएका थिए । ८ गते भित्रिएका २ हजार ४९० जना मध्ये ७ सय ७५ जनाको आरडीटी गरिएको थियो । आरडीटी पोजिटिभ देखिएका १२ मध्ये ६ जनामा पीसीआर विधिबाट कोरोना पुष्टि भइसकेको छ ।

जेठ ९ देखि १२ गतेसम्म दैनिक २ हजारदेखि ३५ सयसम्म गरी १० हजारभन्दा बढी नेपाली भित्रिए । सूचना अधिकारी जोशीले बुधवारसम्म भित्रिएका २८ हजारमध्ये अधिकांश सुदूरपश्चिमका ९ वटै जिल्लाका रहेको बताए । उनले भने, ‘बढीमा २० प्रतिशत कर्णालीलगायत अन्य प्रदेशका नेपाली यो नाकाबाट भित्रिरहेका छन् ।’

प्रदेश सरकारको समन्वयमा उनीहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागेको उनले जानकारी दिए । ‘स्थानीय तहले बस पठाउँछ,’ उनले भने, ‘सीमा नाकाबाटै उनीहरुलाई सम्बन्धित स्थानीय तहका बसमा चढाएर पठाइदिने गरेका छौं ।’

सिमानामा स्वास्थ्य जाँच नगरी स्थानीय तहले बसमा खचाखच भरेर लैजाँदा कोरोना संक्रमणको जोखिम भने बढेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले किट अभावका कारण सीमा नाकामा गरिने आरडीटी परीक्षणलाई निरन्तरता दिन नसकेको बताए । उनीहरुको स्वास्थ्य जाँच स्थानीय तहको क्वारेन्टाइनमै गरिने उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?